कांग्रेसले २०८४ को गीत गाउन आवश्यक छैन : महामन्त्री शर्मा – Nepal Press

कांग्रेसले २०८४ को गीत गाउन आवश्यक छैन : महामन्त्री शर्मा

रास्वपालगायतका नयाँ दलप्रति कटाक्ष- 'ब्याण्डबाजामा सबैलाई नाचौनाचौ लागे पनि पुरानो नौमती बाजाको छुट्टै महत्व छ'

टक्सार (भोजपुर) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको बताएका छन् । शनिबार नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणमा उनले अन्य दलहरूले ल्याएको ‘मिसन ८४’ बाट मुलुकमा केही पनि कायापलट नहुने भन्दै त्यसले कांग्रेसलाई कुनै असर नगर्ने जिकिर गरे ।

‘लोकतन्त्रमा चुनाव हुन्छ । कांग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो’, महामन्त्री शर्माले भने ।

राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली कांग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु कांग्रेसको प्रमुख दायित्व भएको उनले औंल्याए ।

‘अरुले के गरेभन्दा पनि संयमतापूर्वक कांग्रेस अगाडि बढ्न आवश्यक रहेको छ’, शर्माले भने, ‘नयाँ आएका ब्याण्डबाजामा सबैलाई नाचौनाचौ लागे पनि पुरानो नौमती बाजाको छुट्टै महत्व छ ।’

शर्माले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटकसम्म सांसद भएको व्यक्तिलाई पुनः सोही पदको अवसर नदिने नीति ल्याउन सकिएमा पद्धतिको विकास हुने बताएका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेसले २०८४ को गीत गाउन आवश्यक छैन : महामन्त्री शर्मा

  1. अब नौमती म्युजियममा सजाउने मात्र हो । ८४ मा कतिवटासँग मिलेर चुनावमा जानुपर्ने हो ? एक्लै गए त पत्तासाफ । गीत पनि कसरी गाउनु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर