सरकारकाे साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै – Nepal Press

सरकारकाे साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको  छ ।

यसअघि शनिबार सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित सत्ता गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको थियो ।

कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

कार्यदलमा सत्तामा सहभागी दलबाट दुई दुई नेता थिए । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य  रहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर