धितोपत्र बोर्डको अध्यक्ष हमाललाई दोहोर्‍याउन स्वार्थ समूह सक्रिय, तर उनी भन्छन्- देशै छाडौं जस्तो लाग्दैछ – Nepal Press

धितोपत्र बोर्डको अध्यक्ष हमाललाई दोहोर्‍याउन स्वार्थ समूह सक्रिय, तर उनी भन्छन्- देशै छाडौं जस्तो लाग्दैछ

हमाल नभए को को छन् अध्यक्षको प्रतिस्पर्धामा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नै दोहोर्‍याउन अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्ताव अघि बढाएका छन् । हमाललाई नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ । अरुलाई नियुक्त गर्ने हो भने चाहिँ आवेदन माग गर्नुपर्ने हुन्छ ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेर हमाललाई अध्यक्ष नियुक्त गरेको थियो । हमालको कार्यकाल पुस २३ गतेसम्म छ । उनी ढुंगाना निलम्बनपछि बाँकी रहेको कार्यकाललाई नियुक्त भएका थिए ।

सरकारले चाहेमा हमालको कामको मूल्याङ्कन गरेर एक कार्यकाल अध्यक्ष नियुक्त गर्न सक्नेछ । यसैमा टेकेर उनलाई निरन्तरता दिन नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिलाउन सक्रिय बिचौलियाहरुसमेत सक्रिय छन् ।

हमाल आइतबार अर्थ मन्त्रालयमा पुगेका थिए । उनको नियुक्तिको लागि प्रस्तावसमेत उनकै उपस्थितिमा तयार पारिएको चर्चासमेत चलेको छ ।

तर, नेपाल प्रेससँग कुरा गर्दै हमालले भने आफू अब नदोहोरिने बताए । उनीमाथि नयाँ स्टक कम्पनीलाई लाइसेन्स दिलाएर सरकारी स्वामित्वको कम्पनीलाई समेत धराशायी बनाउने खेलमा लागेको आरोप छ ।

हमालले नेपाल प्रेससँग भने, ‘म अब अर्काे कार्यकालको लागि अध्यक्ष बन्ने तयारीमा छैन । म नेताहरुकहाँ पुनः मलाई नै अध्यक्ष बनाइदिनु भनेर गएको पनि छैन । तर, केही सांसद र लगानीकर्ताले पुनः तपाईं नै अध्यक्ष बन्नुपर्छ भनिरहनु भएको छ । शेरबहादुर देउवाले राजनीति गर्ने व्यक्तिभन्दा पनि प्रोफेसनल व्यक्ति खोजेर नै मलाई अध्यक्ष बनाउनु भएको हो । तर, अहिले चाहिँ काम गर्ने वातावरण नभएकाले देशमै नबसौं जस्तो पनि लाग्छ ।’

हमालबाट स्वार्थ पूरा गर्ने समूह नै उनलाई जसरी भए पनि दोहोर्‍याउन सरकारमाथि दबाब बढाइरहेको छ । यसमा मुख्यतः नयाँ स्टक कम्पनी र कमोडिटी स्टक एक्सचेन्ज लाइसेन्सको स्वार्थ गाँसिएको छ ।

हमालको बारेमा बजार पनि विभाजित छ । शेयर बजारका केहीले उनको काम राम्रो भनेका छन् भने केहीले पैसाको लेनदेनमा भेन्चर क्यापिटल र ब्रोकरको नयाँ लाइसेन्स बाँडेको आरोप लगाइरहेका छन् ।

हमालले २१ महिनाको समयमा आईपीओ निष्काशनमा मापदण्ड बनाएका छन् । उनकै पालामा भेन्चर क्यापिटल र ब्रोकर लाइसेन्स बाँडिएको छ । उनले नै बुक बिल्डिङ माध्यमबाट आईपीओको ब्रेकथ्रु जस्ता काम गरेको विषयलाई उपलब्धिका रुपमा व्याख्या गरेका छन् ।
उनको २१ महिना कार्यकालमै केही विवादित निर्णयसमेत भएको छ । नियमविपरीत बीमा कम्पनीलाई प्रिमियममा शेयर निष्कासन अनुमति दिएको भनेर मुद्दा पनि परेको छ ।

अझै पनि नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने काम बाँकी छ । यही कामका लागि स्वार्थ समूहले हमाललाई फेरि त्यही कुर्सीमा राख्न चाहेको आरोप छ । यो निर्णय प्रक्रियासमेत अन्तिम चरणमा छ ।

हमालबाहेक को को छन् प्रतिस्पर्धामा ?

हमाल नभएको अवस्थामा धितोपत्र बोर्डको अध्यक्ष बन्न थप करिब आधा दर्जन व्यक्ति प्रतिस्पर्धामा छन् । माओवादी निकट चिरञ्जीवी चापागाईं अध्यक्ष बन्न लागिपरेका छन् । उनी कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) को अध्यक्ष बनेका थिए ।

कांग्रेस निकट चन्द्रसिंह साउद पनि बोर्डको अध्यक्ष बन्न लागिपरेका छन् । उनी यसअघि नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत बनिसकेका छन् । स्टक एक्सचेन्जमा अनियमितता गरेको आरोप लागेपछि उनले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका थिए ।

माओवादी निकट नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठको नाम पनि चर्चामा छ । त्यस्तै धितोपत्र बोर्डकै निर्देशकहरु पनि अध्यक्षको प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर