अधुरै रह्यो रुपाको शिक्षिका बन्ने सपना, एकै परिवारको चार जनाको निधनले गाउँ नै शोकमा – Nepal Press

अधुरै रह्यो रुपाको शिक्षिका बन्ने सपना, एकै परिवारको चार जनाको निधनले गाउँ नै शोकमा

हेटौँडा । मंसिर १३ गते बिहान मकवानपुरगढी गाउँपालिका २ कुर्लेपाखा बस्ने ३४ वर्षकी रुपा स्याङ्तानलाई गाउँ नजिकै रहेको कालिदेवी प्राविमा पुग्नु थियो । घरमा हजुरआमा सिकिस्त हुनुहुन्थ्यो र पनि उनी कालिदेवी पुग्नैपर्ने थियो ।

सरकारी जागरि खाएर परिवार चलाउन थप सहज हुने सल्लाह बमोजिम शिक्षिकामा जागिर खानको लागि दरखास्त आह्वान भएको कालिदेवी पुग्नुपर्ने बाध्यताबीच घरमा सिकिस्त हजुरआमा छाडेर केही क्षणको लागि आफ्नै वडामा रहेको छाप गाउँमा श्रीमान ३५ वर्षका भीमबहादुर स्याङतानको साथ लागेर उनी दरखास्त भर्नको लागि जाने निर्णयमा पुगिन् ।

कक्षा १२ पास गर्नसाथ भीमसँग विवाह बन्धनमा बाँधिएकी रुपाले त्यसयता दुईवटा सन्तान जन्माएर उनिहरुको लालनपालनमा समय खर्च गर्नुपरेको कारण आफ्नो सपना पुरा गर्न पाएकी थिइनन् । १४ र ९ वर्षका छोराहरु विद्यालय गएको कारण रुपा आफ्नो नावालिका ४ महिने छोरी काखी च्यापेर श्रीमानको साथमा प्रदेश ३–०२–०१२ प ६९११ नंबरको मोटरसाइकलमा विद्यालय पुगेर फर्म भर्दाभर्दै घरबाट हजुरआमा बितेको खबर आएपश्चात हतार हतार घरतिर निस्कन्छन् ।

घरमा हजुरआमाको मृत्युको खबरले स्तब्ध रुपाको पतिले चलाएको मोटरसाइकल घर नपुग्दै स्थानीय धवाडी खोला नजिकै अनियन्त्रित हुन्छ र दुर्घटनाग्रस्त बन्छ । सरकारी जागिर खाएर परिवारलाई सुख दिने रुपाको सपना धवाडीमा नै अस्ताउँछ ।

अर्थात उनको र नाबालक छोरीको घटनास्थलमा नै मृत्यु भयाे । घरमा हजुरआमाको शवको अन्तिम मुहार हेर्ने रुपा दम्पतीको इच्छा धवाडीमा नै बिलायाे । गम्भीर घाइते श्रीमानको पनि उपचारको लागि चितवन लैजाँदै गर्दा बाटोमा नै मृत्यु हुन्छ ।

वृद्ध हजुरआमाको शोकमा परेको स्याङतान परिवारलाई एकैपटक चारजना गुमाउन पर्छ र टोल नै शोकमा डुबेकाे छ । मेहनती रुपाको राहत कोटामा जागिर खाएर शिक्षिका बन्ने सपना धवाडीमा अस्थाएपछि अहिले गाउँ शोकमा डुबेको छ । १४ र ९ वर्षका छोराहरुले आफ्ना अविभावक र बहिनी गुमाउनु परेको छ ।

हजुरआमाको निधनको खरबले आत्तिएका स्याङ्तान दम्पतीको सोहि समयमा भएको निधनले परिवारमा बज्रपात परेको स्याङतानको छिमेकी समेत रहेका मकवानपुरगढी गाउँपालिका वडा नंबर २ का वडा सदस्य राम चौरेलले बताए ।

घरमा ८८ वर्षकी हजुरआमाको शव कुर्दाकुर्दै नाति, नातिना बुहारी र नावालिक छोरीको निधनले गाउँनै पीडामा परेको उनले बताए । सबैलाई सहयोग गर्ने स्वभावा स्याङतान दम्पतीको निधन भएको खबर थाहा हुँदा समेत अहिलेसम्म आफूहरुलाई उनीहरुको दुर्घटना भएको छैन, आफूहरुसँगै छन भन्ने भान हुने गरेको चौरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर