११ वर्षमा अर्थतन्त्रको आकार ३४ खर्बले वृद्धि, कृषिको योगदान छैन उत्साहपूर्ण – Nepal Press

११ वर्षमा अर्थतन्त्रको आकार ३४ खर्बले वृद्धि, कृषिको योगदान छैन उत्साहपूर्ण

घरजग्गा कारोबार घट्दा निजी आवासले उकास्यो अर्थतन्त्रमा योगदान

काठमाडौ । पछिल्लो दुई आर्थिक वर्षको अनुमान समेतलाई जोड्दा देशमा ११ वर्षयता अर्थतन्त्रको आकार ३४ खर्बले बढेको छ । आर्थिक वर्ष २०७९/८० र ०८०/८१ को अनुमानका आधारमा यो देखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो दुई आर्थिक वर्षको आंकडालाई अनुमान भनेर राख्ने गरेको छ भने त्यसअघिका वर्षको आंकडालाई यथार्थ आंकडा मान्छ ।

आर्थिक वर्ष २०७०/७१ मा देशको अर्थतन्त्रको आकार २२ खर्ब ३२ अर्ब रूपैयाँ थियो । अहिले अर्थतन्त्रको आकार बढेर ५७ खर्ब ४ अर्ब रूपैयाँ पुग्ने सरकारी अनुमान छ । तर, कृषि क्षेत्रको योगदान भने उत्साहपूर्ण छैन । कुनै समय अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषि क्षेत्र थियो तर अहिले यो क्षेत्रलाई सेवा तथा औद्योगिक क्षेत्रले पछि पारेको छ ।

आर्थिक बर्ष २०७०/७१ मा अर्थतन्त्रमा कृषिको योगदान ८ खर्ब ५ अर्ब २७ करोड रहेकोमा चालू वर्ष यस क्षेत्रको योगदान १६ खर्ब २४ अर्ब पुग्ने अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कृषि क्षेत्र (प्राथमिक क्षेत्र) को कुल गार्हस्थ उत्पादनमा २४.६ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।

तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज ढकाल अन्य क्षेत्रको योगदान बढ्दै गएकाले यो क्षेत्रको घटेको जस्तो देखिएको तर यथार्थमा नघटेको बताउँछन् । हरेक वर्ष उत्पादन हुने कृषि उपजको मूल्यलाई आधार मानेर अर्थतन्त्रमा कति योगदान छ भनेर निकालिन्छ । यो क्षेत्रबाट वार्षिक करिब १६ खर्ब रूपैयाँ बराबरको उत्पादन हुने अनुमान छ ।

कृषि अन्तर्गत हरेक वर्ष उत्पादन हुने अन्न बाली, तेलहन, पशुपन्छी, दूध अण्डा, वन तथा वनस्पतिलगायत पर्दछन् । चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । धानलगायतका वर्षे बालीको उत्पादनमा भएको वृद्धि, दलहन, तरकारी तथा नगदे बालीमा भएको वृद्धि तथा पशुपंन्छीजन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) मा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसअघिको वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत कायम थियो ।

कुन वर्ष कृषि क्षेत्रको योगदान कति ?

२०७०/७१ : ८ खर्ब ५ अर्ब २७ करोड

०७१/७२ : ८ खर्ब ४६ अर्ब ५६ करोड

०७२/७३ : ८ खर्ब ७९ अर्ब

०७३/७४ : ९ खर्ब ६२ अर्ब ४१ करोड

०७४/७५ : १० खर्ब १८ अर्ब २६ करोड

०७५/७६ :११ खर्ब २ अर्ब २० करोड

०७६/७७ : १२ खर्ब ९३ करोड

०७७/७८ : १२ खर्ब ७५ अर्ब ८७ करोड

०७८/७९ :१३ खर्ब ८३ अर्ब ५३ करोड

०७९/८० : १५ खर्ब १० अर्ब ३४ करोड (संशोधित अनुमान)

०८०/८१ : १६ खर्ब २४ अर्ब  (अनुमानित)

चालू आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक (कृषि) को २४.६ प्रतिशत, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा १२.५ प्रतिशत र ६२.९ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०७९/८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमश: २४.४ प्रतिशत, १३.१ प्रतिशत र ६२.५ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान गरिएको छ ।

कुन वर्षको अर्थतन्त्रको आकार कति ?

२०७०/७१ : २२ खर्ब ३२ अर्ब ५२ करोड

०७१/७२ : २४ खर्ब २३ अर्ब ६३ करोड

०७२/७३ : २६ खर्ब ८ अर्ब १८ करोड

०७३/७४ : ३० खर्ब ७७ अर्ब १७ करोड

०७४/७५ : ३४ खर्ब ५५ अर्ब ९४ करोड

०७५/७६ : ३८ खर्ब ५८ अर्ब ९३ करोड

०७६/७७ : ३८ खर्ब ८८ अर्ब ७० करोड

०७७/७८ : ४३ खर्ब ५२ खर्ब ५५ करोड

०७८/७९ : ४९ खर्ब ७६ अर्ब ५५ करोड

०७९/८० : ५३ खर्ब ४८ अर्ब ५२ करोड

०८०/८१ : ५७ खर्ब ४ अर्ब ८७ करोड

घरजग्गा कारोबार घट्दा पनि निजी आवासले उकास्यो अर्थतन्त्र

घरजग्गा कारोबारको मन्दी अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्षमा घरजग्गा कारोबारको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । तर, निजी आवास तथा भाडामा बढेको कारोबारले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.७२ प्रतिशत कायम गरिएको छ । ११ वर्षअघि रियल स्टेटसम्बन्धी गतिविधि २ खर्ब ६७ अर्ब भएकोमा यो बर्ष ५ खर्ब ४७ अर्ब पुग्ने अनुमान छ । यसमा निजी आवासको हिस्सा बढी भएको तथ्यांक कार्यालयले जनाएको छ ।

यता राष्ट्र बैंकको तथ्यांकले पनि चालू आर्थिक वर्षको ८ महिनासम्ममा आवासीय घर कर्जा प्रवाह बढेपनि घरजग्गा कारोबारमा खासै बढोत्तरी हुन नसकेको उसले प्रवाह गरेको ऋणले पुष्टि गर्छ । पछिल्लो ८ महिनासम्म ३ खर्ब ८४ अर्ब ४७ करोड रूपैयाँ प्रवाह भएको छ । सातौं महिनामा (माघ मसान्तसम्म) ३ खर्ब ८० अर्ब थियो । एक महिनामा ४ अर्ब बढी आवासीय कर्जा गएको देखिन्छ ।

यो अवधिमा घरजग्गा कर्जा २ खर्ब ४८ अर्ब १३ करोड रूपैयाँ प्रवाह भएको छ । यता घरजग्गामा भने माघ मसान्तसम्म २ खर्ब ४८ अर्ब ७४ करोड कर्जा प्रवाह भएको छ । एक महिनामा ६१ करोडमात्र घरजग्गा कर्जा प्रवाह भएको देखिन्छ । घरजग्गा कारोबार घटेपछि राजस्व संकलन पनि प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर