नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह – Nepal Press

नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ ।

मंगलबार नेपाल भ्रमणमा रहेका इन्टरनेशनल कोअपरेशन अर्गनाईजेसन फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया (आईकोसा) प्रतिनिधिमण्डलसँग चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले नेपालमा जलविद्युत, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि समेत कुरा गरेका छन् । आइकोसाका अध्यक्ष डा. कुरोसे नावुहिरो सहितको प्रतिनिधीमण्डलसंग अध्यक्ष मल्लले भने, ‘नेपाल र जापानबीच आर्थिक र कुटनीतिक तवरले उच्चस्तरीय सम्वन्ध छ ।

लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो । जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि म आग्रह गर्दछु । प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहल समेतगर्नेछौं ।’

नेपालमा लगानीको सुनिश्चिततासँगै श्रमशक्ती पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । अध्यक्ष मल्लले जापानी प्रविधी भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको बताए ।

चेम्बर पदाधिकारीसंगको भेटमा आईकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखे । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सवैभन्दा बढी प्रभावित भएको उनको भनाई छ ।

नेपालमा जलविद्युत, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने अध्यक्ष कुरोसे नावुहिरोले प्रतिवद्धता समेत जनाए । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने आश्वासन समेत उनले दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर