पहिचानको आन्दोलन कोशीबाट सबैतिर बिस्तार हुने जनमुक्तिको दाबी – Nepal Press

पहिचानको आन्दोलन कोशीबाट सबैतिर बिस्तार हुने जनमुक्तिको दाबी

रुपन्देही । कोशी प्रदेशबाट सुरु भएको पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि बिस्तार गर्ने तयारी भएको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ । सो पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले बुधवार बुटवलमा आयोजित सभामा यस्तो दाबी गरेका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश दोस्रो अधिवेशन एवं धर्म निरपेक्षता, संघीयता, गणतन्त्र एवं समावेशिताको पक्षमा आयोजित बृहत् आमभेलालाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले पहिचानको आन्दोलन सबैतिर जरुरी रहेको र पहिचानवादीहरू एकजुट हुनुपर्ने बताए ।

पहिचानवादीको आन्दोलनले कोशीमा सरकारलाई झुकाएरै छाड्ने दृढता व्यक्त गर्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कोशीमा पुग्दा बोली फेर्न बाध्य भएको दाबी गरे ।

उनले संघीयता आएपछि स्थानीय तहमा अधिकार दिइए पनि प्रदेशलाई अधिकार नदिई बेवारिसे बनाइएको आरोप लगाए ।

पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले अहिले प्राप्त उपलब्धि उल्ट्याउन केही समूह लागिपरेको बताउँदै त्यसको लागि सबै एकजुट हुनुपर्ने जनाए । सिंहदरबारमा रहेको अधिकार गाउँ गाउँमा पुर्‍याउन चाहने शक्ति अब चनाखो हुनुपर्ने उनको भनाइ छ ।

संघीय समाजवादी पार्टीका रिजवान अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गर्ने शक्तिलाई परास्त गर्ने चेतावनी दिए ।

नेपाली जनताले कांग्रेस,एमाले माओवादीलगायत सत्तामा गएका दलहरूको विकल्प खोजेका तर व्यवस्थाको विकल्प नखोजेको उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “पहिचानको आन्दोलन कोशीबाट सबैतिर बिस्तार हुने जनमुक्तिको दाबी

  1. पहिचानको नाममा पार्टीका झोले र दिल्लीका टट्टुहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर