कोशीमा एमाले-राप्रपाको तालमेल हुँदै, सिटौलालाई झस्का – Nepal Press
राष्ट्रियसभा निर्वाचन

कोशीमा एमाले-राप्रपाको तालमेल हुँदै, सिटौलालाई झस्का

विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । कोशी प्रदेशमा राप्रपाले सभामुख पद लिएपछि एमाले र राप्रपाका बीचमा केही खटपट देखिए पनि राष्ट्रियसभा निर्वाचनमा पुन: दुई दल सहकार्य गरेर अघि बढ्ने भएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा राप्रपाले कोशीमा महिलातर्फ कसैलाई उम्मेदवार बनाएको छैन । अन्य तर्फबाट भने उद्धव पौडेललाई अघि सारेको छ । एमालेले उद्धव पौडेललाई सघाउने र महिलातर्फ एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने दुई दलबीच सहमति बनेको छ ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने,‘लगभग सहमति भएको छ । आज घोषणा हुन्छ । पत्रकारहरूलाई खबर गर्छौं ।’

कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनका लागि अन्य तर्फबाट एमालेका परशुराम अधिकारी उम्मेदवार छन् । सत्ता गठबन्धनको मतभार बलियो भएकाले एक्लै जाँदा जित्ने अवस्था नभएपछि राप्रपासँग तालमेल गरिएको एमाले स्रोतले बतायो । एमालेले अधिकारीलाई ब्याक गराउने र महिलातर्फकी उम्मेदवारलाई जिताउने रणनीति बनाएको छ ।

कोशी प्रदेशमा हाल कोशीमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।

राष्ट्रियसभामा प्रदेशसभाका सदस्यको मतभार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मत भार १९ रहेको छ । कोशी प्रदेशमा मतदाताको कूल मतभार १० हजार १३५ रहेको छ ।

कोशी प्रदेशको सबैभन्दा ठूलो पार्टी एमाले हो, जोसँग छन् ४० सांसद । त्यसपछि क्रमशः कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ प्रदेशसभा सांसद रहेका छन् । यी सबै गरेर प्रदेश सांसदहरूको कूल मत भार ४ हजार ९२९ हुनेछ ।

स्थानीय तहतर्फ यस प्रदेशमा १३७ वटा पालिका रहेका छन् । त्यसमा सबैभन्दा बढी नेपाली कांग्रेसका ११३ जना प्रमुख–उपप्रमुख छन् । दोस्रोमा एमालेका ११२, माओवादीका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४-४ र स्वतन्त्र ३ जना रहेका छन् । कुल मिलाएर स्थानीय तहका २७४ जनप्रतिनिधिको जम्मा मत भार ५ हजार २०६ रहेको छ ।

प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ । बाँकी रहेका एमाले-राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४हजार ६९९ हुने छ ।

सिटौलालाई झस्का

सत्ता गठबन्धनले भने अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । महिलातर्फ भने माओवादीकी चम्पादेवी कार्कीलाई अघि सारिएको छ ।

एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवार उठाउँदा सहज ठानेका सिटौलालाई तालमेलले भने चुनौती थपिएको छ । कांग्रेसभित्रको आन्तरिक किचलो अझै मिलिनसकेको र एकीकृत समाजवादी पनि सत्ता गठबन्धनसँग रुष्ट देखिएकाले सिटौलालाई थप चुनौती देखिएको गठबन्धनकै नेता-कार्यकर्ता लख लगाउँछन् ।

अघिल्लो पटक राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार भएका जसपाका हेमराज राई कम्फर्टेबल बहुमतकै बीच पनि हारेका थिए ।

राप्रपा र एमालेको तालमेल हुँदा मतभार धेरै फरक नभएकाले सहजै जित्नेमा ढुक्का रहेका सिटौलालाई समस्या देखिएको छ ।

असोजको २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बन्न केदार कार्कीले पार्टीभित्रैबाट विद्रोह गरेका थिए । उनीसहित ८ संसद् लिएर विद्रोह गरेका कार्कीलाई एमालेको समर्थन थियो । पार्टीमा विद्रोह गरेका ८ जना प्रदेशसभा सदस्यलाई कारबाही गरिनुपर्छ भनेर सिटौलाले पार्टी सभापति देउवा समक्ष कारबाहीका लागि दबाब बढाएका थिए । यो बाहेक कोशी प्रदेशमा उनीनिकट उद्धव थापालाई कोशी प्रदेश संसदीय दलको नेता बनाएकोमा समेत असन्तुष्टि छ ।

थापा संसदीय दलको नेता भएपछि २ पटक मुख्यमन्त्री नियुक्त भएका थिए । एक पटक बहालवाला सभामुखको हस्ताक्षर गराएर बहुमत देखाएका थापाले अर्को पटक भने, सभा सञ्चालन गरेका सभा अध्यक्षलाई विश्वासको मत पुर्‍याउन मतदान गराएका थिए ।

उनलाई दुवै पटक अदालतले बरखास्त गरेपछि पार्टीको छवि गिराएको भन्दै कोशी प्रदेशमा सिटौला समूहको आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर