जाग्दै राजावादी : झापामा लिङ्देन र काठमाडौंमा दुर्गा प्रसाईंको धुमधाम तयारी – Nepal Press

जाग्दै राजावादी : झापामा लिङ्देन र काठमाडौंमा दुर्गा प्रसाईंको धुमधाम तयारी

घाँटीले दुःख दिएर भ्वाइस रेस्टमा प्रसाईं, पूर्वराजालाई गृहजिल्लामा स्वागत गर्न लिङदेनको खटाइ

काठमाडौं । वर्तमान राजनीतिक र सरकारका क्रियाकलापप्रति बढ्दो जनअसन्तुष्टिका बीच राजसंस्था पक्षधरहरु गणतान्त्रिक व्यवस्थाविरुद्ध मुखर हुन थालेका छन् । यसै साता काठमाडौं र झापामा राजावादीहरुको प्रदर्शनले राजसंस्था पुनर्स्थापनाको पक्षमा बलियो माहोल बन्ने उनीहरुको विश्वास छ ।

काठमाडौंमा विवादित छविका व्यवसायी दुर्गा प्रसाईंले व्यवस्था उल्ट्याउने भन्दै आउँदो ७ गते जनप्रर्दशनसहितको कार्यक्रम आयोजना गरेका छन् । उनले व्यवस्था नै उल्ट्याउने भन्दै घोषणा गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को उद्घाटन काठमाडौंबाट गर्न लागेका हुन् । यो अभियानमा पूर्वराजा स्वयमको भने उपस्थिति रहने छैन । पूर्वराजालाई निम्त्याउने प्रयास प्रसाईले गरे पनि उनी आउन नखोजेको बुझिएको छ ।

यसअघि प्रसाईले मेची पुलमा यस्तै अभियानको उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसलाई निम्त्याउन सफल भएका थिए । त्यो बेला उनी एमालेमा थिए र राजतन्त्रको पक्षमा खुलिसकेका थिएनन् । राजसंस्थासँग नजिकिएपछि एमालेले प्रसाईंलाई पार्टीबाट हटाएको छ । त्यसपछि उनी खुलेर राजावादी बनेका हुन् । अहिले उनको एमालेसँग तिक्ततापूर्ण सम्बन्ध छ ।

प्रसाईंको अभियानलाई लिएर पूर्वराजसंस्थाले स्पष्ट दृष्टिकोण बनाइसकेको छैन । स्रोतका अनुसार प्रसाईंको पृष्ठभूमि अस्थिर र अराजनीतिक भएकाले पूर्वराजा उनीप्रति आश्वस्त छैनन् । ७ गते प्रसाईंले कति मान्छे उतार्न सक्छन् र त्यसपछि कसरी अगाडि बढ्छन्, त्यसले उनीप्रतिको दृष्टिकोण स्पष्ट हुने स्रोतको भनाइ छ ।

यद्यपि, पूर्वराजपरिवारका सदस्यहरुसँग प्रसाईंको बाक्लै हिमचिम छ । पूर्वराजा र पूर्वयुवराजसँग प्रसाईंले तारन्तर भेटिरहेका हुन्छन् ।

प्रसाईले काठमाडौंको कार्यक्रम सफल र भव्य बनाउन सबै जोडबल लगाइरहेका छन् । काठमाडौंबाट पनि व्यापकरुपमा मानिस ओसार्ने उनको तयारी छ । यद्यपि, उनलाई आफ्नै स्वास्थ्यले साथ दिइरहेको छैन । क्यान्सर सर्भाइभर प्रसाईं अहिले भ्वाइस रेस्टमा रहेको निकट स्रोतले जानकारी दियो ।

‘भाषण र अन्तरवार्तामा बढी बोलेर उहाँलाई अलिकति गाह्रो भएको थियो । डाक्टरले केही दिन नबोल्न सुझाव दिएका छन् । अहिले सकेसम्म लेखेर नै काम चलाइरहनुभएको छ । थेरापी पनि गरिरहनुभएको छ’, स्रोतले भन्यो ।

प्रसाईलाई केही वर्षअघि जिभ्रोको क्यान्सर भएको थियो । उनले भारतको मेदान्त अस्पतालमा शल्यक्रिया गराएका थिए । क्यान्सरको उपचार गर्न विदेश जानु पर्दा नेपालीहरुले पाएको दुःख देखेर उनले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

अहिले प्रसाईंले उठाइरहेको मुख्य मुद्दा भने बैंक र लघुवित्तको व्याजसम्बन्धी छ । उनले साना ऋणीको ऋण बैंक र लघुवित्तले मिनाहा गर्नुपर्ने माग गरेका छन् । जनसमर्थनका लागि उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीलाई पनि राजनीतिक मुद्दाका रुपमा अघि सारेका हुन् । उनको अभियानले राम्रै चर्चा पनि पाइरहेको छ । मुलधारका सञ्चारमाध्यमले प्रसाईंलाई स्थान नदिए पनि युट्यूबको बलमा उनले आफ्नो अभियानको प्रचार प्रसार गर्न सफल भएका छन् । तल्लो तप्काका जनतामा उनको आकर्षण देखिन्छ । तर, वास्तविक शक्ति परीक्षण चाहिँ ७ गते नै हुनेछ ।

यता देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको छुट्टै तयारी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ९ गते पूर्वराजालाई आफ्नो गृहजिल्ला झापामा स्वागत गर्दैछन् । बिर्तामोडको एउटा विद्यालयमा निर्माण भएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा बिर्तामोड जाने कार्यक्रम तय भएको हो । पूर्वराजाको ‘सवारी’ लाई व्यापक जनसहभागीतासहित भव्य बनाउन लिङदेन आफैं खटिएका छन् ।

लिङ्देनले गत बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासमा गएर भेटेका थिए । सोही भेटपश्चात झापा भ्रमणको खाका बनेको हो । आफ्नो गृहजिल्लामा राजावादी शक्ति देखाउन लिङ्देन निकै उत्साहित छन् । दुर्गा प्रसाईले नवराजावादी बनेर चर्चा बटुलिरहेका बेला राप्रपालाई ‘बुढो बाजेको खाँट्टी पेडा पसल’ बन्नुपर्ने चुनौती छ ।

दुर्गा प्रसाईंको अभियानप्रति राप्रपाभित्र समान धारणा देखिँदैन । एकथरि नेताहरु प्रसाईंको कटु आलोचना गर्छन् । उनको अभियान केवल व्यक्तिगत स्वार्थप्रेरित रहेको आरोप लगाउँछन् । प्रसाईंले विगतमा राप्रपा अध्यक्ष लिङ्देनको सार्वजनिक आलोचना गरेका थिए । त्यसलाई लिएर लिङ्देननिकट नेताहरु उनीप्रति नकारात्मक बनेका हुन् ।

राप्रपाकै एउटा तप्कामा भने राजावादी आन्दोलन जसले अघि बढाए पनि त्यसलाई सघाउनुपर्ने पक्षमा छ । वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजावादी शक्तिहरु फुटेर होइन, जुटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

2 thoughts on “जाग्दै राजावादी : झापामा लिङ्देन र काठमाडौंमा दुर्गा प्रसाईंको धुमधाम तयारी

  1. दुवै हावा समाचार । दुर्गाले ट्वाँक खान दिएका दुईचार जना ट्वाँकेले राजा ल्याउने ? अनि लिंगदेनको कुनै कार्यक्रम नै छैन । क्याम्पसमा हुने कार्यक्रममा राजा जाने मात्र हो । यस्ता समाचारलाई बढाई चढाई गरेर लेख्ने पनि राजाले देलान र खाउला भन्ने दासहरू हुन् ।

  2. प्रचन्ड -प्रसाइँ !!
    =========
    प्रचन्डको भाले हुन देश लुट्न मिल्ने बातावरण तयार गर्न चलाएको ‘जनयुद्द’ र दुर्गा प्रसाइँ को बैंक को रिन मिनाह पाउन गरेको ‘उत्पात’ उस्तै हुन !!
    प्रचन्डको धुन ’राजतन्त्र हटाउने’, दुर्गा प्रसाइँ ले समाएको फेरो ‘राजतन्त्र’ फर्काउने !!
    दुबैका मिठा कुरामा युवाहरु लागे भिडे मरे पहिले अहिले पनि हुने च्ग त्यस्तै !!
    प्रचन्ड को राजमा देश कस्तो भएको छ त्यो अगाडि छ : कङाल बन्यो, कम्जोर बन्यो : प्रसाइँको राज मा रीण तिर्नै नपर्ने हुने हो : अनी देश कहाँ पुग्छ !?
    यी दुबै भारतीय प्यादा हुन, उतै बाट चलेका : दुबैको धेय देश कम्जोर बनाउने : भारतले चाहेको जस्तै !!
    सावधान : ‘प्रसाइँ’ को बिगत हेर्नुस्, कहिले देखी हुन यी राजातन्त्रबादी !? प्रसाईंले ल्याउने राजा कस्तो !? अनी राजा ल्याइदिन्छन भनेर कुद्या !?
    वास्तविक कुरा : प्रसाइँ : प्रचन्डको उपज, र अहिले भित्री रुपमा प्रचन्डले खेलाएको खेलौना : अर्को रुप प्रचन्ड को !!
    नबहकिनुस् : बिचार पुर्‍याउनुस् : के गर्न पर्ने, के गर्दै हुनुहुन्छ !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर