बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह – Nepal Press

बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह

रुपन्देही, कपिलवस्तु र नवलपरासीमा तीन दिन उत्सवमय बनाउन यस्ता छन् कार्यक्रम

रुपन्देही। बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव बनाउन आग्रह गरिएको छ । लुम्बिनी विकास कोषले २५६८ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उत्सवका रूपमा मनाइने भएको छ ।

तीनै जिल्लामा तीन दिने विविध कार्यक्रमसहित यो कार्यक्रम मनाउने र स्थानीयलाई पनि यो कार्यक्रममा सहभागी बनाउने लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषले मङ्गलवार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधवारदेखि तीन दिन लगातार विविध कार्यक्रम गरी मनाउने जनाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताए ।

उनले आफू लुम्बिनी बनाउने संकल्पका साथ लुम्बिनीमा आएको बताउँदै पवित्र लुम्बिनीको विकास र प्रवर्द्धनमा सम्पूर्ण सञ्चारकर्मीहरूलाई सहयोग गर्न आग्रह गरे ।

उपाध्यक्ष लामाले यो वर्ष बजेटको सुनिश्चित नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए ।

लामाले गुरुयोजना बनेको ४६ वर्षसम्म पनि सम्पन्न हुन नसक्नु संसारभरका बौद्धमार्गीहरुका लागि लज्जाको विषय भएको बताउँदै राज्यले बजेट सुनिश्चितता गर्न गरेको विलम्ब र विनियोजित बजेटको कार्यान्वयनमा पनि भएको विलम्बका कारण गुरुयोजना सम्पन्न हुन नसकेको जनाए ।

बजेट विनियोजन भएर ठेक्का लागेको काममा पनि ढिलासुस्तीका कारण अस्तव्यस्तजस्तो देखिएको बताउँदै उनले आफूले ठेकेदार कम्पनी र सम्बन्धित सरोकारवालालाई विशेष आग्रह गरेर काममा तीव्रता दिन सकेको बताए ।

‘म आउँदा गुरुयोजना अन्तर्गतका ठेक्का लागेका कामहरूको १०–१२ प्रतिशत काम भएकोमा ठेकेदारका कर्मचारी, इन्जिनियर र सरकारी कर्मचारीलाई हारगुहार गरेर ८०–९० प्रतिशत सम्पन्न गराउन सकेको छु, रातदिन खटिएर ८ महिनामा यो अवस्थामा पुराइएको छ’ उनले भने, ‘सरसफाइ र डुबानलाई विशेष ध्यान पुर्‍याइएको छ, सबैको साथ पाउनुपर्ने हो तर जे योजना ल्याए पनि विरोध किन हुन्छ मैले बुझेको छैन ।’

मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरूसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने छ ।

प्रचार प्रसार व्यवस्थापन उपसमितिका संयोजक एवम् कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए ।

बुधवार ९ गते साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ । मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षुभिक्षुणीहरुको सहभागितामा प्रार्थनासभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभा यात्रा हुने छ ।

लुम्बिनीमा ज्येष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्ने गरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्ध जयन्तीमा कोष र स्थानीय तहहरूले सहकार्य गरेको जनाइएको छ ।

कोषले भगवान् बुद्धको महत्त्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरूलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न कोषले अपिल गरेको छ ।

बजेटको सुनिश्चितता नहुँदा बुद्ध जयन्तीको तयारीमा ढिलाइ भए पनि अब तीन दिन भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरिएको कोषले जनाएको छ ।

बिहीबार ज्येष्ठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस’ विशेष समारोह गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मङ्गलवार नै लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी प्रेस क्लबले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटक प्रवर्द्धनमा मिडियाको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

उक्त अवसरमा कोषका उपाध्यक्ष डा। लामा, कोषाध्यक्ष भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राईलगायतले बोल्दै लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, कोषका प्रेस कसल्ट्यान्ट विनोद परियार, क्लबका महासचिव शंकर पोखरेलले बोल्दै मिडियासँग निरन्तर छलफल गर्नुपर्नेमा सुझाव दिएका थिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका बोर्ड सदस्यहरू राजेश शाक्य, श्याम रोक्का, सूचना अधिकारी राजन बस्नेत, नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलवस्तु र नवलपरासीका अध्यक्ष तथा प्रतिनिधि एवम् तीनै जिल्लाका पत्रकारहरूले विकास कोषको अहिलेसम्मको अवस्था र अबका योजनाका बारेमा सुझाव राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *