विश्वकपमा भारतीय खेलाडीको दबदबा- ब्याटिङमा कोहली र बलिङमा सामीको लिड – Nepal Press

विश्वकपमा भारतीय खेलाडीको दबदबा- ब्याटिङमा कोहली र बलिङमा सामीको लिड

नयाँ दिल्ली । घरेलु मैदानमा जारी एक दिवसीय विश्वकपको उपाधिका लागि भारतले आइतबार सर्वाधिक विजेता अस्ट्रेलियासँग खेल्दैछ ।

अहमदावादमा हुने खेलअघि भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ । लिग चरणका ९ वटै खेल जितेको भारतले बुधबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएर ७० रनले जितेको थियो ।

यस खेलमा ब्याटिङतर्फ विराट कोहली र बलिङतर्फ मोहम्मद सामीले कीर्तिमान बनाएका थिए । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५०औं शतक पूरा गर्दै सचिन तेन्दुलकरको नाममा रहेको विश्व कीर्तिमान तोडे । उनले जारी विश्वकपमै सचिनको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए ।

यता सामी न्युजिल्यान्डविरुद्ध ७ विकेट लिएर एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने भारतीय बलर बने । यसअघि स्टुवार्ट बिन्नीले सन् २०१४ मा ६ विकेटसम्म लिएका थिए । सामी विश्वकपको नकआउट चरणको एकै खेलमा ७ विकेट लिने पनि पहिलो बलर बने ।

त्यतिमात्र होइन उनी एकै विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय बलर पनि बनेका छन् । उनले जारी प्रतियोगितामा लिएको विकेट संख्या २३ पुगेको छ । यसअघि जाहिर खानले २१ विकेटसम्म लिएका थिए । सामीलाई फाइनलमा थप विकेट लिने अवसर बाँकी छ । त्यसैले उनले लिने विकेटको संख्या अझै बढ्न सक्नेछ ।

जारी विश्वकपमा ब्याटिङतर्फ कोहली सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहेका छन् । उनले प्रतियोगितामा खेलेका १० खेलमा ३ शतक र ५ अर्धशतकसहित ७११ रन जोडेका छन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने लगभग पक्का छ ।

उनलाई पछ्याइरहेका भारतकै रोहित शर्माको ५५० र अस्ट्रेलियाका डेभिड वार्नरको ५२८ रन छ । ५९४ रन बनाएका दक्षिण अफ्रिकाका क्विन्टन डी कक, ५७८ रन भएका न्युजिल्यान्डका रचिन रवीन्द्र र ५५२ रन भएका न्युजिल्यान्डकै ड्यारिल मिचेल विराटलाई पार गर्ने दौडबाट बाहिरिसकेका छन् । उनीहरुको टोली सेमिफाइनलबाटै बाहिरिए ।

जारी प्रतियोगितामा भारतका श्रेयस अयरले २ शतक र ३ अर्धशतकसहित ५२६, अस्ट्रेलियाका मिचेल मार्सले २ शतक र एक अर्धशतकसहित ४२६ र ग्लेन म्याक्सवेलले २ शतकसहित ३९८ रन जोडेका छन् ।

बलिङतर्फ भारतका सामीलाई अस्ट्रेलियाका एडम जाम्पा २२ विकेटसहित पछ्याइरहेका छन् । भारतका जसप्रित बुमराहले १८, रवीन्द्र जडेजाले १६ तथा अस्ट्रेलियाका जोस हेजलउडले १४ विकेट लिएका छन् ।

न्युजिल्यान्डविरुद्धको प्रदर्शनपछि श्रेयर अयर विश्वकपको नकआउट चरणमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यान बने । उनले त्यस खेलमा ६७ बलमा शतक पूरा गरेका थिए ।

यस्तै कप्तान रोहित शर्मा विश्वकपमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान बनेका छन् । उनले क्रिस गेलको नाममा रहेको कीर्तिमान तोड्दै छक्काको संख्या ५१ पुर्‍याएका छन् ।

विश्वकपमा भारत १२ वर्षपछि फाइनल पुगेको हो र तेस्रोपटक उपाधि जित्ने प्रयासमा छ । सन् १९८३ मा पहिलो पटक विश्वकप जितेको भारत त्यसयता सन् २०११ मा मात्र विश्व विजेता बनेको थियो । सन् २००३ को विश्वकपमा फाइनल पुगेको भारत अस्ट्रेलियासँग पराजित भएको थियो ।

५ पटकको विजेता अस्ट्रेलिया भने आठौं पटक फाइनल खेल्दैछ । सन् १९७५ मा आयोजित पहिलो संस्करणमा फाइनलमा पराजित भएको अस्ट्रेलिया त्यसपछि सन् १९९६ को संस्करणमा पनि फाइनलसम्म पुगेर श्रीलंकासँग निराश भएको थियो ।

त्यसपछि लगातार तीन संस्करण जितेको अस्ट्रेलिया सन् २०१५ यता यसै वर्ष पहिलो पटक फाइनल खेल्दैछ । एसियाली भूमिमा यसअघि आयोजना भएका विश्वकपका तीन संस्करणमा अस्ट्रेलिया एकपटक विजेता र एकपटक उपविजेता भएको थियो भने सन् २०११ को संस्करणमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । मुम्बईमा भएको त्यस संस्करणको फाइनलमा श्रीलंकालाई हराएर भारत अन्तिम पटक विश्व विजेता बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर