बालुवाटार बैठकबाट माधवलाई ओलीको फोन- म आउन पाइनँ, प्रचण्डजीले गर्ने कुरा मेरो पनि हो है – Nepal Press

बालुवाटार बैठकबाट माधवलाई ओलीको फोन- म आउन पाइनँ, प्रचण्डजीले गर्ने कुरा मेरो पनि हो है

नेकपा एमाले पनि नेकपा एसलाई गठबन्धनमा समेट्ने पक्षमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्धमा छाएको तिक्तता अब मेटिने संकेत देखिएको छ । पार्टी विभाजनयता पहिलोपटक हिजो ओलीले नेपाललाई फोन गरे ।

गठबन्धनको सहमतिलाई मुर्तरूप दिन हिजो बालुवाटारमा बसेको बैठकमा सरकारलाई सहज बहुमत पुर्‍याउनका लागि नेकपा एसलाई पनि समेट्नुपर्ने छलफल भएको थियो । त्यसपछि अन्य नेताहरूसँगको सल्लाहमा प्रधानमन्त्री प्रचण्ड र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाल निवास हिँडे ।

प्रचण्ड हिँडेपछि ओलीले वैठकबाटै नेपाललाई फोन गरेका हुन् । उनले सुरूमा नेपाललाई स्वास्थ्यलाभको कामना गरेका थिए ।

‘अस्वस्थ हुनुहुँदो रहेछ । स्वास्थ्यलाभको कामना छ’ भनेपछि नेपालले धन्यवाद दिए । त्यसपछि ओलीले भने, ‘म आउन पाइनँ । प्रचण्डजी आउँदै हुनुहुन्छ । उहाँले राख्ने कुरा मेरो पनि हो है ।’

नेपालले भने, ‘ठीक छ, छलफल गर्न सकिन्छ ।’

नेताहरूबीच दुई-तीन मिनेट मात्रै कुरा भएको थियो । ओलीले फोन गरेको केही मिनेटमै प्रचण्ड नेपाल निवासमा आइपुगेका थिए ।

प्रचण्डले रातारात गठवन्धन फेर्दा माधव नेपाललाई उपेक्षा गरेका थिए । त्यसबाट असन्तुष्ट बनेका नेपाललाई फकाउन प्रचण्ड गएका हुन् । हिजो माओवादी वैठकले गठवन्धनमा एसलाई पनि समेट्नुपर्ने निर्णय गरेको थियो । एमाले पनि नेकपा एसलाई समेट्न सकारात्मक बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर