सुध्रिएन हेटौंडा-काठमाडौं जाेड्ने छोटो बाटोको हाल: सांसद र मन्त्री नियमित हिँड्छन्, उठाउँदैनन् सवाल – Nepal Press

सुध्रिएन हेटौंडा-काठमाडौं जाेड्ने छोटो बाटोको हाल: सांसद र मन्त्री नियमित हिँड्छन्, उठाउँदैनन् सवाल

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा र देशको संघीय राजधानी काठमाडौं जोड्ने ७ सडक मार्गमध्ये पाँच वटा छोटो बाटो बेहाल छन् । उक्त बाटो प्रयोग गर्ने यात्रुले मार खेप्नुपरेको छ ।

हेटौंडा-काठमाडौं जोड्ने हेटौंडा-भीमफेदी-फाखेल, हेटौंडा-सिन्नेरी-काठमाडौं, हेटौंडा-चखेल र हेटौंडा-मार्खु-चित्लाङ-काठमाडौं सडकको अवस्था जर्जर छ । यात्रुले सास्ती नव्यहोरी यी सडक पार हुन्न ।

पाँच छोटो दुरीका सडकमध्ये चार वटा मुख्य लाइनको रुपमा रहेको हेटौंडा-भैंसे-भीमफेदी सडकखण्ड मर्मत तथा फराकिलो पार्ने काम लामो समय बितिसक्दा पनि पूरा भएको छैन । यात्रु हेटौंडाबाट २३ किलोमिटर दुरीमा रहेको भीमफेदी पुग्दासम्म धूलो र हिलोले दिक्क बन्ने गरेका छन् ।

भीमफेदीबाट करिब २० किलोमिटर सडक पिच भएको छ । तर, हेबीबाट फाखेल तथा सिस्नेरी लाग्दा पुनः कच्चीबाटो त्यसमाथि हिलो र धूलोमा यात्रा गर्नुपर्ने बाध्यता छ । फाखेल र सिस्नेरीको सडक वर्षौंदेखि निर्माण भैरहेको छ । तर, ढिलासुस्तीले अझै पूरा हुन सकेको छैन । परिणाम यात्रुले समस्या भोग्दै आएका छन् ।

कुलेखानी जलासय क्षेत्रबाट चन्द्रागिरी डाँडा हुँदै निर्माण भएको चखेल सडक र चित्लाङ सडकको अवस्था पनि उस्तै छ । सडक निर्माण तथा पुनर्निर्माणको काम सुस्त छ । जसले उक्त बाटोको यात्रा जोखिमपूर्ण छ ।

चारैवटा सडक कम्तिमा ६९ र बढीमा ९० किलोमिटरको दुरीका छन् । बागमती प्रदेश सरकारले यी चारैवटा सडकको स्तरोन्नतिको काम अघि बढाएको छ । तर कामले गति लिएको छैन ।

फाखेल र चखेल क्षेत्रका वासिन्दा धुलाम्य सडकको कारण स्वास्थ्यमा समस्या आएको गुनासो गर्छन् । इन्द्र सरोवर गाउँपालिका- ४ का ललित तामाङ भन्छन्, ‘सडकको धूलोले घरभित्रै बसिनसक्नु छ । कोठाहरु पनि निकै फोहोर हुने गरेको छ । विद्यार्थीहरु धुलाम्य बनेर स्कुल पुग्नुपर्ने बाध्यता छ । धूलोकै कारण वृद्धवृद्धा र बालबालिकामा स्वास्थ्य समस्या उत्पन्न भैरहेको छ ।’

हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि द्रुत गतिमा छोटा सडक मार्गको स्तरोन्नति हुने ठानेका स्थानीय अहिले निराश छन् । सडक मर्मतमै महिनौं समय लाग्दा ठूलो समस्या निम्त्याएको उनीहरु बताउँछन् ।

सरकारले १०औं करोड रुपैयाँ विनियोजन गर्नुपर्ने सडकलाई १-२ करोड पनि नदिएर समस्या निम्त्याएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताए ।

उनले भने, ‘हामीले चित्लाङ सडक निर्माणको लागि एक वर्षमा कम्तीमा १० करोड लाग्ने केन्द्र र प्रदेश सरकारलाई जानकारी गराएका थियौं । तर, सरकारले १-२ करोडमात्र दिएर कनिका छर्ने काम गरेको छ । यसैको कारण यहाँका स्थानीयलाई ठूलो समस्या भएको छ ।’

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथ क्षेत्रको हालत पहिले भन्दा केही सुधार भए पनि मकवानपुरको सीमा क्षेत्र र ललितपुरको भट्टेडाँडा क्षेत्रको हालत जर्जर छ । सामान्य पानी पर्दा पनि सवारीसाधन सञ्चालन गर्न कठिन हुन्छ । तैपनि कान्ति लोकपथ कुनै पनि सरकारको प्राथमिकतामा नपरेको स्थानीयको गुनासो छ ।

भीमफेदी क्षेत्रको भन्दा फराकिलो कान्ति लोकपथलाई सरकारले प्राथमिकता दिन सके ५ मध्ये एउटा भए पनि भरपर्दो हुने उनीहरुको भनाइ छ ।

सांसद र मन्त्री नियमित हिँड्छन् तर, प्रदेशसभामा उठाउँदैन

यी छोटा सडक मार्ग हुँदै दैनिक बागमाती प्रदेशसभाका मन्त्री, सांसद तथा उच्चपदस्थ कर्मचारीहरु यात्रा गरिरहेका हुन्छन् । राष्ट्रिय झण्डासहितको गाडीमा नियमित यात्रा गर्ने मन्त्रीहरु यी सडकको जर्जर अवस्थाबारे बेखबर छैनन् । तर, बागमती प्रदेशसभामै यस विषयले प्राथमिकता पाउँदैन ।

तर, बाहिर उनीहरु सडकको कारण हेटौंडा आउजाउमा समस्या हुने गरेको चर्को कुरा गर्छन् । सडक मर्मत समयमा गर्नुपर्ने, स्तरोन्नतिको लागि आवश्यक बजेट प्रवन्ध गर्नुपर्ने विषयमा उनी मौन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर