बागमतीमा हानेपालाई दुई मन्त्रीको अफर, मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी – Nepal Press

बागमतीमा हानेपालाई दुई मन्त्रीको अफर, मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी

हेटौंडा । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई अल्पमतमा पारिदिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको छ ।

केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्ने अवस्था छैन ।

११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । तर, यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । सरकार बनाउन हाम्रो नेपाली पार्टी (हानेपा) लाई गठबन्धनमा सामेल गर्न कसरत सुरू भएको छ । हानेपाबाट यहाँ शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् । मुख्यमन्त्रीनिकट स्रोतकाअनुसार दुवैजनालाई मन्त्रीको अफर गरिसकिएको छ ।

‘दुवैजनालाई क्याविनेटमा ल्याउन नेताहरू छलफलको चरणमै हुनुन्छ । कुरा सकारात्मक छ’, स्रोतले भन्यो ।

हानेपाले भने अहिले नै आफूहरू सरकारमा जाने ध्याउन्नमा नलाग्ने बताएको छ ।

लौरोका प्रवक्ता ई. रोहन कार्कीले नेपाल प्रेससँग भने, ‘हामी अहिले सत्ताको खेलमा छैनौं । समग्र परिस्थिति विश्लेषण गरेर मात्र निर्णय लिन्छौं ।’

हानेपाका सांसद शैलेन्द्र बज्राचार्यले पनि नयाँ गठबन्धनमा सहभागिताका लागि कुरा आएको स्वीकारे । केन्द्रको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ । नेमकिपाका ३ जना सांसद रहेपनि आफूहरू सरकारबाहिरै बस्ने एक सांसद बताउँछन् । गठबन्धनले पनि सरकारमा उनीहरूलाई ल्याउन कसरत गरेको छैन ।

बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केही दिन सरकार बनाउने कसरतमा लागेपनि नेकपा एस एमाले-माओवादीसहितको गठबन्धनमा सामेल भएपछि अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ । यहाँ कांग्रेसका ३७, राप्रपाका १२ र नेकपा एसका ७ सांसद छन् ।

नेकपा एसले बागमती प्रदेशमा आफूहरूको उपस्थिति अन्य प्रदेशको तुलनामा बढी रहेको भन्दै मुख्यमन्त्री दाबीसहित गठबन्धनमा दबाब बढाएको छ ।

नेकपा एसका एक नेता भन्छन् ‘बागमती प्रदेश सरकारमा यदि समाजवादी नजाने हो भने विपक्ष गठबन्धनलाई बहुमत पुग्छ, राजनीतिमा हामीले मात्र सधैँ त्याग गर्नुपर्छ भन्ने छैन नि ? देश र अन्य धेरै प्रदेशको नेतृत्व गर्दा एउटा प्रदेशको नेतृत्व गर्न समाजवादीलाई दिन नहुने भन्ने हुन्न होला नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर