सुरजपुराकाण्डको ४० वर्षः कांग्रेस शीर्ष नेताहरुमाथि आक्रमण भएको घरलाई संग्राहलय बनाउन सुझाव – Nepal Press

सुरजपुराकाण्डको ४० वर्षः कांग्रेस शीर्ष नेताहरुमाथि आक्रमण भएको घरलाई संग्राहलय बनाउन सुझाव

रुपन्देही । ४० वर्षअघि रुपन्देहीको सुरजपुरामा मारिएका सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मृतिमा नेपाली कांग्रेसले शोकसभा गरेको छ ।

नेपाली काँग्रेसको पार्टी संगठनका क्रममा २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा भएको घटनामा घाइते भई दिवंगत भएका रुपन्देहीका यादवनाथ आलोक र रामप्रसाद चौधरीको मंगलबार देवदहको सुरजपुरामा नेपाली काँग्रेस रुपन्देहीले ४० औं स्मृति सभा गरेको हो ।

२०३६ सालको जनमत संग्रहमा बहुदलले हारेपछि पार्टी सिथिलजस्तै बनेको समयमा पार्टीलाई पुनजागृ गरी प्रजातन्त्र प्राप्तको आन्दोलनलाई बल पुर्याउन नेपाली काँग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहित नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सैलजा आचार्य लगायतको टोली देश दौडाहामा निस्किएको थियो ।

देश दौडाहामा रहेको टोलीलाई नेपाली काँग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरीको घर देवदह नगरपालिका वडा नं ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो ।

जहाँ यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनु पर्यो भने शेरबहादुर देउवाको ओठमा काटेको थियो । उक्त घटनामा देउवासहित २७२ जना घाइते भएका थिए । बहुदल विरुद्धको समूहले गरेको सांघातिक आक्रमणबाट घाइते भएका आलोक र चौधरीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल ९साविक लुम्बिनी अञ्चल अस्पताल० बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना कसरी भयो ?

पार्टीका नेताहरु देश दौडाहामा थिए । महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेताहरु २०४० फागुन २० गते रुपन्देहीमा आउने कार्यक्रम थियो । पार्टी गतिविधि गर्न सहज थिएन । पार्टी जिल्ला समितिले सभापति पुष्पानन्द गिरीको घरमा कार्यक्रम तय गर्यो । विहान ८ बजे अगाडि नै पार्टीका नेताहरु गिरीको घरमा जम्मा भइसकेका थिए ।

केन्द्रीय नेताहरु बिहान ८ बजे नै देवदहको खैरेनीमा आउने समय थियो । सभापतिको घर सुरजपुरामा जम्मा भएका नेताहरु स्वागतको लागि खैरेनी पुगे । तर केन्द्रबाट आएका नेताहरु आउन समय लाग्यो । १० बजेतिर मात्रै आए । महामन्त्री गिरिजाप्रसाद चढेको गाडी दाउन्नेमा विग्रिएछ र अर्को गाडी खोजेर आउँदा समय लागेको रहेछ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण स्मरण गर्छन्–‘त्यसपछि सुरजपुरा पुगेर कार्यक्रम सुरु भएको थियो, एकाएक उनीहरुले आक्रण गरे ।’ खुकुरी लाठीलगायतका घरेलु हतियार लिएर आएका उनीहरुले निरन्तर २ घण्टासम्म आक्रमण गरे ।

कार्यक्रममा सहभागी भएका सबै घाइते भए, महामन्त्रीसहितका केही नेताहरुलाई घरभित्र माथिल्लो तलामा लगेर लुकाइयो । तर उनीहरुले घरमा तलबाट आगो लगाइदिएर त्यहाँबाट निस्किए । त्यस्तो विभत्स घटना देखेपछि गाउँका दिदीबहिनी आएर आगो निभाइदिएर आफूहरु त्यहाँबाट निस्किएको परिवारका सदस्य पुष्पानन्द गिरीका साइला छोरा शक्तिप्रसन्न गिरीले बताए। उनका अनुसार त्यसबेला नेतृ सैलजा आचार्यले आफ्नो साडी च्यातेर घाइते भएकाहरुको घाउमा बाँधिदिएकी थिइन् ।

उनका अनुसार त्यसपछि घाइते सबैलाई लडियामा राखेर मंगलापुर निकालियो । मंगलापुरमा काँग्रेस नेता गोपालमान श्रेष्ठको ट्रकमा राखेर बिरामी सबैलाई लुम्बिनी अंचल अस्पतालमा ल्याएर उपचार गरिएको थियो । त्यसबेला काँग्रेस नेता सैलेन्द्र अधिकारीको बुटवलबाट पोखरा हुँदै काठमाण्डौ चल्ने बस थियो । यहाँ उपचार नहुनेलाई उनको बसमा राखेर काठमाण्डौ लगेर उपचार गरिएको उलेले स्मरण गर्छन् ।

घटना घटेको घरलाई संग्रहालय बनाउन सुझाव

स्मृतिसभामा बोल्ने वक्ताहरुले उक्त ऐतिहासिक घटना भएको घरलाई संग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्र प्राप्तको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै त्यसलाई संग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली काँग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसावले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताए । उनले भने–‘यो हाम्रो लागि मात्रै नभएर देशकै एउटा गहना हो ।’

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले उक्त घरलाई संग्रहालय बनाउने विषयमा धेरै प्रयासहरु भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औंल्याए।

नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले काँग्रेसलाई सिध्याउने मण्डलेहरुको अभियानका क्रममा ४० सालको सुरजपुरा घटना घटाइएको बताउँछन् । उनले मण्डलेहरुलाई कतै राजाले काँग्रेससंग मिलेर आफूहरुलाई साथ छोड्ने त हैन भन्ने भयले काँग्रेसलाई समाप्त पार्नको लागि आक्रमण गरिएको विश्लेषण गरे।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं १ का क्षत्रीय सभापति हिराबहादुर खत्री, काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भुर्तेल, वडा नं ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई संग्रहालय बनाएर इतिहास सुरक्षित राख्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर