रवि लामिछानेलाई तथानाम गाली गरेका डा. निकोलस भुसालले भेटेरै माफी मागे – Nepal Press

रवि लामिछानेलाई तथानाम गाली गरेका डा. निकोलस भुसालले भेटेरै माफी मागे

रविको जवाफ: बोल्न पाइन्छ, तर आवेगमा नआउनुस्

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका डा. अभियन्ता निकोलास भुसालले क्षमा याचना गरेका छन् । उनले आज गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागेका हुन् ।

सन्दीप लामिछानेको समर्थनमा सडकमा संघर्ष गरिरहेका भुसाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । हिरासतबाट निस्किएर उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गरेका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता च्यात्ने समेत बताएका थिए ।

उनै भुसाल आज रविलाई भेट्न गृह मन्त्रालय पुगे । मन्त्रालयको मूल ढोकामै रविसँग उनको भेट भएको थियो । रविलाई भेट्न आएकाहरूका भिडमा थिए भुसाल ।

रवि आउनासाथ हात मिलाएर उनले भने, ‘सरी दाइ ।’

रविले किन सरी ? के भयो र ? भनी सोधे ।

निकोलसले जवाफ दिए, ‘आवेशमा आएर बढी बोलेँ ।’

रविले सम्झाए, ‘केही छैन । बोल्न पाइहालिन्छ नि ।’

निकोलसले भने, ‘आफ्नो दाइ हुँदा हुँदै हिरासतमा परियो । त्यसमा अलिकति दुख लाग्या छ ।’

रविले भने, ‘प्रहरीले आफ्नो काम गर्छ । मैले देशैभरिका प्रहरीलाई यो गर यो नगर भन्न मिल्दैन । नचाहिने चिज नगर्नुस् मात्र मैले भन्ने हो । केही छैन । अन्यायका विरुद्ध बोल्नुस् । आवेग उत्तेजना नदेखाउनुस् है ।’

रविलाई भेटेपछि निकोलसले पत्रकारसँग कुरा गर्दै रविलाई ‘युवाहरूका आशा र भरोसा’ भन्दै प्रशंसा गरे ।

‘कहिलेकाहीँ आफ्नै दाजुभाइमा पनि झगडा हुन्छ । मैले चाहिनेभन्दा धेरै कुरा भनेछु । सन्दीप लामिछानेले पनि न्याय नपाउँदा फ्रस्टेसन थियो । अझ हामीलाई नै हिरासतमा राख्दा गृह मन्त्रालयकै साजिस त होइन भन्ने लागेको थियो । तर, त्यस्तो होइन रहेछ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर