विद्यालयका बस चालकको बयान: कलर समातेर ‘पेस्तोल’ ताक्नुभयो, बच्चाहरु रुन थाले – Nepal Press

विद्यालयका बस चालकको बयान: कलर समातेर ‘पेस्तोल’ ताक्नुभयो, बच्चाहरु रुन थाले

घटनामा संलग्न व्यक्ति पूर्वयुवराज पारस भएको राजसंस्था निकटस्थको स्वीकारोक्ति, तर पेस्तोल नभएर ‘लाइटर गन’ ताकेको दाबी

चितवन । एक साताअघिको घटनालाई लिएर अहिले पनि त्रसित मनोभावमै छन् सवारीचालक चौधरी । चितवनको सनराइन इङ्गलिस बोर्डिङ स्कुलका बस चालक उनले गत बुधबार अप्रत्याशित घटनाको सामना गर्नुपरेको थियो ।

विद्यार्थीलाई उतारेर बसलाई युटर्न गर्ने क्रममा पछाडि कारमा आएका एक व्यक्तिले चौधरीलाई हप्किदप्की गरे । ती व्यक्तिले आफ्नो कठालो समातेर ‘पेस्तोल’ समेत तेर्स्याएको चौधरीले बताएका छन् ।

‘मेरो कलर समातेर तान्दै पेस्तोल ताक्नुभयो’, उनी भन्छन्, ‘बालबच्चा डराएर रुन थाले । एकजना बच्चालाई सातो गएर ज्वरो नै आएको भनेर अभिभावकले स्कुलमा कम्प्लेन गर्नुभएको छ ।’

बालबच्चा लिएर हिँडेको बसभित्रै ‘पेस्तोल (?)’ ताकिएपछि चौधरी आत्तिए । उनले स्कुलमा रिपोर्ट गरे । स्कुलले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले घटनाबारे सामान्य अनुसन्धान गरे पनि कुनै पनि तथ्य बाहिर ल्याएको छैन ।

घटनामा संलग्न व्यक्ति पूर्वयुवराज पारस भएको प्रत्यक्षदर्शीहरुको दाबी छ । तर, गाडी चालक चौधरी आफूले ती व्यक्तिको अनुहार राम्ररी नदेखेको बताउँछन् । सनराइज स्कुलले घटना भएको पुष्टि गरे पनि ती व्यक्ति पारस हुन् वा होइनन् भन्ने एकिन गरेको छैन ।

घटना भएको ठाउँ ।

घटनाका प्रत्यक्षदर्शीका रुपमा गाडी चालक, सहचालक र बालबालिकाबाहेक परिपक्व व्यक्ति सार्वजनिक नभए पनि गाडी मोडेको स्थल नजिकै बुधबार खेलिरहेका बालबालिकासँग कुराकानी गर्दा उनीहरुले लामो कपाल पालेको र टोपी लगाएको मान्छे देखेको बताए ।

‘त्यो बेला राजाको छोरा जस्तै देखिने मान्छे थिए’, खेल्नेमध्ये एकले भने ।

त्यतिमात्रै होइन घटना नै थाहा छैन भनेर पन्छिएको चितवन प्रहरी टोली घटनालगत्तै सो ठाउँमा पुगेको पुष्टि भएको छ । स्थानीय घटनालगत्तै प्रहरी पुगेको जानकारी दिएका छन् ।

प्रहरीले घटनाबारे जानकारी नै नरहेको दाबी गरेको छ । यद्यपि प्रहरीका एक अधिकारी घटनाबारे बुझ्न विद्यालयमै पुगेका थिए ।

गाडी चालक चौधरीले स्थानीय एक सञ्चारकर्मीसँगको कुराकानीमा दिएको घटना विवरण यस्तो छः

मैले २०७४ सालदेखि स्कुलमा जागिर खाएको हो । यस्तो घटना कहिल्यै भोगेको थिइनँ । सधैं जस्तो गत बुधबार विद्यालयबाट विद्यार्थीहरुलाई बसमा लिएर घरघर पुर्‍याउँदै थिएँ ।

घटना भएको वन बाटिका कटेज अगाडि हो । यो गोन्द्राङबाट भित्र सल्लेरी आउने बीस हजारी ताल नजिक पर्छ । गोन्द्राङबाट आउँदा भुराहरुको घर सबै दाहिने साइडमा छ । अलि अगाडि आएपछि दाहिने फर्किएर गेटगेटमा भुराहरु छोड्दै आउने हो ।

दिउँसो सवा ४ जति बजेको थियो । ५ कक्षामुनिका १०-१२ जना भुरा थिए बसभित्र । गाडी फर्काउने क्रममा हेल्पर भाइ पछाडि हुनुहुन्थ्यो । पछाडि एउटा कार आउँदै थियो । अलि टाढै थियो त्यो गाडी । मैले आफ्नो गाडी ब्याक गर्दै थिएँ । एक्कासि पछाडिको कारबाट हर्न आयो मेरो कानमा ।

म एल आकारमा गाडी ब्याक गर्दै थिएँ । गाडी फर्काउँदै गर्दा मैले दुईतिर देख्दिनँ । पछाडि मात्रै देख्ने हो दुइटा ऐनामा । अलि अगाडि लगेर गाडी साइड लगाएँ । भुरा नि झर्‍यो । अनि यसो दाहिने ऐना हेरेर गाडी अगाडि बढाउन लागेको त त्यो गाडी फर्किन लागेको देखें ।

त्यो कार ल्याएर छेउमै रोकियो । एक जना मान्छे निस्किएर मलाई मुखसुख छोड्न थाल्नुभयो । रक्सी खानुभएको होला भनेर मैले कुनै जवाफ फर्काइनँ । उहाँले मेरो कलरसलर समात्नुभयो । म चुप नै लागिरहें । एक्कासि हान्दिम भन्दै पेस्तोल नै निकाल्नुभयो । म केही बोलिनँ ।

पछाडि पनि मान्छे टन्नै उभिएका थिए । गाडी नि टन्नै रोकिएका थिए । कसैले नि केही भनेनन् । देख्नी पब्लिकले नि केही बोलेनन् । म पनि चुप लागेर बसें । ल म यही मर्छु भनें र चुप लागेर बसें ।

मैले प्रतिवाद नगरेपछि उहाँ फेरि पेस्तोल गोजीमा हालेर आफ्नो गाडीभित्र जानुभयो । गाडी स्वाट्टै फर्काउनुभो र हिँड्नुभयो । उहाँ को हुनुहुन्थ्यो मैले चिनिनँ । अनुहार नै राम्ररी देखिनँ । उहाँको अगाडि पछाडि अरु कुनै सेक्युरिटी पनि थिएन ।

उहाँले यसरी मलाई कलर तानेर पेस्तोल ताक्दा भुराहरु आत्तिए । कोही कोही रुन कराउन थाले । त्यो हेल्पर भाइ भुराहरुलाई चुप लगाउन लाग्यो । मैले मोबाइल निकालेर प्याटर्न खोल्दै थिएँ, उहाँको गाडी फरक्क फर्किहाल्यो । गाडीको रंग कालो कालो थियो । उहाँले टाउकोमा टोपी र कोट पनि लगाउनुभएको थियो । कोट खरानी कलरको थियो क्यार ! मलाई त्यतिखेर भुरैको चिन्ता थियो ।

बच्चाहरु छोडिसकेर म स्कुल गएँ । स्कुलमा जानकारी गराएँ । अभिभावककै घर अगाडि यस्तो भयो भनेर सरहरुलाई भनें । कसैलाई केही भएन ठीकै छ भनेर चुप बस्न सल्लाह दिनुभयो ।

म प्रहरीमा भने गइनँ । स्कुलले नै भनेको होला । मेरो गल्ती थिएन । मैले आफ्नो ड्युटी गरेको थिएँ । बाटो खुला नभएर रिसाएको होला । तर, मलाई अझै पनि डर छ । केही होला कि भन्ने लाग्छ । मैले त स्कुलमा गएर बरु जागिरै छाडिदिन्छु भनेको थिएँ । सरहरुले केही हुँदैन भनेर सम्झाउनुभयो ।

एउटा नानीलाई घर गएपछि ज्वरो आएको थियो रे ! बाबु के भएको हो र गाडीमा भनेर फोन आएको थियो । मेरो गाडीको अंकललाई पिट्न लागेको थियो भनेर अभिभावकसँग बच्चा रोएको रहेछ । मैले केही भएको छैन दिदी ठीकै छ भनें ।

के हो वास्तविकता ?

केही दिनअघि पूर्वराजपरिवार भ्याकेसन मनाउन चितवन आएका थिए । उनीहरुले चितवनमा ११ दिन बिताए । पटिहानीस्थित सोल्टी क्राउन प्लाजालाई पूर्वराजपरिवारले मुकाम बनाएका थिए । त्यही नै गत फागुन ७ मा पूर्वरानीको जन्मदिन मनाइएको थियो ।

स्रोतका अनुसार पूर्वरानीको जन्मदिनमा पारस सहभागी थिएनन् । पूर्वराजाले नै उनलाई नआउन भनेको स्रोतको दाबी छ । त्यसको तीन दिनपछि ९ गते पारस आफ्ना केही साथीहरु लिएर पटिहानी लागेका थिए । जाने क्रममा बाटोमा घटना भएको स्रोतको भनाइ छ ।

पूर्वराजपरिवार निकट स्रोतले घटनामा संलग्न व्यक्ति पारस भए पनि उनले पेस्तोल भने नताकेको बताएको छ ।

‘उहाँसँग अहिले निजी पेस्तोल छैन, उहाँका सबै हतियार पूर्वराजाले पहिल्यै खोस्न लगाउनुभएको हो’, स्रोत भन्छ, ‘पूर्वयुवराजले पेस्तोल जस्तै देखिने लाइटर (लाइटर गन) बोक्ने गर्नुहुन्छ । सायद तर्साउनलाई त्यही देखाउनुभएको हुनसक्छ ।’


प्रतिक्रिया

3 thoughts on “विद्यालयका बस चालकको बयान: कलर समातेर ‘पेस्तोल’ ताक्नुभयो, बच्चाहरु रुन थाले

  1. ”राजा आउ देश बचाउ” भनेर जता ततै सुनिन थालेको छ । तर राजै पेस्तोल लिएर जनतालाई ताक्दै हिडेपछि कस्ले बचाउनी हो कोनि ? राजैले पेस्तोल ताक्दै ‘मार्दिम?’ भनेर हप्कि दप्कि लगाएपछि त पुलिस नि बोल्न नमिल्नी रे’छ। देशमा गणतन्त्र छ होईन र ? कि राजतन्त्र फर्कि सक्या हो ?

    1. कलर समातेर तान्ने मान्छेको अनुहार नचिनिने कस्तो टेक्नोलोजी आएच बजारमा?

  2. राजा नभई हुन्न भन्नेहरुले सवक सिकाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर