राप्रपाले संसदमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव – Nepal Press

राप्रपाले संसदमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु बिना लामा, अनिशा नेपाली र बिना जैसवाल समर्थक रहेर रसिया र युक्रेनबीचको युद्धमा नेपालीहरु सहभागि गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेको हो ।

बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा नेपालीहरुलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ ।

मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरुको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए । उनले युद्ध भूमिमा फसेकाहरुलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए ।

संघीय संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रश्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर