रोनाल्डो-मेस्सी भिडन्त कुरेका समर्थकलाई धोका – Nepal Press

रोनाल्डो-मेस्सी भिडन्त कुरेका समर्थकलाई धोका

काठमाडौं। समकालिन फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको भिडन्त कुरेर बसेका समर्थकले धोका पाए।

बिहीबार राती अमेरिकी मेजर लिग सकर(एमएलएस) क्लब इन्टर मियामी र साउदी अरबको प्रोफेसनल लिग क्लब अल नासरबीच भिडन्त तय हुँदा महिनौँदेखि समर्थकहरु मेस्सी र रोनाल्डोबीच एक साथ मैदानमा भिडेको हेर्ने आशाले टिकट लिएर बसेका थिए।

तर खेल सुरु हुन लाग्दा समर्थक निराश भए। रोनाल्डो र मेस्सी दुवै सुरुवाती टोलीमा थिएनन्। रोनाल्डो मैदानै उत्रिएनन् भने मेस्सी ८३ औँ मिनेटमा मात्र मैदान आएका थिए। यो खेल अल नासरले ६-० गोलले जित्यो।

मेस्सी उत्रनुअघि नै अल नासर ६-० गोलले अगाडि बढेको थियो। मेस्सी मैदानमा निष्प्रभावी देखिए। रोनाल्डोले भने टोलीका हरेक गोलमा खुसियाली साँटे।

मेस्सीले भने मांसपेशीको समस्याका कारण सुरुवाती-११ मा समावेश हुन नचाहेपछि उनलाई बेन्चमा राखिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अल नासरले चोटका कारण रोनाल्डोलाई आराम दिनुपरेको उल्लेख गरेको छ। रियादस्थित २६ हजार दर्शक क्षमताको किङडम एरिनामा यो खेल भएको थियो। रोनाल्डो र मेस्सीले झन्डै १५ वर्ष विश्व फुटबलमा दबदबा बनाएका थिए। उनिहरु झन्डै एक दशक स्पेनिस ला लिगामा भिडेका थिए। रोनाल्डोले सन् २०१८ मा रियल म्याड्रिड छाडेपछि यी दुई खेलाडीको भेट पातलिन थालेको थियो।

सन् २०२१ मा मेस्सीले पनि बार्सिलोना छाड्दै फ्रान्सको पेरिस सेन्ट जर्मन पुगेका थिए। त्यसयता पीएसजी साउदी अरबमा आएका बेला मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा हुने अवसर जुरेको थियो।त्यसपछि उनिहरु मैदानमा आमने सामने भएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *