कालीगण्डकीका शिलाको उत्खनन रोक्न ‘भगवान नाम’ चित्राङ्कन (तस्बिरहरू)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/05/kaligandaki-9-e1716285980320.jpg)
काठमाडौं । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला नदी दोहनका कारण अस्तित्व संकटमा परेका कारण शालिग्राम शिला र सिङ्गो नदी प्रणाली बचाउन नदीका शिलाको नामाङ्कन तथा चित्राङ्कन सुरु गरिएको छ ।
आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔँ अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । कार्यक्रममा सयौँको संख्यामा मानिसहरूले गण्डकी स्नान गरी हरिहर नाम संकृतन गर्दै शालिग्राम भगवानको विभिन्न अवतारका नाम शिलाङ्कित गरेका हुन ।
कुनै हालतमा पनि कालीगण्डकी उत्खननको काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔँ अभियान र प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले म्याग्दीको प्रसिद्ध गलेश्वर धामबाट पर्वत कुस्मा बजारसँग जोडिएको पवित्र मोदीवेणीधामसम्मको बागर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा ‘शालग्राम नाम’ चित्राङ्कन गरिएको छ ।
कालीगण्डकी उधिनेर शीलार बालुवा– गिट्टी ओसारेको दृश्य पर्वत जलजला गाउँपालिका आसपासका बासिन्दाका लागि अहिले सामान्य भएको छ। उनीहरूका अनुसार रातभर बालुवा–गिट्टी निकाल्ने गर्दा नदीको सुरक्षा कवच मानिने बगरहरू अहिले रित्ता देखिन्छन् ।
वार्षिक ८०-९० करोड घन मिटर माल निकासी हुने अनुमान कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता आरके अदीत्प गिरीले बताए । नदी दोहनमा विभिन्न प्रभावशाली मानिसको संलग्नता भएको दाबी गर्दै उनले भने, ‘स्थानीयवासीले निरन्तर खबरदारी गर्दा पनि यस्तो अवैध ठेक्कापट्टा रोकिएको छैन।’
विगत चार दशक देखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण आज कालीगण्डकी नदी कुरूप बन्दै गएको छ । नदी र खोलाहरूको किनारै किनार खनिएको सडक तथा त्यो सडकसँगै आएको अव्यवस्थित शहरीकरण, जनस्वास्थ्यको ख्याल नगरी खोलिएका व्यवसाय र वातावरणीय प्रभाव मूल्याङ्कन विनाका उद्योगहरूले मानव तथा प्राणी जगत् अचाक्ली जोखिममा परेका छन् ।
पवित्र कालीगण्डकी माताको पवित्रता र स्वच्छता एवं चक्रांकित र निस्चक्रांकित शालिग्राम शिलाको संरक्षण र नदी दोहन रोक्नका लागि कार्यक्रम आयोजना गरिएको अभियन्ता आरके अदीप्त गिरीले बताए ।
कालीगण्डकी दोहनसँगै यहाँ कालीगण्डकी करिडोर अन्तर्गत आसपासका खोल्साखोल्सी, वनजङ्गल-चउर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक स्कुल क्षेत्र आदिको समेत दोहन भएको छ । जताततै डाँडा पहाडहरू विरूप वनेका छन् । अधिकांश क्रसरहरू जिल्लाका नेता, पालिका प्रमुख, कर्मचारी र व्यवसायीहरूको संयुक्त लगानीमा चलेको कारण कानुन मिच्ने कुरा यहाँ सामान्य बनेको छ ।
सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् नगर्न/नगराउन र काली नदीमाथिका सबै हस्तक्षेप बन्द गर्न आदेश दिएको छ । तर यहाँ नदी तथा पानी क्षेत्रको बहावमा जथाभाबी उत्खनन गर्ने, मलमूत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फडानी र बालुवा तस्करहरूको नाजायज तस्करी धन्धाको चपेटामा कालीगण्डकी नदी परेको छ ।
कुनै एक क्षेत्रको विकास र समृद्धिका लागि भनेर शुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजनाले अरु क्षेत्रका सामाजिक, सांस्कृतिक, जैविक विविधता तथा पर्यावरणमा नकारात्मक असर पुग्ने र एउटा सभ्यता नै विनाश हुने चिन्ता उनीहरूको छ ।
विश्वभरका हिन्दूले कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई भगवान् विष्णुको रूपमा पुज्दै आएका छन् । यो नदीलाई हिन्दू र बौद्धधर्मावलम्बी सबैले पवित्र नदीका रुपमा लिने गर्दछन् । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र र अलौकिक क्षेत्र मान्दछन् । त्यसै गरी कालीगण्डकीको अर्को शिर दामोदर कुण्डलाई पनि निकै आस्थाले पुज्ने गरिन्छ ।
कालीगण्डकीको जलाधार क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरि, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने ८ हजार देखि ६ हजार मिटर सम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला रहेका छन् ।