कोशीमा राष्ट्रियसभा निर्वाचनकाे ट्विस्ट: सिटौलालाई राप्रपा-एमालेको माया, रुक्मिणीलाई गठबन्धनको साथ – Nepal Press

कोशीमा राष्ट्रियसभा निर्वाचनकाे ट्विस्ट: सिटौलालाई राप्रपा-एमालेको माया, रुक्मिणीलाई गठबन्धनको साथ

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज कोशीमा भएको मतदानमा सत्ता गठबन्धन र एमाले-राप्रपा दुवैतर्फबाट फ्लोर क्रस भएको छ । महिलातर्फ भएको मतदानमा सत्ता गठबन्धनका ३ प्रदेश सांसद र १५ प्रमुख/उपप्रमुखले फ्लोर क्रस गरेका छन् । जसको परिणाम एमालेकी रुक्मिणी कोइराला विजयी भइन् ।

फ्लोर क्रस भएपछि सत्ता गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार चम्पादृृेवी कार्की पराजित भइन् ।

अन्य कोटातर्फ पनि फ्लोर क्रस भएको छ । एमाले र राप्रपाबाट स्थानीय तहमा विजयी भएका ७ जना प्रमुख/उपप्रमुखले फ्लोर क्रस गरेका हुन् । अन्य कोटाबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए । सत्ता गठबन्धनको तर्फबाट काङ्ग्रेसका सिटौलालाई प्रदेशसभाका ४५ जनाले मतदान गरे ।

कोशी प्रदेशसभामा सत्ता गठबन्धनका ४७ जना सांसद छन् । जसमध्ये २ जनाले सिटौलालाई मतदान गरेनन् ।

यस्तै एमाले-राप्रपाको गठबन्धनका उम्मेदवार राप्रपाका उद्धव पौडेललाई ४७ जना प्रदेश सांसदले मतदान गरे । कोशीमा राप्रपाका ६ र एमालेका ४० प्रदेश सांसद छन् ।

यहाँ राप्रपासँग गठबन्धन भएपछि ब्याक गराइएका एमालेका उम्मेदवार परशुराम अधिकारीले समेत १ मत पाए । निर्वाचन हुनु दुई दिनअघि राप्रपा र एमालेबीच तालमेल भएको थियो । तालमेलअनुसार महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई राप्रपाले र अन्यतर्फ राप्रपाका उम्मेदवार पौडेललाई एमालेले मतदान गर्ने सहमति भएको थियो ।

उक्त सहमतिपछि पनि अधिकारीलाई कसले मत हाल्यो ? उनलाई स्थानीय तहका ५ जनाले समेत मत हालेका छन् ।

स्थानीय तहतर्फबाट राप्रपा-एमालेका प्रमुखउप प्रमुखहरुले फ्लोर क्रस गर्दै सत्ता गठबन्धनका सिटौलालाई मत दिएका छन् । सिटौलालाई १५३ जना स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गरेका छन् । पौडेललाई १०९ जना प्रमुख/उपप्रमुखले मत हाले ।

कोशीमा एमालेका ११२ र राप्रपाका ४ जना प्रमुख/उपप्रमुख छन् । फ्लोर क्रस नभएको भए पौडेलले एमाले-राप्रपाका ११६ जनाकै मत पाउँथे । तर, उनलाई ७ जना प्रमुख/उपप्रमुखले मत नहालेको निर्वाचन परिणामले देखाउँछ ।

कोशीमा सबैभन्दा बढी कांग्रेसका ११३ जना स्थानीय तहका प्रमुख/उपप्रमुख छन् । माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना प्रमुख/उपप्रमुख छन् ।

तीमध्ये कांग्रेसका २ जना प्रमुख मतदानमा उपस्थित हुन सकेनन् । झापा गाउँपालिकाका अध्यक्ष जयप्रकाश साहा भ्रष्टाचार मुद्दा परेकाले निलम्बनमा छन् भने मोरङको ग्रामथानका अध्यक्ष जयप्रकाश चौधरी बिरामी भएका कारण मतदान गर्न आउन सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर