कांग्रेस गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा लागेको छ : बर्तौला (भिडिओ) – Nepal Press

कांग्रेस गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा लागेको छ : बर्तौला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंकगणितका आधारमा प्रस्तुति देखाइरहेको जिकिर गरे । कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै बर्तौलाले अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने प्रष्ट पारे ।

सुन तस्करी प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयनमा उनको जोड छ । आयोगको प्रतिवेदन सांसदहरूलाई बुझाउन पनि बर्तौलाले सरकारसँग आग्रह गरेका छन् ।

बर्तौलाको भनाइ जस्ताको तस्तै

सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जोजो जहाँ जहाँ जसरी संलग्नता छ । दोषका प्रकृतिका आधारबाट कानूनी कारबाही हुन्छ । प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ । हामीले सरकारलाई संसदमार्फत ध्यानाकर्षण गराएका छौं । उजागर गरेका विषयहरू कहीँ थन्क्याउने होइन, कोही पनि मान्छे उम्किने अवस्था रहँदैन । कानूनको आँखाबाट दोषी देखिएको जोसुकै भएपनि उम्किन हुँदैन । कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्नेकुरा किमार्थ हुँदैन । सरकारको यो पूर्ण कार्यान्वयन गर्नुपर्छ । रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ कि छानबिन सबै तहबाट होस् ।

यसलाई राजनीतिक ढंगबाट अहिले रास्वपाको नेतृत्व कर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा जसरी प्रश्तुति देखाइएको छ । रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ । अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेस गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा लागेको छ : बर्तौला (भिडिओ)

  1. गृहमन्त्रीमाथीको आर्कमण सरकार, सिङ्गॊ देशमाथीको आर्कमणका साथै आरजु जोगाउने खेल हो । अब सबैलाई पाता कस्नु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर