विश्वकप उपाधि भिडन्त : भारतको ह्याट्रिक जित कि अष्ट्रेलियाको डबल ह्याट्रिक ? – Nepal Press

विश्वकप उपाधि भिडन्त : भारतको ह्याट्रिक जित कि अष्ट्रेलियाको डबल ह्याट्रिक ?

हेटौँडा । सन् १९७५ बाट सुरु भएको आईसीस विश्वकप क्रिकेटको १३ औँ संस्करणको फाइनल प्रतिस्पर्धामा आज पाँच पटकको च्याम्पियन अष्ट्रेलिया र २ पटकको च्याम्पियन भारत भिड्दै छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने प्रतिस्पर्धामा दुवै टिमको लक्ष्य उपाधि जित्नु नै रहेको छ । आज सर्वाधिक विजेता अष्ट्रेलिया ६ पटक विश्वकप जितेर उपाधिको ‘डबल ह्याट्रिक’ गर्न चाहन्छ भने भारत आफ्नो उपाधि संख्यालाई तिन पुर्‍याउँदै ‘ह्याट्रिक’ गर्न चाहन्छ ।

आठ पटक विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलियाले पाँच पटक उपाधिमाथि कब्जा जमाएको छ भने भारतको रेकर्ड पनि उत्कृष्ट छ । भारत हालसम्म ३ पटक फाइनलमा पुग्दै दुई पटक उपाधि जित्न सफल भएको छ ।

भारतले ३ पटक विश्वकप फाइनलमा पुग्दा हारेको एक खेल भनेको अहिलेको प्रतिस्पर्धी अष्ट्रेलियाविरुद्ध नै हो । सन् २००३ को विश्वकप क्रिकेट फाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो ।

हालसम्म अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले सन् १९८३ र २०११ मा उपाधिमाथि कब्जा जमाएको छ ।

हेड टु हेड मा अष्ट्रेलिया बलियो

पाँच पटक विश्वकप क्रिकेट उपाधि जितेको अष्ट्रेलिया निःसन्देह बलियो टिम हो । भारत विरुद्ध पनि अष्ट्रेलियाको रेकर्ड निकै राम्रो देखिन्छ ।

हालसम्म यी दुई टोलीबीच १५० एक दिवसीय खेल हुँदा ८३ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने ५७ मा भारत विजयी भएको छ । यो पटकको विश्वकपको समूह चरणको खेलमा भने भारत विजयी भएको छ ।

समूह चरणमा अस्ट्रेलियालाई भारतले ४९ ओभर तीन बलमा १९९ रनमा अलआउट गर्दै खेल ६ विकेटले जितेको थियो । यो विश्वकपमा भारत मात्र हालसम्म अपराजित टिम हो ।

आज हुने फाइनल प्रतिस्पर्धामा विश्वकप क्रिकेटको च्याम्पियन हुँदा अनुभव बटुलिसकेका खेलाडीहरू छन् ।

अष्ट्रेलियाले सन २०१५ मा विश्वकपको उपाधि जित्दाका डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, जोश हेजलवूड, मिचेल स्टार्क, मिचेल मार्स र प्याट कमिन्स गरी सात जना खेलाडी छन् भने भारतले २०११ मा विश्वकप जित्दाका विराट कोहोली र रविचन्द्र अस्विन गरी दुई खेलाडी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर