निमित्तको भरमा स्थानीय तह : तलकोटमा स्वास्थ्यकर्मीलाई प्रशासकीय अधिकृतको जिम्मा – Nepal Press

निमित्तको भरमा स्थानीय तह : तलकोटमा स्वास्थ्यकर्मीलाई प्रशासकीय अधिकृतको जिम्मा

कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये अहिले पनि आधाभन्दा बढी निमित्तको भरमा चलिरहेको छ । दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले खटाउनुपर्ने भएपनि जनशक्ति व्यवस्थापनमा उदासीनताका कारण स्थानीय तहका काम कारबाहीसमेत प्रभावित भइरहेको छ ।

यस्तै हालतबाट गुज्रिरहेको छ अहिले बझाङको दुर्गम तलकोट गाउँपालिका । प्रमुख प्रशासकीय अधिकृतको लागि प्रशासन (सातौँ) तहका व्यक्तिको दरबन्दी रहेकोमा पालिकामा दरबन्दीअनुसार कर्मचारी नहुँदा काममा असर परिरहेको उपाध्यक्ष पार्वती कुवर भण्डारीले जानकारी दिइन् ।

‘दुर्गम भएको हुँदा यहाँ हाकिम आउन चाहँदैनन्, आए पनि बस्न मान्दैनन्’ उनले भनिन् ।

स्थानीय तहको सुरूमा शिशिर रिजाल प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका थिए । त्यसपछि लामो समय स्वास्थ्य शाखाका शिद्धराज भण्डारीले निमित्त चलाए । केही समयअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका श्रीदेव यादव एक महिना पनि बसेनन् । त्यसपछि फेरि अहिले पालिका निमित्तको भरमा छ ।

‘पहिलो पटक निमित्तबाट दरबन्दी अनुसारका हाकिम आउनुभएको थियो उहाँ पनि धेरै बस्नु भएन उपाध्यक्ष’ भण्डारीले भनिन् ‘फेरि निमित्तबाट काम गर्नुपर्ने बाध्यता आइलाग्यो ।’

सातौं तहका प्रशासनका व्यक्तिको खोजी भए पनि नपाइएपछि अहिले संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखा प्रमुख केशवराज जैशीलाई निमित्तको जिम्मेवारी तोकिएको छ । जैसी स्वास्थ्यतर्फका छैटौँ तहका कर्मचारी हुन् । यहाँ अन्य दुई स्वास्थ्यकै छैटौं र प्रशासनका पनि छैटौं तहका कर्मचारी छन् । जैसी स्वास्थ्य शाखा प्रमुख रहेकै बेला निमित्त रहेका सिद्धाराज भण्डारी पनि अहिले पालिकामै छन् भने अर्का नरजित खड्का र प्रशासन तर्फका केशव भट्ट पनि छन् । सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी नखटाउँदासम्म आफूलाई निमित्तको जिम्मेवारी दिइएको जोशीले बताए ।

‘अन्य तीनजना पनि छैटौँ तहको हुनुहुन्छ तर, म सिनिअर भएको हुँदा मलाई जिम्मेवारी दिइएको हो । दरबन्दीअनुसारको कर्मचारी नआउँदासम्म म नै रहन्छु ’, उनले भने ।

उनी आफू कार्यरत रहेकामध्ये सबैभन्दा वरिष्ठ भएको हुँदा निमित्तको जिम्मेवारी पाएको बताउँछन् ।

केही समयअघि सम्म नरबहादुर ठगुन्ना दार्चुलाका तीनवटा कार्यालयको हाकिम थिए । ठगुन्नाले जिल्ला समन्वय समिति दाचुर्लाको जिल्ला समन्वय अधिकारी, महाकाली नगरपालिका र दुँहु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरे ।

यसैगरी पदमराज उपाध्याय पनि बझाङका दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । उनले बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली रहेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन समूहका शाखा अधिकृत अर्थात् ७औँ तहको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेस्रो स्थानीय तह डिलाशैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको थियो ।

अवस्थीलाई जिल्लाको सिगास गाउँपालिकामा थप जिम्मेवारी गर्ने गरी पत्र पठाएको तेस्रो दिन नै थप डिलाशैनी गाउँपालिका हेर्ने जिम्मेवारी दिएको थियो । अहिले सुर्नयाबाहेकका अन्य दुई पालिकाको जिम्मेवारीमा उनी नै छन् ।

संघीय सरकारले आवश्यकता अनुसार दरबन्दी सृजना गर्न नसक्दा कतै एकै व्यक्तिले दुईदेखि तीन वटासम्म कार्यालय हेर्नु परेको छ भने कतै पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ । कतिपय स्थानीय तहमा स्वास्थ्य र शिक्षा समूहका शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सञ्चालन गरिरहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी व्यवस्था राखिएको छ । त्यसको उपदफा ३ मा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति कानुन बमोजिम हुने उल्लेख छ तर, अहिलेसम्म उक्त कानून बनेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर