इन्स्पेक्टर लड्न बञ्चित असईको दु:खेसो- हातको घाउ सुक्यो, मनको घाउ आलो छ – Nepal Press

इन्स्पेक्टर लड्न बञ्चित असईको दु:खेसो- हातको घाउ सुक्यो, मनको घाउ आलो छ

काठमाडौं । प्रहरी सहायक निरीक्षक उमेश यादव गत मंसिर ६ गते नियमित ड्युटी गरेर कोठामा आए । ७ गते रेस्टमा थिए । तर, दुर्गा प्रसाईंले बल्खुमा आन्दोलन चर्काउन सक्ने देखिएपछि स्ट्याडबाइ बस्नु भनेर आदेश आयो ।

जिल्ला प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए यादव । अचानक आन्दोलन चर्कियो । ड्युटीमा जानुपर्यो भनेर सुबेदार मेजरले फोन गरे ।

उनी स्ट्यान्डबाइ बसिरहेका थिए । सुबेदारले ड्युटीमा बोलाएपछि नजाने कुरै भएन । कोटेश्वरबाट ड्युटी जान मोटरसाइकल लिएर निस्किए ।

बबरमहल पुगेपछि कारले उनलाई पछाडिबाट ठक्कर दियो । अनियन्त्रित भएर मोटरसाइकलसहित लडे उनी । त्यो दिन उनले पञ्जा लगाएका थिएनन् । दाहिने हातको छाला पीच रोडमा दरालियो । छाला तासिएर रगत आयो । हड्डी भाँचियो कि भन्ने डरले तुरुन्तै प्रहरी अस्पताल गए ।

भिडिओ एक्सरे गरेर हेर्दा धन्न हड्डी केही भएको रहेनछ । भित्री मासुसमेत छोएको रहेनछ । छालामात्र दरालिएको रहेछ । मल्हम लगाउन थाले । अहिले नयाँ छाला आएको छ, करिब ९५ प्रतिशत दाग मेटिइसकेको छ ।

तर ड्युटी जाने क्रममा भएको त्योे घटनाले चोटमात्र दिएन, अवसरसमेत गुमाउनुपर्‍यो । उक्त घटना भएको ४१ दिनपछि पुस १८ गते राति उमेशले आफ्नो फेसबुकको ‘माइ स्टोरीमा’ निराशा पोख्दै घाउ निको हुँदै गरेको हातको फोटो राखेर स्टोरी हाले, ‘सानो दर्जा सधैं सानै नै भइरहोस् भनेर हाम्रो पीडा कसले सुनिदिने’ ‘कर्तव्य पालनाको सिलसिलामा भएको तर विभागको लागि काम नलाग्ने भएछु । आईएम सरी ड्याड, मिस यू सो मच कुड नट फुलफिल योर ड्रिम । अहिले त्यो घाउ नि ठीक भएको अवस्था हुँदा नि बेरिङ चेकमा आउट.. विभागकै लागि लड्दाभिड्दा पनि विभागले नै नहेर्दो रहेछ ।’

लगत्तै अर्को स्टोरी हाले- ‘अवसर गुमाएँ, छिट्टै अर्को संगठनमा जाने निर्णय गर्नेछु सरी !’

उनले यसरी सामाजिक सञ्जालमा गुनासो पोख्नुको एउटै कारण हो- ड्युटी जाने क्रममा भएको सानो दुर्घटनाले उनले इन्स्पेक्टर भिड्न पाएनन् ।

उनको गुनासो छ, ‘कर्तव्य पालनाको क्रममा भएको दुर्घटनामा परेर सानोतिनो चोट लाग्यो भने के अब माथिल्लो तहमा भिड्दै नभिड्ने त ? कि माथिल्लो तहमा भिड्नु छ, चोटपटक लाग्नसक्छ भनेर कसैलाई बचाउनै नजाने, कसैलाई उद्धार नै नगर्ने त ? माथिल्लो तहको तयारी गर्नुछ भनेर जिम्मेवारीबाट पर भाग्नुपर्ने हो ?’

यादवले योग्यताअनुुसार इन्स्पेक्टरसम्म भिड्न पाइन्छ नै भनेर २०७३ सालमा नेपाल प्रहरीको जवानबाट सेवा प्रवेश गरेका थिए । २०७६ सालमा प्रहरी सहायक निरीक्षक (असई) मा नाम निकाले । २०७६ सालमै स्नातक तह सकिसकेका थिए । तर, तालिममै छँदा इन्स्पेक्टर भिड्न नपाइने बताइएपछि उनले अवसर पाएनन् ।

२०७८ सालमा असईको तालिम सकाएर २०७९ सालमा इन्स्पेक्टर भिड्न फर्म भरेका थिए । तर, परीक्षाको बेला बुबा बितेपछि दिन पाएनन् । त्यो एक वर्ष त्यसै खेर गयो ।

रौतहटका उमेश विभागमा रहेर दुई वर्षदेखि इन्स्पेक्टरको तयारीमा जुटेका थिए । यस वर्ष त भिड्न पाइन्छ होला भनेर गत कार्तिक ३ गते इन्स्पेक्टरको लागि खुलेको दरबन्दीमा आवेदन दिए र तयारीमा जुटे । तर, मंसिर ७ गते ड्युटी जाने क्रममा चोट लागेर विशेक भइसकेको घाउलाई देखाएर उनलाई उक्त अवसरबाट वञ्चित गरियो ।

‘म एउटा निम्न स्तरको कर्मचारी सधैंभरि एउटै पोस्टमा रहिरहन मन लाग्दैन । म जवानबाट असई भएको मान्छे । असईबाट इन्स्पेक्टर तयारी गरेको दुई वर्ष भयो’, उनी भन्छन् ।

पुस १७ गतेबाट शारीरिक परीक्षण भए पनि उनको पालो १८ गते थियो । बेरिङमा हातखुट्टा, दाँत, कपाल, ट्याटु, घाउचोट हेर्न गरिन्छ । यी सबैमा पास भएपछि मात्र दौड, शारीरिक अभ्यासहरु गर्न लगाइन्छ ।

उनको हातको छाला रातो देखिएपछि चेकअपमा बसेका प्रहरीले सोधे, ‘यो कसरी भयो ?’

उमेशले अस्पतालको रिपोर्ट पनि देखाए । घटना विवरण बुझाउँदा उल्टै यो त धेरै वर्षअघिको जस्तो छ भनेर भनेको उनले बताए । उनले प्रतिवाद गर्दै भनेका थिए, ‘होइन सर, मैले मभन्दा माथिको कमाण्डरलाई जानकारी पनि गराएको हो, विश्वास लाग्दैन भने फोन गरेर सोध्दा पनि हुन्छ ।’

उनका अनुसार घटनाको फोटो पनि देखाएका थिए । ‘भर्खरैको हो फोटो पनि ल्याएको छु भन्दा ड्युटीको क्रममा यस्तो भएको भन्दाखेरि दाग जान्छ त ? भनेर भन्नुभयो । सर, गइहाल्छ त छालाको कलर आइराखेको छ, विस्तारै मल्हम लगाउँदा गइहाल्छ भनें’, यादवले सुनाए, ‘छनोटमा खटिएका डीआईजीले ‘भाइ तपाईंको अलिकति ठूलै घाउ छ । यो वर्ष पनि ठीक नहोला, अर्को वर्ष आउनू, उमेर छँदैछ, विभागीयलाई के चिन्ता छ र’ भन्ने जवाफ दिए ।’

पहुँच पुगेकाहरुलाई उनको भन्दा ठूलो दाग हुँदा राखेको आरोप उनको छ ।

‘मजस्ता धेरै छन् । म त उदाहरणमात्र हो । मैले सहनै नसकेर आफ्नो दुःख पोखेको हुँ । यदि म कुद्न नसक्ने गरी दुबै खुट्टा छोएको भए मेरो गल्ती हुन्थ्यो । बेरिङकै अवस्थामा मेटिसकेको दाग देखाएर फालियो । दुई वर्षदेखि गरेको तयारी खेर गयो ।’

सर्वसाधारणलाई २५ वर्ष र विभागीयले ३५ वर्ष उमेरसम्मले भिड्न पाउने व्यवस्था छ । उनले सेवा गरेको ८ वर्ष भयो, अब २ वर्षसम्म खुलाबाट प्रहरी निरीक्षकमा भिड्न पाउँछन् ।

दुईतीन वर्ष बाँकी रहेछ, अर्को वर्ष आउनू भनेर जवाफ दिएकोमा आक्रोशित भएका उनले भने, ‘अर्को वर्ष आउनू भन्ने जवाफ दिने होइन नि ! म अर्को वर्ष आउने भए मैले किन फर्म भर्ने ? किन राजस्व तिर्ने ? अब क मैले तिरेको राजस्व फिर्ता दिनुहुन्छ त्यसो भन्नलाई ? फेरि कसैको पहुँच हुँदा यो भन्दा ठूलो घटना भएकोलाई लिइराखेको छ ?’

त्यही जवाफले उनलाई झनै निराश बनायो ।

‘म २०७३ सालको भर्ना, २०७६ सालमा स्नातक तह सकेको । पाँच वर्षसम्म इन्स्पेक्टरमा भिड्न नपाएको । एकपटक तालिममा हुँदा भिड्न पाइँदैन भनेर त्यो बेला पनि दिएनन् । पछि २०७९ मा बाबा बिते, बाबाको कामकाजमा गएँ, परीक्षा दिन पाइनँ ’,उमेशले आक्रोशित हुँदै भने, ‘अब अति भयो, राजीनामा दिन्छु भन्दा घरकाले मानेका छैनन् ।’

बुबाले बारम्बार छोरा असई भइस्, अब तेरो बिहे गरेको हेर्नुछ भन्दा टार्दाटार्दै बाबु बितेको उनले बताए । उनका बुबा पनि शाखा अधिकृतसम्म भएका थिए ।

‘म इन्स्पेक्टर नभइ बिहे गर्दिनँ, अहिले कर नगर्नु भनें । इन्स्पेक्टर भएपछि तपाईंको छोराले विहे गर्छ भन्दाभन्दै बुबाले छोडेर जानुभयो’, उमेशले भने ।

अहिले बुबाको दुइटै सपना पूरा नभएकोमा उमेशको चित्त दुःखाइ छ । ‘विभागले कारबाही गर्‍यो भने राजीनामा दिन्छु । आफ्नो योग्यता र क्षमता छ, निजामती भिड्छु । भएन भने यसै पनि देशमा रोजगार छैन । विदेश जान्छु’, उनले सुनाए ।

कार्यविधिमै नपर्ने पनि फालिन्छ ?

काशीराम कुँवरको दायाँ पाखुरामा १ सेन्टिमिटरभन्दा सानो काटिएको थियो । २०७३ सालमा जवानमा प्रवेश गरे । उनलाई त्यो चोटले सेवा प्रवेशमा केही असर गरेन । २०७६ मा असई र इन्स्पेक्टर दुबैमा भिडे ।

इन्स्पेक्टरमा शारीरिक परीक्षण सबै पास गरेर लिखितमा फेल भए । तर, उनी असईतर्फ शारीरिक परीक्षण र लिखित दुइटैमा पास भए । उनी असईमा भर्ना भए । असईमा पनि उनलाई चोटले कुनै असर गरेन । तर, अहिले इन्स्पेक्टरमा भिड्दा त्यही सानो दाग देखाएर फालिदिइयो ।

उनी आक्रोश पोख्छन्, ‘कि त्यही कारणले फालिने भए जवानमा फालिदिएको भए हुन्थ्यो । होइन भने यसअघि नै म इन्स्पेक्टरको शारीरिक परीक्षा पास गरेर लिखितसम्म पुगें । अहिले त्यही चोटको कारण फाल्न मिल्छ ?’

तहपिच्छे फरक फरक मापदण्ड बनाउने अनि मेहनत गरेर अन्तिममा फाल्दिने गरेको भन्दै उनले सेवा नै परिवर्तन गर्ने तयारीमा रहेको बताए ।

उनी भन्छन्, ‘असई हुँदा केही फरक परेन । अहिले किन फरक पर्न गयो ? यस्तै छ विभागीय मनोवल गिरेको छ ।’

काशी जस्तै सिर्जना तामाङले पनि इन्स्पेक्टरमा भिड्न पाइनन् । उनी २०७२ साल जवानमा भर्ना भइन् । उनको पाखुरामा जवानको तालिम गर्दा बसेको डाम छ । २०७६ मा असई भइन् । तर, त्यो डामले केही फरक पारेन । अहिले त्यही डाम देखाएर इन्स्पेक्टरमा बेरिङबाटै फालिइन् ।

सेवा अवधिको क्रममा लागेको चोटलाई लिएर फालिएको सिर्जनाको गुनासो छ । प्रहरीको भर्ना छनोट कार्यविधिमा चोटपटकसम्बन्धी मापदण्ड नभएको उनको भनाइ छ ।

तर, कसैलाई तीन वटा दाँत कुहिएको भए पनि राखिएको उनको गुनासो छ ।

प्रहरी हेडक्वाटरमा कार्यविधिमा नपर्ने मापदण्ड देखाएर फालिएको भन्दै उजुरी पर्ने गरेको छ ।

के छ मापदण्ड ?

प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त २०६९ को अनुसूची ६ मा व्यवस्था भएबमोजिम प्रारम्भिक स्वास्थ्य परीक्षण अर्थात बेरिङ गरिन्छ । अनुसूची ६ मा प्रारम्भिक स्वास्थ्य परीक्षण (फिजिकल फिट्नेस) मा अयोग्य हुने अवस्थाहरु उल्लेख गरिएको छ ।

ती निम्नानुसार छन्:

  1. अंगभंग र कुरूप देखिने
  2. हातखुट्टा बाङ्गो टिङ्गो र औंलाहरू ठीक नभएको
  3. घुँडा Knee Lock भएको अथवा Rickets भई फाटिएको
  4. धेरै चेप्टो पैताला भएको (भालु पाइले)
  5. प्रष्ट बोली नभएको भकभके
  6. लठ्यौरो
  7. ढाड कुप्रो भएको
  8. शरीर पूरा झुकाउन नसक्ने
  9. जिउ कोल्टे परेको (बाङ्गो शरीर भएको)
  10. दुबी भएको
  11. कपाल झरेको, फुलेको वा रंगाएको
  12. लुरे (उचाइअनुसार अत्यधिक दुब्लो) कम्तीमा ५० केजी पुरुष र ४२ केजी महिला
  13. आँखा डेढो भएको
  14. कुनै एक आँखा चिम्लन नसक्ने
  15. उचाइअनुसार हुनुपर्ने तौलभन्दा अत्यधिक बढी तौल भएको
  16. शरीर मोटो तर हातखुट्टा झिनो देखिने
  17. अनुहारमा अस्वाभाविक दागहरू भएको
  18. शरीरको बाहिर देखिने भागमा ट्याटु मार्क बनाएको
  19. २ वटाभन्दा बढी दाँत कीराले खाएको वा झरेको
  20. भेरिकोच वा नशा फुल्ने भएको ।

पूर्वडीआईजी मल्ल भन्छन्- भाग्यको कुरा हो

पूर्वडीआईजी हेमन्त मल्ल बेरिङसम्बन्धी नियम समय समयमा परिवर्तन भइराखेको हुने बताउँछन् । त्यसको कारण तल्लो दर्जामा छनोट भएका प्रहरीहरु खुला प्रतिस्पर्धाबाट माथिल्लो तहमा भिड्दा बेरिङको क्रममा सानोतिनो चोट देखाएर फाल्ने गरिएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘बेरिङ समय समयमा परिवर्तन भइराखेको हुन्छ । तल्लो दर्जामा दागचोट भएर पनि छनोट भएको छ भने कहीं न कहीं दबाब र प्रभावले काम गरेको हुन्छ । विस्तृत रुपमा नहेर्दा कहिलेकाहीं मान्छे झुक्किएर पनि जागिर खाइरहेको हुन्छ । असईमा संख्या ठूलो हुन्छ, त्यहाँ झुक्किन पनि सक्छ । दबाबप्रभावले पनि काम गरेको हुन्छ । तर, अफिसर तहमा आएपछि संख्या पनि कम हुन्छ । चेक पनि कडा हुन्छ । त्यसले गर्दा एकचोटि फुस्किएको मान्छे समातिन्छ । उमेर नाघेको मान्छे इन्स्पेक्टर भर्ना भइराखेको हुन्छ । डीआईमा आएर थाहा हुन्छ । त्यो पनि त्यस्तै खालको हो ।’

पूर्वडीआईजी मल्लका अनुसार बेरिङमा फाल्ने कुरा भाग्य पनि हुने गर्छ ।

‘द्वन्द्वको समयमा प्रहरी अफिसरहरु कानै नसुन्ने पनि भएका थिए । त्यति बेला अडप्ट गरेकै थियो । ड्युटी गर्दा आधा औला भाँचियो भने पनि मेडिकलमा फाल्नुपर्ने हुन्छ । ड्युटीकै क्रममा त्यस्तो भयो, भाग्यको कुरा हो’, उनले भने, ‘हेडक्वाटरमा ग्रुपका ग्रुप उजुरी परिरहेको हुन्छ ।’

ड्युटी गर्दा यस्तो दुर्घटना भयो भनेर माथिल्लो तहमा भर्ना हुन छुट नपाइने उनी बताउँछन् ।

प्रहरी प्रवक्ता भन्छन्- ड्युटीमा जाँदा के भयो भन्ने मतलब हुँदैन, मापदण्ड पूरा हुनुपर्‍यो

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले भर्ना छनोट कार्यविधिको मापदण्डभित्र रहेर प्रहरी भर्ना गरिने बताए ।

कार्यविधिमै नपर्ने मापदण्ड देखाएर बेरिङमै फालिने गरेको गुनासोको खण्डन गर्दै उनले नसक्ने र नपर्नेले यस्तो आरोप लगाउने गरेको बताए ।

‘भर्ना छनोटमा नेपाल प्रहरीमात्र हुँदैन, लोकसेवाको मान्छे पनि हुन्छ । मेडिकल हो भने डाक्टर पनि हुन्छ । हेडक्वाटरको प्रहरी पनि हुन्छ । जिल्लातिर हो भने गृह र सीडीओको प्रतिनिधि हुन्छ, त्यतिकै फाल्दैन’, उनले भने, ‘ड्युटीमा जाँदा चोट लागेको भए पनि हुँदैन । यति सेन्टिमिटरभन्दा ठूलो चोटले हुँदैन भनेर प्रस्ट छ । पास हुने र फेल हुने यो यो मापदण्ड भनेर तोकिएको छ । अब चोट लाग्यो भनेर छुट पाइँदैन । चाहे त्यो विभागीय होस् वा सिभिल ।’

पीडितहरूको आग्रहमा नाम परिवर्तन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर