केही मान्छे माओवादीमा प्रवेश गराएर प्रचण्डले एकताको जालसाजी प्रचार गरे : बाबुराम (भिडिओ) – Nepal Press
नेसपा फुट

केही मान्छे माओवादीमा प्रवेश गराएर प्रचण्डले एकताको जालसाजी प्रचार गरे : बाबुराम (भिडिओ)

'नयाँ अभियानमा होमिइसकेकाले माओवादीमा मिसिन सकिँदैन'

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री प्रचण्डले जालसाजी गरेको टिप्पणी गरेका छन् । अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षतर्फ लक्षित गर्दै उनले वार्ता समितिको संयोजक आफैँ भएको अवस्थामा आफूहरूलाई थाहै नदिई पार्टी एकताको नाम दिएको भट्टराईको आरोप थियो ।

यादवलगायत नेता छुट्टिएको विषयलाई आफूहरूले ठूलो कुरा नमानेको उनको जिकिर थियो । केही साथीहरू जानु ठूलो विषय नभएको भन्दै उनले जाने साथीहरूलाई फूलमाला लगाएर बिदाई गर्ने पद्धति बसाउन खोजेको बताए ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनको क्रममा थकाइ लागेर चौतारीमा बसौं छिमेकीको घरमा मीठो खाना खाउँ भनेर हिँड्नुभो । यो राजनीति यात्राको क्रममा चल्छ ठूलो कुरा मान्नु हुँदैन । देशको प्रधानमन्त्री पार्टीको अध्यक्ष हुनुहुन्छ । केही मान्छेले पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकता भयो त्यो आश्चर्य चकित छु । म आफैँ अध्यक्ष भएको रेकर्ड निर्वाचन आयोगमा छ । वार्ता समितिको संयोजक आफैँ छु । जालसाजीपूर्ण काम गरियो ।’

उनले ७० प्रतिशत केन्द्रीय सदस्य र २ तिहाइ कार्यकारिणी समिति सदस्य आफूसँग भएको दाबी गरे ।

पुरानो राजनीतिक शक्तिबाट अग्रगामी निकास हुन नसक्ने भन्दै डा. भट्टराईले कुनै मुद्दामा सहकार्य हुन सक्ने तर आफूहरू नयाँ अभियानमा होमिइसकेकाले माओवादीमा मिसिन नसकिने प्रष्ट्याए । व्यवस्थामाथि सत्तामै बसेकाहरूबाट खतरा रहेको उनले दाबी गरेका छन् ।

भट्टराईले प्रत्यक्ष राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग दोहोर्‍याए ।

आफू सत्तामा भएका बेला अर्कालाई आरोप गरेर भ्रष्टाचारको ढाकछोप गर्ने काम भइरहेको उनको दाबी छ ।

‘एकअर्कालाई भ्रष्टाचारको आरोप लगाउने चोचोमोचो मिलाउनेले सुशासन हुन्न । अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि छानबिन गर्नुपर्छ । आवश्यक पर्दा सबैलाई कारबाही गर्नुपर्छ’, उनले थपे ।

अब पार्टी निर्माण तथा संगठन विस्तार अभियान चलाएर चुनाव केन्द्रित नभई जनताको मुद्दाका लागि लड्ने उनले योजना सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर