परीक्षार्थीले आफ्नै सवारीबाट किन ट्रायल दिन पाइरहेका छैनन् ? व्यवसायीको जिकिर- यो सम्भवै छैन – Nepal Press

परीक्षार्थीले आफ्नै सवारीबाट किन ट्रायल दिन पाइरहेका छैनन् ? व्यवसायीको जिकिर- यो सम्भवै छैन

काठमाडौं । आफ्नै सवारीसाधनबाट सवारी चालक प्रमाणपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाउनुपर्ने मुद्दा फेरि उठेको छ । परीक्षार्थीहरुले धेरै पहिलेदेखि आफ्नै सवारी साधनबाट ट्रायल दिन पाउनुपर्ने माग गर्दै आएका छन् ।

निजी ट्रायल सेन्टरमा परीक्षा दिन जानुपर्दा आफूहरु ठगिएको परीक्षार्थीहरुको पुरानै गुनासो हो । आफ्नै सवारीसाधन हुँदा पनि निजी सेन्टरको सवारीलाई पैसा तिरेर ट्रायल दिन बाध्य पार्नु ज्यादती भएको उनीहरुको भनाइ छ । परीक्षार्थीहरुका अनुसार कति ट्रायल सेन्टरहरु सरकारी मापदण्डअनुसार छैन । त्यस्ता सेन्टरहरुले समेत ट्रायलको नाममा महँगो शुल्क असुलिरहेको परीक्षार्थीहरुको गुनासो छ ।

उनीहरुका अनुसार कतिपय ट्रायल सेन्टरहरुले बिग्रिएका सवारीसाधन राख्ने गरेका छन, जसले ट्रायल दिने क्रममा बीचमै धोका दिएका धेरै घटना छन् ।
‘हामीले आफ्नै सवारीसाधनबाट किन ट्रायल दिन नपाउने ?’, ललितपुरको एकान्तकुनास्थित दुई पांग्रेको लाइसेन्सको लागि ट्रायल दिएर आएका एक परीक्षार्थीको प्रश्न थियो, ‘लाइसेन्स पाएपछि मैले चलाउने सवारीसाधन त मेरै हुन्छ, किन ट्रायल सेन्टरकै गाडी सधैं चढ्न पाइने हो ?’

उनले आफ्नै सवारी साधन हुँदाहुँदै थप पैसा तिरेर अर्को सवारीबाट ट्रायल दिन बाध्य पार्नु सरकारको ज्यादती भएको गुनासो गरे ।

‘आफ्नै साधन नहुनेलाई शुल्क लिएर ट्रायल दिने व्यवस्था गर्नु सरकारको दायित्व हो, त्यो व्यवस्था छँदैछ’, उनले थपे, ‘तर, आफ्नै साधन हुनेले पनि पैसा तिरी तिरी अर्को सवारीबाट ट्रायल दिन बाध्य पार्नु त ज्यादती र अन्याय नै हो ।’

सर्वसाधारणको दबाब बढ्दै गएपछि सरकारले आफ्नै बाइक, कार र बसलगायतका साधन प्रयोग गरी ट्रायल दिन सकिने व्यवस्था भन्दै आएको छ । तर, ट्रायल सेन्टरहरुले यो व्यवस्था कार्यान्वयनमा ल्याएका छैनन् । सरकारको निर्णय कार्यान्वयनमा नआएपछि राष्ट्रिय सतर्कता केन्द्रले समेत आफ्नै सवारीसाधनबाट ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

केन्द्रले माघ ५ गते सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै सवारी चालक अनुमतिपत्रको ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

केन्द्रले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत नेपालको कुनै पनि कानूनमा परीक्षार्थीहरुले प्रशिक्षण केन्द्रकै सवारीसाधन प्रयोग गर्नुपर्ने कुनै किसिमको बाध्यात्मक व्यवस्था उल्लेख नभएकोतर्फ ध्यानाकर्षण गराएको छ ।

ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारीसाधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो कार्यान्वयनको जानकारी उपलब्ध गराउनसमेत केन्द्रले निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सतर्कता केन्द्रको निर्देशन सम्बन्धित यातायात कार्यालयहरुलाई पठाइएको बताए । आफ्नै सवारीसाधनबाट ट्रायल दिने विषयको कार्यान्वयन प्रदेशका यातायात कार्यालयहरुले गर्ने उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आफ्नै सवारीसाधनबाट ट्रायल दिने व्यवस्थाको कार्यान्वयन छिटोभन्दा छिटो हुनुपर्ने बताए ।

महासंघले यो माग पहिलेदेखि नै गर्दै आएको उनको भनाइ छ । ‘लाइसेन्सको ट्रायल दिन जाँदा धेरै मान्छे ठगिएका छन् । त्यसैले आफ्नै सवारीबाट ट्रायल दिने व्यवस्था छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्‍यो’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘आफ्नै सवारी हुनेले पनि पैसा तिरेर ट्रायल दिन बाध्य पार्नु ठीक भएन ।’

तर, ट्रायल व्यवसायीहरु भने यो सम्भवै नरहेको जिकिर गर्छन् । लाइसेन्स नै नभएका व्यक्तिले आफ्नो सवारीसाधन रहेको भन्नु वैज्ञानिक नहुने उनीहरुको तर्क छ । उनीहरुका अनुसार लाइसेन्सविना सवारी चलाउनु गैरकानूनी हुन्छ । ट्रायलका बेला चलाएर ल्याएको सवारी दुर्घटनामा पर्नसक्ने व्यवसायीहरु बताउँछन् ।

सुजुकी ड्राइभिङ स्कुलका सञ्चालक राजन क्षेत्री सरकारले चाहे जसरी आफ्नै सवारीसाधनबाट ट्रायल दिने व्यवस्था गर्न नसकिने र वैज्ञानिक नहुने बताउँछन् ।

‘सरकारले भने जस्तो आफ्नै सवारीसाधनबाट ट्रायल दिने व्यवस्था लागू गर्न सम्भव छैन । लाइसेन्स नै नभएको व्यक्तिले आफूसँग सवारीसाधन छ भन्नु नै अवैज्ञानिक छ । ट्रायल दिन भनेर सवारी ल्याउँदा दुर्घटना भयो भने के हुन्छ ? राज्यले सोच्नु पर्दैन’, उनले भने, ‘सबै प्रकारका सवारीसाधनको प्राविधिक परीक्षण गर्न पनि सकिँदैन । ट्रायल दिने व्यक्तिले सवारीको स्टार्ट नै बन्द नहुने गरी ल्याए भने के गर्ने ? चोरीका सवारीसाधन पनि लिएर आउन सक्छ ।’

व्यवसायी क्षेत्रीले लाइसेन्स साधारण तरिकाले दिने विषय नै नभएको जिकिर गरे ।

‘अहिले जति पनि दुर्घटना भएका छन्, त्यो चालकको लापरबाहीले हो । सजिलै लाइसेन्स दिन थालियो भने अझै दुर्घटना बढ्नसक्छ’, उनले भने, ‘देशमा राम्रो ड्राइभिङ शिक्षा नै छैन । सरकारले कसरी राम्रा ड्राइभर उत्पादन गर्न सकिन्छ भन्नेतर्फ सोच्न ढिलो भइसक्यो ।’

हाल देशभर करिब ३० ठाउँमा लाइसेन्सको ट्रायल दिन पाइने व्यवस्था छ । केही ट्रायल सेन्टर सरकार आफैंले पनि चलाएको विभागले जनाएको छ । विभागका अनुसार आफ्नै सवारीबाट ट्रायल दिने व्यवस्था लुम्बिनी प्रदेश सरकारले भने लागू गरिसकेको छ । बाँकी प्रदेशहरुमा पनि क्रमश: कार्यान्वयनमा आउने विभाग बताउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *