ओलीको ‘ड्रिम प्रोजेक्ट’ सनराइज हलमा कांग्रेसको महामेला, पुत्लाले सम्झाएको संयोग – Nepal Press

ओलीको ‘ड्रिम प्रोजेक्ट’ सनराइज हलमा कांग्रेसको महामेला, पुत्लाले सम्झाएको संयोग

ललितपुर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको रायसिना डाइलगजस्तै ‘सगरमाथा संवाद’ अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्ने हुटहुटीका साथ रफ्तारमा निर्माण गराएको गोदावरी सनराइज हलमा साढे २ वर्षपछि लगभग एकैखाले दृष्य दोहोरिएका छन् ।

२०७८ असोज १५ गते यो हलमा पहिलोपटक नेकपा एमालेले औपचारिक कार्यक्रममारूपमा विधान महाधिवेशन आयोजना गरेको थियो । यसपटक नेपाली कांग्रेसले महासमिति बैठक आयोजना गरेको छ ।

अझ अर्को रोचक संयोग चाहिँ के दोहोरिएको भने- गोदाव‍रीमा त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला (कट्स) राखिएको विषयले राष्ट्रिय चर्चा पाएको थियो । जुन पुत्लासँग नेता कार्यकर्ताले तस्बिर खिचेका थिए । यसपटक नेपाली कांग्रेसको महासमिति बैठकमा पनि सभापति शेरबहादुर देउवाको त्यस्तै आकारको पुत्ला राखिएको छ ।

एमाले विधान महाधिवेशनताका राखिएको ओलीको कट्स ।

कांग्रेस संस्थापक नेताहरूको समेत पुत्ला राखिएको महासमिति बैठकस्थल फोटो सेसनका लागि आकर्षक बनेको छ । सनराइज हल एमालेपछि ठूला दलको तर्फबाट कांग्रेसले महासमिति बैठकस्थलकारुपमा रोजेको हो ।

सनराइज हल ओलीको ‘ड्रिम प्रोजेक्ट’

एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो प्रधानमन्त्रीत्वकालमा बुद्धपूर्णिमाको दिन लुम्बिनीमा थिए । सार्वजनिक कार्यक्रममा उनले सम्बोधन गर्ने बेला ठूलो हावाहुरी र पानी परेर टेन्टहरु उडाएपछि उनले तत्कालै घोषणा गरे- अब लुम्बिनी र काठमाडौंमा ५-५ हजार मान्छे अट्ने सभाहल बनाउछौं ।

ओलीको त्यो कार्यकाल घोषणामा मात्र सीमित भयो । त्यो घोषणा गरेको दुई महिना नबित्दै उनलाई प्रधानमन्त्रीबाट हटाइयो । ओली दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि सभाहल निर्माणको लागि हुटहुटी थाले । उनले आफ्नो टीमसँग उपयुक्त ठाउँ खोज्न आग्रह गरे ।

यसक्रममा बुटवलमा ५ हजार क्षमताको गौतमबुद्ध सभाहलको लागि विष्णु पौडेल लगायतका नेताहरूको पहलमा जग्गा भेटियो । काठमाडौं उपत्यकामा धेरै प्रयासपछि भक्तपुरको बोडेमा ५ हजार क्षमताको र लतिलपुरको गोदावरीमा ३ हजार क्षमताको हल बन्ने जग्गा भेटियो ।

बोडेमा जग्गा प्राप्तिको किचलो देखिएपछि ओलीले तत्कालै गोदावरीमा सभाहल बनाउने प्रक्रिया थाल्न निर्देशन दिए । सरकारी जग्गा भएकाले जग्गा प्राप्ति लगायका कानूनी प्रक्रिया तत्कालै क्याबिनेटबाट टुंगो लगाउने फास्ट ट्र्याक अपनाइएको तत्कालीन प्रधानमन्त्री ओलीका विकास मामिला विज्ञ इन्जिनियर गजेन्द्र थपलिया बताउँछन् ।

ओलीले २०७५ वैशाखभित्र सम्पन्न गर्ने गरी सभाहल बनाउन निर्देशन दिएपछि सरकारका सबै संयन्त्र सक्रिय भएका थिए । ५ महिनाभित्र ३ हजार मान्छे अट्ने सभाहल बनाउने भनेर टेण्डर आह्वान भएकोमा त्यस बीचमा कोभिड महामारी सुरू भएकाले योजना अनुसार काम हुन नसकेको थपलियाले बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ पुसमा शिलान्यास गरेको सो सभाहलको उद्घाटन २०७८ वैशाख ३१मा ओलीले नै गरे । खासमा सो सभाहल सगरमाथा संवादका लागि चाँडो बनाउने दबाब थियो । सरकारले जलवायु परिवर्तनको विषयमा गर्न लागेको सो अन्तर्राष्ट्रिय सम्मेलन कोभिडका कारण हुन सकेन ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर