प्रचण्डसँग झोक्किए माधव नेपाल : आफूखुसी सबै निर्णय गर्नुभयो, गणित असहज भएपछि म चाहियो ? – Nepal Press

प्रचण्डसँग झोक्किए माधव नेपाल : आफूखुसी सबै निर्णय गर्नुभयो, गणित असहज भएपछि म चाहियो ?

नेपाललाई फकाउँदै प्रचण्ड-नारायणकाजीले भने: अब तपाईँसँग सल्लाहबिना केही गर्दैनौँ, ८ बुँदे परिमार्जन गर्न पनि सकिन्छ

काठमाडौँ । बालुवाटारमा चलिरहेको नवगठबन्धन बैठक छोडेर आफ्नो निवासमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले तीव्र असन्तुष्टि पोखेका छन् । आफूसँग कुनै सरसल्लाह नगरी सबै निर्णय गरेको र अप्ठेरो परेपछि खोज्दै आएको भन्दै उनी प्रचण्डसँग झोक्किए ।

प्रचण्डले माधव नेपाललाई थाहै नदिईकन एमाले, रास्वपा र जसपासँग नयाँ सहमति गरेका थिए । भोलिपल्ट चार दलबिच नयाँ गठबन्धन बनेको समाचार आउँदासम्म नेपाल लगायत नेकपा एसका नेताहरुलाई पत्तो थिएन । दुई दिन अस्पताल बसेर अस्ति साँझ घर फर्केका नेपाल बेड रेस्टमै थिए । तर, बिहानदेखि नै उनको घरमा नेताहरूको लर्को लाग्यो ।

बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि गठबन्धनमा समेट्ने निर्णय गरेपछि नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न आएका थिए । उनले यस्तो यस्तो कुरा भएको छ भनेर जानकारी गराउँदै नेकपा एसलाई पनि गठबन्धनमा सामेल हुन आग्रह गरे । नेपालले पार्टीमा सल्लाह गर्छु भनेर फर्काए ।

दिउँसो आफ्नै घरमा नेपालले पार्टीको सचिवालय बैठक बोलाए । बैठकले ठोस निर्णय लिन सकेन । पर्खने र हेर्ने भन्दै नेताहरू उठे । बेलुका फेरि प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ भेट्न आएका हुन् ।

कुराकानीको सुरुवातमा नेपाल प्रचण्डसित आक्रोशित बनेका थिए ।

नेपालले भने, ‘तपाईँ हामीसित सल्लाह नगरी, नसोधी आफूखुसी गर्दै हिँड्ने । अहिले अप्ठेरो परेपछि हामीलाई खोज्दै आउने ? बिहानसम्म भागबन्डाको कुरा के गर्ने भनेर नभन्ने । कुरा गर्छु, भेट्छु मात्रै भन्ने । अहिले जसपाको भर नभएपछि संख्या पुर्‍याउन सकस भएर नेकपा एस चाहिने ? यो विल्कुलै वामपन्थी चरित्र भएन ।’

माधव नेपालको आक्रोशले प्रचण्ड सुरुमै ब्याक फुटमा आए । प्रचण्ड र नारायणकाजीले नेपालको रिस शान्त गर्ने प्रयास गरे ।

‘अहिलेसम्म जे भयो भयो । अब तपाईँले जे भन्नुहुन्छ, जसरी जाऊँ भन्नुहुन्छ, जस्तो किसिमको सहमति गरौँ भन्नुहुन्छ, त्यही अनुसार गर्छौँ । एमाले पनि सकारात्मक छ । अहिलेको आठ बुँदेको चिन्ता नगर्नु । तपाईंहरुलाई पनि सहभागी गराएर आठ बुँदे परिमार्जन गर्न सकिन्छ । मन्त्रालयको बाँडफाँड पनि तपाईँहरू आएपछि मात्रै टुंगो लगाउने हो ।’

उनीहरूले यति भनेपछि नेपाल अलि लचिलो भए । उनले सम्मानजनक स्थान दिइएमा सोच्न सकिने बताए । यस विषयमा पार्टीमा छलफल गरेर निर्णय लिने उनको भनाइ थियो ।

स्रोतका अनुसार प्रचण्ड–नारायणकाजीले कम्युनिष्टहरु मिल्नुपर्ने भन्दै वामपन्थी एकतादेखि नेकपा ब्युँताउन सकिनेसम्मको कुरा गरेका थिए । विगतमा गरेका गल्तीबाट सबैले चोट खाएको भन्दै अब त्यसलाई दोहोर्‍याउन नहुनेमा जोड दिए ।

नेकपा एस निकट स्रोतले छलफल सकारात्मक रूपमा टुंगिएको बताएको छ । यद्यपि नेकपा एसको उपस्थितिबिनै राष्ट्रियसभाको अध्यक्ष–उपाध्यक्ष लगायत थुप्रै महत्त्वपूर्ण सहमति भएकाले यो सबै पुनरावलोकन हुनुपर्ने अडान पार्टीले लिने छ । मन्त्रिपरिषदमा पनि सम्मानजनक उपस्थिति खोजिने एक नेताले बताए ।

ती नेताले भने, ‘अध्यक्षज्यूले वचन त दिइसक्नु भएको छैन । तर नयाँ गठबन्धनमा जाने खालको वातावरण चैं अब बन्यो ।’

स्मरणीय छ कि नेकपा एसले समर्थन गरेन भने सरकार झिनो बहुमतमा हुने छ । उपेन्द्र यादवको जसपा निर्णायक शक्ति बन्न सक्छ । जसपाले उच्चतम बार्गेनिङ गर्न सक्ने वा विभिन्न बहानामा निहुँ खोजिरहन सक्ने भएकाले गठबन्धनमा नेकपा एसलाई स्वागत गर्न खोजिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर