आफैँले प्रधानमन्त्री अफर गरेको मान्छे गृहमन्त्रीमा अयोग्य भन्नु राजनीतिक प्रतिशोध : प्रदीप ज्ञवाली (भिडिओ) – Nepal Press

आफैँले प्रधानमन्त्री अफर गरेको मान्छे गृहमन्त्रीमा अयोग्य भन्नु राजनीतिक प्रतिशोध : प्रदीप ज्ञवाली (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको टिप्पणी गरेका छन् ।

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली कांग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रूपमा लिन नसक्ने पनि उनले बताए । उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताउँदै विनाप्रमाण त्यसै राजीनामा माग्न नमिल्ने उनको जिकिर छ ।

उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको उनको तर्क छ ।

ज्ञवालीले भने, ‘पहिलो कुरा विगतमा हामीले उठाएको विषय र अहिले गृहमन्त्रीजीको राजीनामाको माग गर्दै उठाइएको विषय फरक छ । विगतमा हामीले जसजस मन्त्रीको राजीनामा माग गर्‍यौं । त्यसो गर्दा एक जनालाई सरकारले नै बनाएको छानबिन आयोगले बालकुमारी घटनामा दोषी देखाएको थियो । र, दोस्रो अर्को एकजना मन्त्रीलाई अख्तियारले बयानमा बोलाइएको थियो । टेरामक्स खरिद कार्यमा भएको अनियमितताको सवालमा । अहिले गृहमन्त्रीको बारेमा त्यो लेवलको कुनै उजुरी, मुद्दा औपचारिक रुपमा दायर भएको अवस्था छैन । प्रधानमन्त्रीले कांगेससँगको गठबन्धन तोड्ने निर्णयलगत्तै प्रधानमन्त्री (रवि) अफर गर्दै नेपाली काँग्रेस आफैँ पुगेको थियो । प्रधानमन्त्रीको निम्ति आफैँले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीको निम्ति अयोग्य हुन्छ भन्ने तर्क त्यो राजनीतिक प्रतिशोधको तर्क बाहेक अरु केही पनि हुन सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर