बम्जनको घरमा भेटिएको साढे ३ करोड रकम के हुन्छ ? – Nepal Press

बम्जनको घरमा भेटिएको साढे ३ करोड रकम के हुन्छ ?

काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले हिजो बूढानीलकण्ठको घरबाट पक्राउ गरेसँगै उनको घरबाट स्वदेशी र विदेशी गरी साढे ३ करोड जति नगद बरामद भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार विभिन्न १७ देशको मुद्रा ३ करोड ३४ लाख ६७ हजार ९०६ रूपैयाँ बराबरको विभिन्न देशको पैसा बरामद भएको छ । त्यसमध्ये नेपाली रूपैयाँ ३ करोड ४ लाख जति थियो । त्यसपछि अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनियाँ युआन ५ लाख भन्दा बढीको रहेको छ ।

अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रूपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि फेला परेको छ ।

यत्रो परिमाणमा बरामद रकम के हुन्छ भन्ने चासो मेट्न हामीले नेपाल राष्ट्र बैंकसँग बुझ्यौं । सूचना अधिकारी डिलिराम पोखरेलले बैंकिङ च्यानलमा पैसा आउँदामात्रै कहाँबाट र कसरी आयो भन्ने हुने भन्दै घरमा व्यक्तिले राख्ने पैसाको विषयमा राष्ट्र बैंकको अधिकार क्षेत्रमा नपर्ने बताए ।

‘घरमा पैसा राख्ने विषयमा स्वायम व्यक्तिको निर्णय रहेको सक्ने र बैंकमा एकै पटक धेरै पैसा आयो भने मात्रै त्यसको अध्ययन हुने हो । घरमा राखेको पैसको विषयम केही गर्न नमिल्ने र विदेशी पैसा नक्कली वा सक्कली हो भनेर अध्ययन हुनेछ’, उनले नेपाल प्रेससँग भने ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनाली बम्जनको घरबाट प्रहरीले बरामद गरेको पैसा राजस्व अनुसन्धानबाट हुने बताउँछन् ।

उनले भने, ‘स्वदेशी र विदेशी पैसा प्राप्तीको स्रोत र व्यवस्थापनमा प्रहरीले सुरूमा अनुसन्धान गर्छ । त्यसपछि राजस्व अनुसन्धान विभागलाई पठाउँछ । प्रहरीले अनुसन्धान गरेपछि हामी थप के कसरी पैसा आएको हो भनेर अध्ययन गर्नेछौं । अध्ययन सकिएपछि प्रष्ट हुनेछ ।’

वैधानिक स्रोत देखाउन सकेमा तपस्वी रामबहादुर बम्जनले आफ्नो पैसा फिर्ता पाउने छन् । स्रोत नखुलेको रकमहरू अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा बुझाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर