यू-१९ विश्वकप- ‘गर वा मर’ को स्थितिमा नेपाल, अफगानिस्तानविरुद्ध चल्ला गुल्शनको ब्याट ? – Nepal Press

यू-१९ विश्वकप- ‘गर वा मर’ को स्थितिमा नेपाल, अफगानिस्तानविरुद्ध चल्ला गुल्शनको ब्याट ?

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । दुवै टीम ‘गर वा मर’ को स्थितिमा छन् ।

नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग पराजय भोगेकाले आजको म्याचमा जसले जित्छ, उनी सुपर सिक्समा जाने सरल समिकरण बनेको हो । हार्ने टीम प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान नेपालभन्दा बलियो हो । तर, यू १९ विश्वकप क्रिकेट इतिहासमा नेपालले थुप्रै टेस्ट राष्ट्रहरूलाई मात दिएको इतिहास छ । त्यसैले नेपाली समर्थकहरू अफगानिस्तानलाई स्तब्ध पारेर नेपाल सुपर ६ मा पुग्नेमा आशावादी देखिन्छन् ।

विश्वकपको समूह चरणमा नेपाल तीनवटा टेस्ट राष्ट्रसँग भिडिरहेको छ । नेपालले पहिलो खेल न्युजिल्यान्ड र दोस्रो पाकिस्तानविरुद्ध खेलेको थियो । न्युजिल्यान्डलाई नेपालले बलियो चुनौती दिन सकेन । पहिले ब्याटिङ गरेर न्युजिल्यान्डले ३०२ रनको विशाल स्कोर खडा गरेको थियो । नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डविरुद्धको बिर्सनलायक म्याचमा नेपालका लागि ओपनर अर्जुन कुमालले भने सम्झनलायक प्रदर्शन गरे । सबै ब्याट्सम्यानहरूले न्युजिल्यान्डको बलिङसामु आत्मसमर्पण गरिरहँदा कुमाल एक्लैले कडा संघर्ष गरेका थिए । उनले १०४ बलमा ९० रन बनाएका थिए । कुमालको इनिङले नेपाली टीमलाई नै प्रेरणा दिएको छ । नेपालका ब्याट्सम्यानले धैर्य र सुझबुझसाथ खेल्दा धारिलो बलिङ आक्रमणको पनि सामना गर्न सक्छन् भन्ने उनले देखाएका छन् ।

दोस्रो म्याचमा पाकिस्तानलाई नेपालले त्रासमा राख्न सफल भयो । पहिले ब्याटिङ गरेर नेपालले सम्मानजनक १९७ रन जोडेको थियो । लक्ष्य भेट्टाउन पाकिस्तानले ४७।४ ओभर खेलेर ५ विकेट गुमाउनुपर्‍यो । एक समय पाकिस्तानले १०४ रनमा ४ विकेट गुमाएर दबाबमा परेको थियो । तर, पाकिस्तानी ब्याट्सम्यानहरूले परिपक्वता देखाएर संयमित तवरले ब्याटिङ गरे । नेपालको बलिङ आक्रामणले पाकिस्तानको ब्याटिङ पर्खाल हल्लाए पनि ढाल्न सकेन ।

अफगानिस्तान पनि उत्तिकै बलियो टीम हो नेपालको लागि । यद्यपि, यसअघिका दुई म्याचमा अफगानिस्तानले पनि गतिलो प्रदर्शन गर्न सकेको छैन । पाकिस्तानविरुद्धको म्याचमा अफगानिस्तानले १८१ रनको फराकिलो हार व्यहोरेको थियो । उक्त म्याचमा पाकिस्तानले दिएको २८५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १०३ रनमै अलआउट भयो ।

न्युजिल्यान्डलाई भने अफगानिस्तानले आच्छु-आच्छु पारेको थियो । न्युजिल्यान्डले अफगानिस्तानलाई केवल ९१ रनमा अलआउट गर्यो । तर, अफगानिस्तानको धारिलो बलिङमा ९२ रनको झिनो लक्ष्य पनि न्युजिल्यान्डका लागि पहाड बनेको थियो । न्युजिल्यान्डले ९ विकेट क्षतिमा लक्ष्य भेट्यो ।

दुवै म्याचमा अफगानिस्तानको प्रदर्शन हेर्दा ब्याटिङ त्यति राम्रो लयमा देखिँदैन, जसको फाइदा नेपालले उठाउन सक्छ । तर, न्युजिल्यान्डलाई ९१ रनमा अलआउट गर्न सफल अफगानिस्तानको बलिङको नेपालले कसरी सामना गर्छ भन्ने महत्वपूर्ण छ । नेपालको ब्याटिङ पनि त्यति भरपर्दो देखिएको छैन ।

नेपालले टीममा सबैभन्दा बढी आशा गरेका ब्याट्सम्यान गुल्शन झा चल्न नसक्नु सबैभन्दा चिन्ताको विषय बनेको छ । यसअघिका दुवै म्याचमा उनी फ्लप भए । न्युजिल्यान्डविरुद्ध १० बलमा २ रन जेडेर आउट भएका गुल्शनले पाकिस्तानविरुद्ध ४७ बल खेल्दा १८ रनमात्र जोड्न सके । दुईवटा म्याचमा उनले एउटा पनि बाउन्ड्री प्रहार गरेका छैनन् ।

आक्रामक शैलीका लागि चिनिने गुल्शन बलिया टिमहरुलाई पनि अत्याइदिन सक्ने क्षमता भएका ब्याट्सम्यान हुन् । तर, यू १९ विश्वकपमा उनको ब्याटले आत्मविश्वास गुमाइरहेको छ । बलिङमा भने गुल्शनले सन्तोषजनक प्रदर्शन गरिरहेका छन् ।

नेपालको अर्को चिन्ता भनेको दिपेश कँडेलको बलिङ पनि हो । नेपालको यू-१९ टीमका सबैभन्दा सफल र खतरनाक बलरको छवि बनाएका दिपेश यो प्रतियोगितामा फितलो प्रदर्शन गरिरहेका छन् । मुख्य कुरा विकेट नै स्पिनरका लागि त्यति फलदायी देखिएको छैन । दीपेशले दुई खेलमा एक-एक विकेटमात्र लिन सके । न्युजिल्यान्डविरुद्धको खेलमा उनी महंगा बनेका थिए । पाकिस्तानविरुद्ध कसिलो बलिङ गरे पनि एक विकेटमै चित्त बुझाउनुपर्‍यो ।

यी दुई खेलाडी आफ्नो रेगुलर लयमा फर्किए भने पक्कै पनि अफगानिस्तानविरुद्धको खेलमा नेपालको सम्भावना बलियो बन्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर