इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा – Nepal Press

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

काठमाडौं । इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार (आज) कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् ।

मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआतपछि पहिलो पटक इजराइली अधिकारी र हमासका नेताहरूलाई अप्रत्यक्ष वार्तामा सहभागी गराउने छ । मध्यस्थकर्ताहरूले यसै साताको प्रारम्भमा रमजान सुरु हुनुअघि छ साताको युद्धविराम सुरक्षित गर्ने आशा गरेका थिए तर हमासले गाजामा स्थायी युद्धविराम नहुने कुनै पनि सम्झौतालाई अस्वीकार गर्यो भने इजराइलले हमासको उक्त मागलाई खारेज गर्यो ।

यद्यपि हालैका दिनहरूमा सम्पूर्णरूपमा नटुटेको वार्तालाई दुवै पक्षले ट्र्याकमा ल्याउने उद्देश्यले कदम चालेका छन् । इजिप्टका दुई अधिकारीका अनुसार हमासले युद्ध समाप्त गर्ने तीन चरणको योजनाको नयाँ प्रस्ताव मध्यस्थकर्ताहरूलाई दिएको छ ।

पहिलो चरणमा छ साताको युद्धविराम हुनेछ । यसमा इजराइलले राखेका तीन सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका महिला, बिरामी र वृद्धसहित ३५ बन्धकको रिहाइ समावेश हुनेछ ।

हमासले ५० कैदीको बदलामा कम्तीमा पाँच महिला सैनिकलाई पनि रिहा गर्नेछ । यिनीहरूमा प्रत्येक सैनिकका लागि आतङ्ककारी आरोपमा लामो सजाय काटिरहेका केही महिला पनि रहेका छन् ।

अधिकारीहरूका अनुसार इजराइली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ, विस्थापित प्यालेस्टिनीहरूलाई युद्धले विनाश भएको उत्तरी गाजामा फर्कन अनुमति दिनेछ र यस क्षेत्रमा सहायताको स्वतन्त्र प्रवाहलाई अनुमति दिनेछ ।

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले तहसनहस भएको उत्तरमा दुई वर्षभन्दा पनि कम उमेरका तीन बालकमध्ये एक जना गम्भीर कुपोषणबाट पीडित भएको शुक्रबार बताएको छ ।

अधिकारीहरूका अनुसार दोस्रो चरणमा दुवै पक्षले स्थायी युद्धविरामको घोषणा गर्नेछन् र हमासले थप कैदीको बदलामा बन्धक बनाइएका बाँकी इजराइली सैनिकहरूलाई मुक्त गर्नेछ ।

तेस्रो चरणमा इजराइलले गाजाको नाकाबन्दी हटाएर पुनर्निर्माण सुरु गर्न अनुमति दिएको बदलामा हमासले आफूसँग रहेका शवहरू हस्तान्तरण गर्नेछ ।

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्तावलाई ‘अवास्तविक’ भएकाे बताए ।  यद्यपि उहाँ थप वार्ताका लागि इजराइली वार्ताकारहरूलाई कतार पठाउन सहमत भएका छन् ।

वार्ताहरू आइतबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिए पनि सोमबारसम्ममा वार्ता सुरु गर्न सकिने अधिकारीहरूले बताएका छन् ।

नेतान्याहु सरकारले स्थायी युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युद्धविरामअघि ‘हमासलाई समाप्त गर्ने’ आफ्नो घोषित लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएको छ । नेतान्याहुको कार्यालयले गाजाको सबैभन्दा दक्षिणी सहर रफामा आक्रमण गर्ने सैन्य योजनालाई अनुमति दिएको शुक्रबार बताएको छ । रफामा १४ लाख विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् ।

अमेरिका र अन्य मुलुकले यस्तो कारवाही विनाशकारी हुनसक्ने चेतावनी दिएका छन् तर इजराइलले त्यहाँ तैनाथ हमास बटालियनहरूलाई समाप्त पार्नका लागि अगाडि बढ्ने योजना बनाइरहेको बताएको छ ।

नेतान्याहु कार्यालयले रफा कारवाहीमा नागरिको विस्थापन समावेश हुने बताएको छ तर उसले विवरण वा समयतालिका भने दिएको छैन । सेनाले बुधबार नागरिकहरूलाई मध्य गाजामा ‘मानवीय टापूहरू’ मा निर्देशित गर्ने योजना बनाएको बताएको थियो ।

“रफामा निर्दोष मानिसहरूलाई इजराइली आक्रमणबाट बचाउनका लागि हामीले स्पष्ट र कार्यान्वयनयोग्य योजना देख्नुपर्छ”, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार भने, “हामीले त्यस्तो कुनै योजना देखेका छैनौँ ।”

इजराइलको आक्रमणले गाजाका २३ लाख मानिसमध्ये अधिकांशलाई उनीहरूको घरबाट विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका एक चौथाई जनसङ्ख्या भोकमरीमा परेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर