कप्तान देव खनालको विश्वकप समीक्षा- राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा निराश छु (भिडिओ) – Nepal Press

कप्तान देव खनालको विश्वकप समीक्षा- राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा निराश छु (भिडिओ)

‘गुल्शन नेपालको महत्त्वपूर्ण खेलाडी हो, ब्याटिङमा नचले पनि बलिङ राम्रो गरेको छ’

काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना भएको यू-१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्ससम्मको यात्रा तय गर्‍यो । प्रतियोगितामा पाँचवटा टेस्ट राष्ट्रसँग भिड्ने अवसर पाएको नेपालले अफगानिस्तानलाई मात्रै हराएको थियो ।

समूह चरणमा पाकिस्तान र न्यूजिल्यान्डसँग हार व्यहोरेको नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै सुपरसिक्समा स्थान बनाएको थियो । यो जितमा नेपालका लागि कप्तान देव खनालले महत्त्वपूर्ण भूमिका निभाएका थिए । देवले प्रतियोगिताका अन्य खेलमा पनि राम्रो ब्याटिङ गरे, तर ठूलो स्कोर बनाउन भने सकेनन् ।

आज त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै पत्रकारले उनलाई घेरेर अफगानिस्तानसँग जित्दाको अनुभव सोधे ।

खनालले रोमाञ्चित भन्दै भने, ‘त्यो जित वर्णन नै गर्न नसक्ने थियो । हामीले जित्नैपर्छ भनेर खेलेका थियौँ । र, मलाई सुवास (भण्डारी) माथि भरोसा थियो । उसले प्रतियोगिताभरि नै बलिङ र ब्याटिङमा राम्रो गर्‍यो ।’

आफू अन्त्यसम्म टिकेर खेल्ने योजना बनाए पनि आउट बन्दा निराश भएको देवले बतायो । अन्य म्याचहरूमा पनि ठूलो स्कोर बनाउन नसकेकोमा उनलाई थकथकी छ ।

खनालले भने, ‘मैले सबै म्याचमा राम्रो स्टार्ट पाएँ । तर ठूलो स्कोर बनाउन सकिनँ । हरेक पटक ३०–३५ रनमा आउट भएँ । यसबाट चाहिँ एकदमै निराश छु ।’

नेपालले ब्याटिङमा अलिकति राम्रो गरेको भए थप १–२ म्याच जित्न सक्ने उनको आङ्कलन छ । विश्वकपबाट आफूले धेरै कुरा सिकेको उनले बताए ।

‘विश्वकपको चार्म नै बेग्लै हुन्छ । सुविधाहरूको हिसाबले पनि धेरै हुन्छ । टेस्ट राष्ट्रले कसरी ब्याटिङ र बलिङ गर्छन् भन्ने नियाल्न पाइन्छ । यो सिक्ने अवसर पनि हो । मैले हरेक म्याचबाट केही सिकेको अनुभव गरेँ । ठूलो स्कोर कसरी बनाउने भनेर पनि सिक्दै छु,’ खनालले भने ।

उनले टेस्ट राष्ट्रका बलरहरूले स्कोरको मौका नदिने र आफैंंले रन निकाल्नुपर्ने बताए । प्रतियोगितामा नेपालका केही खेलाडीहरूले राम्रो प्रदर्शन गरेको उनको भनाइ छ ।

खनालले भने, ‘आकाश, सुभास, अर्जुनले राम्रो गरे । गुल्शनको पनि बलिङ राम्रो भयो । उसको ब्याटिङ अलिकति चलेन । तर, सधैँ चल्छ भन्ने पनि हुँदैन । गुल्शन नेपालको महत्त्वपूर्ण खेलाडी हो । उसले नेपाललाई एक दिवसीय विश्वकप र एसिया कपमा पुर्‍याएको बिर्सिनु हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *