जनता गाउँगाउँबाट उठे, तर नेताले विदेश धकेले ! (भिडिओ) – Nepal Press

जनता गाउँगाउँबाट उठे, तर नेताले विदेश धकेले ! (भिडिओ)

कालजयी गीत ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ..’ का सर्जकको असन्तुष्टि

काठमाडौं । गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ
                  यो देशको मुहार फेर्नलाई उठ

कुनै समय नेपालको वामपन्थी आन्दोलन शिशु अवस्थामा थियो । त्यसवेला आन्दोलनको लोरी गीत थियो, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ । वामपन्थी आन्दोलन विस्तारै वयस्क हुँदै जाँदा यो गीत राष्ट्रिय गीत बन्यो ।

यही गीत गाएर जनताको घरघरमा पुगेर चेतनाको बीउ रोप्ने नेताहरु आज कस्तो अवस्थामा छन्, सबैलाई थाहा छ । तर, २१ वर्षको उमेरमा २०३१ सालमा यस्तो क्रान्तिकारी जनवादी गीत लेखेका गीतकार श्याम तमोट भने अझै पनि सडकमा छन् । ‘सामाजिक दायित्व’प्रति कटिबद्ध छन् ।

राल्फाले रोपिदियो गीतको अवधारणा

भोजपुरको दावाँमा श्याम तमोटको परिवारको सानो दोकान थियो । दोकानमा रेडियो थियो । रेडियोमा नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामालगायत गायकगायिकाको प्रेम वियोगका गीतहरुमात्रै बज्थे । प्रगतिशील जनवादी गीतहरु रेडियो नेपालले सीधै खारेज गरिदिन्थ्यो । बरु रोमान्टिक हिन्दी गीतहरु बजाएर जनतालाई यथास्थितिमा धकेल्न उद्यत थियो रेडियो नेपाल !

तमोटका काका हिन्दी गीतका पारखी थिए, उनी नेपाली गीतका । तर, त्यहाँ न परिवर्तनको झिल्को हुन्थ्यो न त क्रान्तिको आह्वान नै । त्यस्ता गीत सुन्नुको विकल्प पनि किशोर तमोटसँग थिएन ।

तर, २०२३ सालदेखि नै रोडियो नेपालको पञ्चायती व्यवस्था पक्षपोषणकारितासँग विमति राखेर एउटा समूह विद्रोहमा उत्रिएको थियो । उनीहरुको गीत रेडियो नेपालमा वर्जित थियो । विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो आवाजमार्फत् जनवादी गीत लिएर रामेश, रायन, मञ्जुलहरु गाउँ पसिसकेका थिए । उनीहरुको विद्रोहको नाम थियो, ‘राल्फा’ ।

एक दिन तमोटले सुने, ‘भोजपुरमा राल्फा समूह आउँदैछ ।’

यो प्रसंग हो, २०२६ सालतिरको । सदरमुकाम गएर १० कक्षामा पढिरहेका किशोर तमोट राल्फा आउने भनेपछि उत्साहित भए । एक त नामै अनौठो थियो, ‘राल्फा’ । अर्को, विराटनगरतिर विद्यार्थीहरुले पञ्चायती व्यवस्थाविरुद्ध विद्रोह गरेको गाइँगुइँ सुनेका थिए । सूचना ल्याउने अग्रज दाइहरु थिए ।

राल्फा भोजपुर आयो । विभिन्न ठाउँमा कार्यक्रम गर्‍यो । तमोटले सबै कार्यक्रम पछ्याए । त्यही कार्यक्रममा रामेश र मञ्जुलसँग तमोटको देखादेख भयो । तर, दोहोरो कुराकानी चाहिँ हुन सकेन ।

तमोट सम्झन्छन्, ‘राल्फाले हरेक गीतको प्रस्तुतिअघि भूमिका बाँध्थ्यो । मञ्जुल दाइले भूमिका राख्नुहुन्थ्यो । भूमिका पनि लामो कथा बनाएर राख्नुहुन्थ्यो । उहाँको भूमिका सुनेपछि गीत नसुनी धरै थिएन । अनि गीत सुन्थ्यौं । गीतले छुट्टै खालको प्रभाव छाड्थ्यो ।’

राल्फाका गीतहरु विभेद र अन्यायविरुद्ध हुन्थे, महिलाका पक्षमा हुन्थे । अनि परिवर्तनका पक्षमा हुन्थे । तमोट सुनाउँछन्, ‘अनि लाग्यो, गीत त यस्तो पो हुँदोरहेछ ।’

अनि लेखे ‘गाउँ गाउँबाट उठ’

तमोटले २१ वर्षको उमेरमा २०३२ सालमा गीत लेखे, ‘गाउँ गाउँबाट उठ’ । आजभन्दा ४८-४९ वर्ष अर्थात् झण्डै आधा शताब्दीअघि । तमोटलाई अहिले लाग्छ, २१ वर्षको उमेर पनि साह्रै सानो चाहिँ नहुँदोरहेछ । ऊर्जावान नै हुँदोरहेछ । धेरै मान्छेले २१-२२ वर्षकै उमेरमा धेरै गरेका छन् ।

गीतमाथि राल्फाले नयाँ अवधारणा दिएर गयो । तमोटले पनि एसएलसीको परीक्षा दिए । पास भए । व्यवस्थापन संकायमा अध्ययन गर्न धरान झरे । धरान झरेपछि पो उनले थाहा पाए, विराटनगर-धरान-झापा त विद्यार्थीहरुलाई राजनीति सिकाउने ठाउँ रहेछ । साहित्यिक गोष्ठी गर्ने, सांगीतिक कार्यक्रम गर्ने र राम्रा विद्यार्थीलाई टपक्क टिपेर राजनीतिमा लैजाने ठाउँ रहेछ ।

तमोट पनि फाट्टफुट्ट कविता, गीत लेख्ने मान्छे । उनी नटिपिने कुरा भएन । धरानमा अग्रज कवि बम देवान, गोविन्द विकलसँग संगत भयो । तमोट सुनाउँछन्, ‘साहित्य, समाज, मानव जीवन र राजनीतिको अन्तरसम्बन्धबारे छलफल हुन्थे । लुसुन पढियो । म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ पढेपछि भने ओहो भन्ने भयो । विस्तारै ममा पनि वैचारिक परिवर्तन देखिन थाल्यो ।’

इन्टरमिडियट अध्ययन सकाएपछि तमोट भोजपुर फर्के, शिक्षक बने । भोजपुरमा पनि कवि श्रवण मुकारुङका काका रुद्र किराँतलगायतले चोमोलुङ्मा सांस्कृतिक परिवार भन्ने समूह गठन गरेका थिए । त्यही समूहले एउटा कार्यक्रम गर्ने भयो । तमोटले गीत लेख्ने भए ।

एउटा गीत लेखे, ‘साहुको ऋण तिर्न भनी’ । अर्को लेखे, ‘गाउँ गाउँबाट उठ’ ।

रातिको प्रहरमा लालटिनको उज्यालोमा गिटार बजाउँदै उनले यो गीत तयार पारेका थिए । तमोट सुनाउँछन्, ‘गिटार चाहिँ धरानमा पढ्दा घरबाट पठाएको पैसा जोगाएर किनेको थिएँ ।’

तमोट थप्छन्, ‘धरानमा पढ्दा चिनियाँ क्रान्तिहरुबारे पढ्दा गाउँकै मान्छेले शहरलाई घेर्दै लैजाने, गाउँलाई आधार इलाका बनाउने, केन्द्रलाई दबाब दिन गाउँलाई परिवर्तन गर्दै लैजाने भनिएको थियो । आममानिसको जीवनमा परिवर्तन नआइकन गाउँ परिवर्तन हुँदैन भन्ने ज्ञान प्राप्त गरेको थिएँ । त्यही कुरालाई मैले गीत बनाएँ ।’

गीत तयार भयो, कार्यक्रममा प्रस्तुत पनि भयो । पछि रामेशहरुले यस गीतलाई टपक्क टिपेर राल्फाको मूल गीत बनाए । अलि पछि नेपाली वामपन्थी आन्दोलनको राष्ट्रिय गीत नै बन्यो, ‘गाउँ गाउँबाट उठ’ ।

गुलाम अली र तमोट एकै ठाउँ

‘मनभित्र के छ ठूली किन बोल्दिनौ’

प्रसिद्ध गायक गुलाम अलीले गाएको, न्ह्यु बज्राचार्यले संगीत भरेको र तमोटले लेखेको यो गीत सरसर्ती हेर्दा प्रेम-प्रणयको हो कि जस्तो लाग्नसक्छ । तर, यो गीतको कथा २०४६ सालको जनआन्दोलनपछिको समयसित जोडिन्छ । तमोटले यो गीत २०४९-५० सालतिर लेखेका थिए । रेकर्ड भने २०५२ सालमा भयो ।

२०४६ सालमा जनआन्दोलन भयो । देशमा बहुदल आयो । पञ्चायती व्यवस्था हट्यो । नयाँ सरकार बन्यो । चुनावको माहोल बन्यो । सबैतिर खुशीयाली छायो । पार्टीका झण्डाहरु यत्रतत्र छरिए । त्यसवेला प्रचारप्रसारका लागि प्रमुख रुपमा भित्तेलेखन थियो । सेता र चिल्ला भित्ताहरु सबै नाराहरुले रंगिए । देश एक खालको उत्सवमा छिरेको थियो । अनि त्यसपछि ?

त्यसपछि तमोटले लेखे-

धारा कुवा पधेर्नीको हाँसो खुलेको छ
हाट बजार दौंतारीको हाँसो खुलेको छ
पसिनाको मोल पूरा नपाएर हो कि
तिमी भने अझै मौन किन बोल्दिनौ
मनभित्र के छ ठूली किन बोल्दिनौ

तमोट भन्छन्, ‘व्यवस्था परिवर्तन भयो । देश नयाँ दिशामा अगाडि गयो भनियो । तर, ठूलीहरुको हालत उस्तै छ । ठूली जस्ता लाखौं जनताको जीवनमा केही परिवर्तन भएन । सिंगो देशले उत्सव मनाइरहँदा लाखौं ठूलीहरु उदास उदास भइरहेको महसुस गरें । अनि गीत लेखें ।’

यो गीत रेकर्डिङको कथा पनि बडो रोचक छ । तमोट त प्रगतिशील गीतकार । तर, यसका गायक गुलाम अली भने गजल गायक । कसरी ट्युनिङ मिल्यो त ?

२०५२ सालतिर, हिजो रेडियो नेपालसित विद्रोह गरेर हिँडेका रामेश रेडियो नेपालको संगीत संयोजन समितिको अध्यक्ष बनेका थिए । असार साउनको बिदामा तमोट भोजपुरबाट काठमाडौं आएका थिए । रामेशलाई रेडियो नेपालमा भेटेर फिर्ने वेला एक दिन मञ्जुलले तमोटलाई सोधे, ‘ए श्याम, तिमीले नयाँ गीत लेखेका छैनौ र ?’

तमोटले भने, ‘छ नि दाइ ।’

अनि नोट बुक सरर पल्टाएर देखाए । संगीतकार न्ह्यु बज्राचार्य सँगै थिए । मञ्जुलले भने, ‘ए न्ह्यु, यता आऊ त । यहाँ गीत छान ।’

न्ह्युले छाने, ‘मनभित्र के छ ठूली’ । तमोटले अर्को कापीमा गीतका लाइनहरु सारेर दिए । अनि गाउँ फिरे । केही समयपछि तमोट पुनः काठमाडौं आए । त्यसवेला संगीत सृजनाको काम भइसकेको जानकारी मञ्जुलले उनलाई दिए । न्ह्युलाई बोलाएर गीत सुनाउन भने । तमोटले सुने । ठीक छ भने । तर, कहिले रेकर्ड हुने भनेर सोधेनन् ।

फेरि तमोट भोजपुर नै फिरे । शिक्षण पेशामा लागे ।

एक दिन उनलाई फोन आयो दीप तुलाधारको । तुलाधारले गुलाम अलीले गीत गाउन लागेको बताए । तर, तमोटलाई फसाद प¥यो । गुलाम अली र तमोटको विचार कसरी एक ठाउँमा आइपुग्छ ?

तमोट सुनाउँछन्, ‘गुलाम अली एक खालको पहिचान भएको मान्छे । म प्रगतिशील धारको गीत लेख्ने मान्छे । हामी दुवैको सहकार्य हुन्छ कि हुँदैन भनेर केही समय सोचें । पछि निष्कर्षमा पुगें, उहाँले गीत स्वीकार गरेर गीतलाई न्याय गरेपछि त भइहाल्छ ।’

काठमाडौंमै असार-साउनको समयमा कार्यक्रम भयो । तर, तमोट उपस्थित हुन सकेनन् । पछि आफ्नो गीत सीधै रेडियो नेपालबाट सुने-

बिहानीले हिमालको सिउँदो रंगाइसक्यो
जोडी परेवाले खुला आकाश पाइसक्यो
तिम्रो मनमा नयाँ फूल नफुलेर हो कि
मनभित्र के छ ठूली किन बोल्दिनौ

भोक धेरै जाग्यो भने प्रेम पनि मर्छ

रेकर्ड भएका, नभएका ३०० गीत संकलन गर्ने हो भने तमोटका गीतहरुमा प्रेम-प्रणयका शब्दहरु नै पाउन मुस्किल हुन्छ । प्रेम प्रणय हो कि हो कि लाग्ने केही गीत लेखेका छन् । त्यसमध्ये बुलु मुकारुङले संगीत गरेको एउटा गीत छ-

बाग उही छ, फूल उही छ, लाग्छ कि सुवास अनौठो
आफ्नै मुटु हो, आफ्नै धड्कन यो, लाग्छ कि सास अनौठो
आज सफरमा कुन साथ मिलेछ, लाग्छ कि जिउनुको आभास अनौठो

तमोटको गीति लेखनमा प्रेम-प्रणय भन्ने कुराले त्यति स्पेस पाएन । सृजनशीलताको पूर्वकालमा चाहिँ नारायणगोपाल, अरुणा लामालाई सुने । तर, लेखे जनवादी गीत ।

तमोट सुनाउँछन्, ‘मुख्य कुरा प्रेम र भोक हो । भोक धेरै जाग्यो भने प्रेम पनि मर्छ । प्रेम त अघाएको वेला आनन्दले गर्ने कुरा हो । कतिपयले भोकलाई भन्दा प्रेमलाई मान्छन् । जीवनभन्दा प्रेम अमर भनेर मर्छन् कतिपय मान्छे । त्यो अपवाद हो । आम रुपमा सरसर्ती हेर्दा भोकभन्दा प्रेम ठूलो हुन सक्दैन । भोकले गर्दा मान्छेले प्रेमलाई छाडेर हिँडेका उदाहरण कति छन् कति । देशको त्यतिखेरको अवस्था भोकमरी, अनिकाल, अशिक्षा, गरिबी र त्यसलाई पालनपोषण गरिरहेको व्यवस्थाविरुद्धको लडाइँमा केन्द्रित थियो । त्यसलाई नढालिकन स्वस्थ रुपमा प्रेम गर्न पाउँदैन थियौं । खुशीले हाँस्न पाउँदैन थियौं । अनि कहाँ प्रेम-प्रणयको कुराले स्पेस पाउनु र !’

तमोटका लागि गीत लेख्नु भनेको चाहिँ के हो ?

तमोट थप्छन्, ‘गीत लेखेर एउटा सामाजिक दायित्व निर्वाह गर्नुपर्छ भन्ने लाग्छ । सुरुदेखि नै मेरो दिमागमा यही पस्यो । कतिपयलाई गीत लेख्नु भनेको मनको वह पोख्नु होला । संसारलाई नै भुलेर एकत्रित भएर लेख्नु होला । मेरा लागि भने गीत लेख्नु सामाजिक दायित्व पूरा गर्नु हो । त्यसैले गर्दा म सबै कुरा भुलेर सिर्फ गीत मात्रै लेख्न सक्दिनँ । कतिपयलाई गीत लेख्दा आफैंलाई भुल्नु होला । तर, मेरा लागि भने समाज, जनता सबै सम्झनु गीत लेख्नु हो ।’

५७ वर्षसम्म गाउँको आरोह-अवरोहको साक्षी

तमोटको गीत भोजपुरको सानो दावाँ गाउँबाट बाहिर निस्केर देशैभर फैलियो । तर, उनले भने कहिल्यै भोजपुर छाडेनन् । २०५७ सालसम्म शिक्षण पेशामा आबद्ध भए । अनि २०६७ सालसम्म गाउँमै बसे । तमोट काठमाडौं पसेको जम्माजम्मी १३ वर्ष मात्रै भएको छ ।
गाउँमै रहिरहनुमा तमोटको आफ्नै खाले बाध्यता थिए । त्यसमध्ये प्रमुख थियो, उनको जिम्मेवारी ।

तमोट भन्छन्, ‘एक त म शिक्षण पेशामा थिएँ । अर्को हो, शहरमा कसरी टिकिन्छ जस्तो लाग्थ्यो । शहर त धेरै ठूलो खर्च हुने ठाउँ हो । अर्कातिर बुवा २०४२ सालमा बित्नुभयो । आमा रोगी हुनुहुन्थ्यो । आमाका लागि पनि गाउँमै बसें । ससाना बालबच्चा थिए । आर्थिक बोझ मसँगै थियो । गाउँबाट म हिँड्दै गर्दा यी सबैथोक लिएर हिँड्नुपर्थ्यो ।’

गाउँमै रहँदा भएको एउटा बेफाइदा चाहिँ तमोटलाई कम मात्रामा सृजना गरियो कि भन्ने लाग्छ । साथीभाइसित गफगाफ गर्ने, बहस गर्ने माहोल भए अझै गतिशील भएर लेखिन्थ्यो कि लाग्छ ।

तर, जीवनको ठूलो कालखण्ड गाउँमा बिताएका तमोटले गाउँलाई भने राम्रोसँग छामेका छन् । गाउँमा भएको सांस्कृतिक रुपान्तरणदेखि राजनीतिक चेतना फैलिएको पनि प्रत्यक्ष महसुस गरे । अहिले गाउँ कसरी रित्तो हुँदै गएको छ, त्यो पनि राम्रोसँग नियाले ।

अहिले गाउँ रित्तो छ । युवाहरु गाउँमै नदेखिने अवस्था छ । विदेश जानेहरुले आर्थिक रुपमा आफूलाई मजबुत बनाउँदै लगेका त छन् । तर, विदेशमा अकालमा मृत्यु पनि व्यहोरिरहेका छन् । यता उनीहरुको घरपरिवार विध्वंस भएर गइरहेको स्थिति पनि छ ।

तमोट भन्छन्, ‘विदेशमा जानेहरुले पैसा कमाएर राष्ट्रलाई दिएको छ । तर, राज्यले त्यो पैसा उत्पादनशील काममा लगाउन सकेको छैन । गाउँघरमा जग्गा बाँझो हुँदै गएको छ । कृषिमा आधुनिकीकरण गर्ने सरकारसँग कुनै भिजन छैन । सबैभन्दा ठूलो कमजोरी यो राज्यको छ ।’

तर, अहिले राज्य सञ्चालन गर्नेहरु तिनै हुन्, जसले तमोटको गीत ‘गाउँ गाउँबाट उठ’ जनतालाई सुनाएर व्यवस्था परिवर्तनका लागि उक्साएका थिए । तर, तिनैले जनतालाई विदेश सप्लाइ गरिरहेका छन् ।

र त वेलावेला तमोटले रामेशलाई भेट्दा भन्ने गर्छन्, ‘अहिलेको अवस्थामा राजनीतिक दलहरुको क्रियाकलापसँग जनता साह्रै असन्तुष्ट छन् । तर, जनता धेरै जागरुक भइसकेका छन् । फटाइँ गर्ने नेतृत्वको विरुद्ध जनता जागरुक भइसकेका छन् । सायद आगामी निर्वाचन नभए आउँदो १० वर्षमा अर्को खालको परिवर्तन यो देशमा हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर