लुम्बिनी आएका पर्यटकलाई सुपादेउरालीसम्म पुर्‍याउनुपर्छ: राज्यमन्त्री श्रीपाली – Nepal Press

लुम्बिनी आएका पर्यटकलाई सुपादेउरालीसम्म पुर्‍याउनुपर्छ: राज्यमन्त्री श्रीपाली

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले पर्यटनको तत्कालीन, अल्पकालीन र दीर्घकालीन गुरुयोजना बनाएर लाग्नुपर्ने बताएकी छन् ।

रिपोटर्स क्लबले आज सन्धिखर्कमा गरेको कार्यक्रममा उनले नेपालमा पर्यटन धेरै सम्भावना बोकेका क्षेत्र रहेकोले पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने बताइन् ।

मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचारप्रसारका माध्यमबाट जिल्लालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन अगुवाइ गरेकोमा नेपाल पत्रकार महासंघलाई धन्यवाद दिइन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रवर्द्धन अभियानमा सबैले साथ दिनुपर्ने बताउँदै उनले लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुँदै अन्य क्षेत्रमा पुर्‍याउन सके जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गरिन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रवर्द्धन अभियानको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सन्धिखर्क पुग्ने कार्यक्रम छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले जिल्लाको पर्यटन विकासमा प्रदेशको तर्फबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा पहल गर्ने बताए ।

जिल्ला समन्वय समितिका सभापति जीवनारायण कोइरालाले प्रधानमन्त्री दाहाललाई जिल्लाका महत्वपूर्ण विकास आयोजनाको निर्माणका विषयमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनालले जिल्लाका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण नहुँदा पर्यटन विकासले गति लिन नसकेको र जिल्लाको विकासमा सबैको साझा एजेन्डा बनाउनुपर्ने सुझाव दिए ।


प्रतिक्रिया

One thought on “लुम्बिनी आएका पर्यटकलाई सुपादेउरालीसम्म पुर्‍याउनुपर्छ: राज्यमन्त्री श्रीपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर