बिरामीलाई कम्बल ओढाउने भारतीय बाबा शिविरबाटै बेपत्ता, आन्दोलनपछि खोज्दै वीरगञ्ज प्रहरी – Nepal Press

बिरामीलाई कम्बल ओढाउने भारतीय बाबा शिविरबाटै बेपत्ता, आन्दोलनपछि खोज्दै वीरगञ्ज प्रहरी

जनकपुरधाम । ‘कालो कम्बल वाले बाबा’ का नामले भाइरल बनेका भारतीय बाबा गणेश भाइ गुर्जर वीरगञ्जबाट सम्पर्कविहीन बनेका छन् ।

शिविर चलाउन उनी फागुन ३० मा वीरगञ्ज आएका थिए । चैत १० गतेसम्म शिविर चलाउने भनिएपनि उनी अचानक सम्पर्कवाहिर बनेका हुन् । उनी बेपत्ता बनेपछि शिविरमा उपचार गराउन आएकाहरूले लफडा गरेका छन् ।

उनले जुनसुकै बिरामीलाई कम्बल ओढाएरै निको पार्ने दाबी गर्थे । भारतमा लामो समयदेखि कम्बल ओढाएरै बिरामी निको पार्ने गरेको भन्दै उनी एकाएक भाइरल बनेका थिए । मिडियामा पनि पटक पटक आएका उनको यो शैली चासो र रहस्यमय बनेको थियो ।

वीरगञ्जमा शिविर चलाउने खबर फैलिएपछि टाढाटाढाबाट उपचार गराउन आएकाहरू भने बाबा सम्पर्कविहीन बनेपछि सडक जाम पार्दै प्रदर्शन गरिरहेको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।

बाबा गणेश पक्राउ परेको हल्ला चलेपछि प्रहरीको आलोचना गर्दै सडक जाम पारिएको थियो । डीएसपी थापाले उनलाई पक्राउ नगरेको बताए ।

‘उपचार गराउन आउनेहरूले लफडा गरेपछि हामी पनि बाबालाई खोज्दैछौं । कहाँ गएका हुन् थाहा छैन’, उनले भने ।

बाबा भारत फर्केको धेरैको अनुमान भएपनि प्रहरीले सूचना नभएको बताएको छ । भारत राजस्थानका ती बाबाले चिकित्सा विज्ञानलाई चुनौती दिँदै क्यान्सरलगायतका प्राणघातक रोग पनि निको पारेको दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर