त्रिवि मैदानमा वेस्ट इन्डिज ‘ए’ को रन वर्षा- सबै बलर पिटिँदा गुल्शन ओभानो – Nepal Press

त्रिवि मैदानमा वेस्ट इन्डिज ‘ए’ को रन वर्षा- सबै बलर पिटिँदा गुल्शन ओभानो

कप्तान दीपेन्द्रले किन फ्याँकेनन् बल ?

काठमाडौं । नेपालविरुद्धको तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज एले त्रिवि क्रिकेट मैदानमा रन वर्षा गर्‍यो । ब्याटिङमैत्री पिचमा वेस्ट इन्डिजका बाहुबली ब्याट्सम्यानहरूले नेपाली बलिङको धज्जी उडाए ।

टी-२० विश्वकपको स्क्वाड छान्नुअघि नेपालले आजको खेलमा थुप्रै परिवर्तन गरेको थियो । दुई खेलमा नेपालको इज्जत जोगाएका कप्तान रोहितकुमार पौडेलले आफूलाई बेञ्चमा राखे । नेपालको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरेका थिए ।

प्रमुख फास्ट बलर सोमपाल कामीलाई बाहिर राखेर कमलसिंह ऐरीलाई मौका दिइएको थियो भने प्रमुख स्पिनर ललित राजवंशीको स्थानमा सागर ढकाललाई खेलाइएको थियो ।

तर, बलरहरूले आज निराश बनाए । वेस्ट इन्डिजको आक्रमणलाई न फास्ट बलिङले थेग्न सक्यो न स्पिनले । प्रमुख फास्ट बलर करण केसी सबैभन्दा महँगा बने । उनले ४ ओभरमा ५४ रन खाए र एक विकेट लिएर नाक जोगाए । कमल सिंह ऐरीले पनि ४ ओभरमा ५३ रन खर्च गर्दा कुनै विकेट लिन सकेनन् ।

नेपाललाई थोरै राहत भने गुल्शन झाको बलिङबाट मिल्यो । तेस्रो फास्ट बलरका रूपमा प्रयोग गरिएका गुलशनले अनपेक्षितरुपमा किफायती बलिङ गरे । उनले ४ ओभरको पूरा कोटा बलिङ गर्दा २४ रन मात्रै खर्चिए । चौतर्फी रन वर्षा भइरहेको खेलमा उनको यो बलिङ उत्कृष्ट थियो ।

गुल्शनको यो प्रदर्शन नेपालका लागि निकै महत्त्वपूर्ण छ । उनी टी-२० विश्वकप खेल्ने नेपाली टिममा एक अलराउन्डरको भूमिकामा रहनेछन् । ब्याटिङमा नेपालले उनीबाट धेरै आशा गरेको छ भने यदि बलिङबाट पनि योगदान दिन सके भने त्यो ठूलो बोनस हुने छ । यसै पनि नेपालको फितलो फास्ट बलिङ विश्वकपमा धुजाधुजा हुने खतरा छँदै छ ।

नेपाल सबैभन्दा बलिया पक्ष भनेको स्पिन बलिङ हो । तर, आजको खेलमा नेपालका स्पिनरहरूले पनि कुनै जादु दुखाउन सकेनन् । प्रमुख स्पिनरको रूपमा खेलाइएका सागर ढकालले एक विकेट लिए, तर वेस्ट इन्डिजको रन गति रोक्न उनी पनि असमर्थ भए । उनले ४ ओभरमा ४१ रन खर्चिए । पार्ट टाइम स्पिनर कुशल मल्लले पनि २ ओभरमा २६ रन बगाए ।

कप्तान दीपेन्द्र सिंह ऐरीले आफूलाई बलिङमै उतारेनन् । सायद नेपालले आजको म्याच जित्ने भन्दा पनि खेलाडीहरूलाई परीक्षण गर्ने रणनीति लिएको छ । विश्वकप स्क्वाडमा समेट्न वा नसमेट्ने निर्णय लिनका लागि हुन सक्छ, नेपालले कमल सिंह ऐरी र सागर ढकाललाई पूरा कोटा बलिङ गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *