ग्रीनजो इनर्जी इन्डियाले गर्‍यो नेपाल सरकारसँग ग्रीन हाइड्रोजन सहकार्यको प्रस्ताव – Nepal Press

ग्रीनजो इनर्जी इन्डियाले गर्‍यो नेपाल सरकारसँग ग्रीन हाइड्रोजन सहकार्यको प्रस्ताव

काठमाडौं । नेपालको ग्रीन हाइड्रोजन उत्पादन अभियानमा भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले लगानीका लागि चासो देखाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतसँगको भेटमा ग्रीनजो इनर्जी इन्डियाका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले नेपाल सरकारले आवश्यक प्रबन्ध मिलाएमा आफ्नो कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको प्रतिबद्धता जनाए ।

जवाफमा मन्त्री बस्नेतले ग्रीन हाइड्रोजनको लागि आवश्यक नीति बनाउन पहल गर्ने र एक अध्ययन समिति बनाइ पाइलट प्रोजेक्ट निर्माणमा ग्रिनजो इनर्जी इन्डियासँग सहकार्य गर्ने बताए ।

ऊर्जामन्त्री बस्नेतले नेपालको इनर्जी ग्रिडका लागि ग्रीन हाइड्रोजनका सम्भावित फाइदाहरूबारे चर्चा गरेका थिए ।

हाल भारतको गुजरातमा हाइड्रोजन उत्पादनका लागि इलेक्ट्रोलाइजर मेसिन उत्पादन गरेको ग्रिनजो इनर्जी इन्डियाको अनुभव सुन्दै मन्त्री बस्नेतले फ्युल सेल टेक्नोलोजीको साथै ग्रीन हाइड्रोजनलाई कसरी एकीकृत गर्दा ग्रिड स्थिरता र विद्धुत प्रसारणको गुणस्तर सुधार गर्न सकिन्छ भन्ने बारे जानकारी लिएका थिए ।

भेटमा अग्रवालले हरित हाइड्रोजनलाई नेपालको तेस्रो प्रमुख ऊर्जा स्रोतको रूपमा स्थापित गर्न सकिने सुझाव दिए । साथै हरित हाइड्रोजनमा २ खर्व रुपैयाँ बराबरको लगानी भित्र्याउन सकिने बताए ।

सौर्य ऊर्जा उपलब्ध नहुने समयमा र ग्रिडको माग चरम अवस्थामा रहेका बेला साथै रातको समयमा ग्रिडको क्षमतामा निरन्तरता दिन हरित हाइड्रोजनबाट ऊर्जा उत्पादन गरी प्रयोग गर्न सकिने उनले सुझाव दिए ।

मन्त्री बस्नेतलाई प्रबन्ध निर्देशक अग्रवालले पाइलट प्रोजेक्टको रूपरेखा समेत दिएका थिए । हाइड्रोजन नीतिमा स्पष्टता र साथै हाइड्रोजनको खरिद सम्झौता नीति आएमा नेपालको ऊर्जा क्षेत्रमा २ खर्ब रुपैयाँ भन्दा बढी लगानी आउन तयार रहेको जानकारी दिए ।

मन्त्री बस्नेतले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्ने अभिनव दृष्टिकोणको प्रशंसा गर्दै ग्रिनजो इनर्जी इन्डियाको प्रस्ताव प्रति गहिरो चासो व्यक्त गरे ।

नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न ग्रीन हाइड्रोजनको क्षमताको बढ्दो पहिचानलाई जोड दिइएको थियो ।

ग्रीनजो इनर्जी इन्डिया र नेपाल सरकारबीचको सहकार्यमा देशले चाँडै नै थप दिगो र स्थिर ऊर्जा भविष्यतर्फ महत्त्वपूर्ण कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर