परराष्ट्रमन्त्री श्रेष्ठले गरे पूर्वराजदूतहरुसँग छलफल (भिडिओ) – Nepal Press

परराष्ट्रमन्त्री श्रेष्ठले गरे पूर्वराजदूतहरुसँग छलफल (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदुतहरुसँग छलफल गरेका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले बुधवार नेपालबाट विभिन्न देशमा राजदूतको जिम्मेवारी सम्हाली सेवानिवृत्त हुनुभएका पूर्वराजदूतहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।

छलफलका क्रममा परराष्ट्र मन्त्रालयलाई सुदृढ पार्ने, मन्त्रालय र दूतावासबीचको समन्वय र छिमेकी देशहरुसँगको सम्बन्ध लगायत विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ ।

मन्त्रीसँगको छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै बगंलादेशका लागि नेपालका पूर्वराजदुत मोहन लोहनीले पूर्वराजदुतहरुले विभिन्न प्रकारका सुझाव दिएका बताए ।

उनले देशमा राजनीति अस्थिर भएकाले राजनीतिक स्थायित्व हुनुपर्ने कुरामा जोड दिइएको बताए । उनले नेपालको अहिलेसम्मको विदेश नीति सकारात्मक दिशामा रहेको र यसलाई अझ सुदृढ पार्नुपर्नेमा पूर्वराजदुतहरुले सुझाव दिएका बताए ।

‘राजनीतिक स्थायित्वको कुरा पनि भएको थियो । अहिलेसम्मको हाम्रो विदेश नीति राम्रै दिशामा गएको छ । अझ सुदृढ पार्नका लागि के स्टेपहरु, के मेजरहरु लिन सकिन्छ, उहाँले पूर्वराजदुतहरुसँग पनि अपेक्षा गर्नुभएको छ’, उनले, ‘परराष्ट्र मन्त्रालयको महत्वलाई बुझाउने काम म गर्छु भन्नुभएको छ । परराष्ट्र मन्त्रालयको महत्वलाई उहाँले जोड दिनुभएको छ ।’

छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इजिप्टका लागि नेपालका पूर्वराजदुत डा. रामभक्त ठाकुरले परराष्ट्रमन्त्रीले परराष्ट्र नीतिलाई सुधार गर्ने सम्बन्धमा सुझाव माग्नुभएको बताए । उनले छिमेकी देशहरुसँगको सम्बन्धलाई प्राथमिकता दिँदै अमेरिकाको बढ्दो उपस्थितिलाई पनि व्यवस्थापन गर्नुपर्नेमा सुझाव दिएको बताए ।

‘परराष्ट्र नीतिको राम्रो नराम्रो , कमी कमजोरी कहाँ छ ? समयले के मागेको छ? कसरी सुधार गर्ने भनेर कुरा बुझ्न खोज्नुभयो । हामीले बतायौँ अहिले देशमा संकट आएको छ । देश स्थिर छैन । राजनीतिक स्थिरता छैन । यस बेला परराष्ट्र नीति चलाउन गाह्रो भइरहेको छ । कसरी गर्ने ? कुन चिजमा प्राथमिकता दिने ?’, उनले भने, ‘छिमेकी देशहरुलाई प्राथमिकता दिने भारत, नेपाल, चीनकाको तीन सम्बन्धलाई राम्रो गर्ने । यतातिर अमेरिकाको उपस्थिति बढिरहेको छ । त्यो उपस्थितिलाई कसरी मिलाउने ? यि सबै कुरालाई हामीले प्राथमिकता दिउँ । देश अस्थिर छ । परराष्ट्र नीतिले स्थिरता ल्याउन मद्दत गरोस् ।’

उनले आफ्नो देशको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने र छिमेकी देशको हितलाई पनि खलल नपुरयाउनेगरी अगाडी बढ्नुपर्ने सुझाव दिइएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर