लुम्बिनीमा एमालेले एकैपटक लियो ८६ हजार पार्टी सदस्यको परीक्षा, फेल भएकालाई पुनः अवसर – Nepal Press

लुम्बिनीमा एमालेले एकैपटक लियो ८६ हजार पार्टी सदस्यको परीक्षा, फेल भएकालाई पुनः अवसर

रूपन्देही । नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका सबै पार्टी सदस्यहरुको एकैपटक परीक्षा लिएको छ । प्रदेशमा रहेका १०९ वटै पालिकाका ८६ हजार २ सय ६० जना सदस्यको लागि सोमबार एकैपटक परीक्षा लिएको प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यसप्रकारको नयाँ कार्यक्रम थालिएको उनको भनाइ छ । यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको थियो ।

पहिलो पटक सदस्यहरुलाई क्रियाशील बनाउन यसखालको प्रकृया थालिएको र सबै क्षेत्रमा उत्साहपूर्वक सहभागिता भएको कंडेलले बताए । तर सबै सदस्यहरुमध्ये कति सहभागी भएनन् भन्ने तथ्यांक अझै निकालिनसकेको उनको भनाइ छ ।

निस्कृय सदस्यलाई कृयाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भएपनि पहिलोपटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र पटकपटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् ।

प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका सबै पालिकामा यो परीक्षा भएपनि केही वडामा आन्तरिक सल्लाहका कारण पछि गरिने एमालेले जनाएको छ ।

अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको बताइन् । परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ,लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं’ उनले भनिन् ।

उनले पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिइन् । जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको थियो ।

प्रचार विभाग प्रमुख डिआर घिमिरेले सबै वडा तहमा उत्साहका साथ सदस्यहरु सहभागी भएको र यसले पार्टीलाई नै उर्जा थप्ने विश्वास लिएको बताए । एमालेले यो परीक्षामा उत्तीर्ण हुन नसकेकालाई पुनः अवसर दिने र पटक पटक पास हुन नसक्नेलाई मात्रै पार्टीबाट अलग गराउने रणनीति लिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर