भदौबाट तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु हड्तालमा – Nepal Press

भदौबाट तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु हड्तालमा

हेटौंडा । बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरुले ‘हडताल’ गरेका छन् । भदौबाट तलब नपाएपछि प्राध्यापकहरुले सात बुँदै माग अघि सार्दै हडताल गरेका हुन् ।

प्राध्यापकहरुको हड्तालले विश्वविद्यालयको पठनपाठन अवरुद्ध भएको छ । बी फार्मेसी, बीटीएच, बीएस्सीबीएमएलटी, बीएस्सी नर्सिङका २०० विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् ।

प्राध्यापक कल्याणकारी समिति (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान)ले प्रदेश सरकारसँग पटक पटक छलफल गर्दासमेत माग पूरा नभएपछि बाध्य भएर हड्तालमा उत्रनु परेको जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक विश्वास सापकोटाले आफूहरुले अध्यापन गराउने कुनै वातावरण सृजना नभएपछि बाध्य भएर हड्तालमा उत्रनु परेको बताए ।

यसबारे आफूहरुले प्रदेश सरकार, भीसी, रेक्टर, डीनलगायतको सम्वन्धित निकायसँग चरणबद्ध छलफल तथा वार्ता गरे पनि कुनै सुनुवाइ नभएपछि प्रतिष्ठानका २४ जना प्राध्यापक बाध्य भएर हडतालमा उत्रनु परेको सापकोटाले नेपालप्रेससँग बताए ।

समितिले नियमित तलब भत्ताको उपलब्धता सुनिश्चित हुनुपर्ने, प्रतिष्ठान र शिक्षकरुको स्थायित्वको लागि सेवा आयोगको गठन हुनुपर्ने, विभिन्न स्थानमा छरिएको शैक्षिक कार्यक्रमलाई एकै स्थानमा व्यवस्थित बनाएर खर्च कटौती गर्नुपर्ने, प्रतिष्ठानको ऐनअनुसारको प्राज्ञिक परिषद, सभा तथा अन्य समितिहरुमा शिक्षकलाई सहभागिता गराई पारदर्शी बनाइनुपर्ने, शिक्षकहरुको पेशागत वृत्तिविकासका कार्यक्रम समय तालिका बनाएर लागू गरिनुपर्ने, प्रयोगशाला, पुस्तकालयको उचित व्यवस्था हुनुपर्ने र मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयसरह आर्थिक तथा मानवीय स्रोतको व्यवस्थापन गरिनुपर्ने सात बुँदे माग राखेको छ ।

हड्तालले प्रतिष्ठानका २०० जना विद्यार्थीको भविष्य अन्योल भएको भन्दै विद्यार्थी कल्याणकारी समितिले तुरुन्त पठनपाठन सञ्चालनको लागि सरकारसँग अनुरोध गरेको छ । समितिका सचिव सन्देश बुढाथोकीले लामो समयसम्म पढाइ अवरुद्ध हुँदा आफूहरुको शैक्षिक भविष्य अन्योल हुने बताए ।

पढाइ अवरुद्ध हुँदा नियमित हुने परीक्षामा समेत समस्या आउने भन्दै उनले सरकार र प्राध्यापकहरुको समस्या तुरुन्त समाधान हुनुपर्ने बताए ।

प्राध्यापकहरुको मागहरुबमोजिम ल्याब र पुस्तकालयको उचित व्यवस्था नहुँदा विद्यार्थीलाई समस्या उत्पन्न भएको उनको भनाइ छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले आफूहरु समस्या समाधानको लागि नियमित लागिरहेको बताए । उनका अनुसार प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको हो ।

चिकित्सा शिक्षा आयोगको नीतिअनुरूप कुल विद्यार्थीमध्ये ७५ प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ । सोबापतको रकम प्रदेश सरकारले प्रतिष्ठानलाई भुक्तानी दिनुपर्ने हुन्छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि सो शीर्षकमा प्राप्त हुने बजेट प्रतिष्ठानलाई उपलब्ध नगराउँदा प्राध्यापकहरूको तलब भत्तालगायतका सुविधाबापतको रकम भुक्तानीमा समस्या भएको उनले बताए ।

यस विषयमा आफूहरु मुख्यमन्त्रीदेखि स्वास्थ्य र अर्थ मन्त्रालयसँग नियमित सम्पर्कमा रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर