हत्या मुद्दामा थुनामा रहेका मधेशका निलम्बित सांसद सिंह धरौटीमा रिहा – Nepal Press

हत्या मुद्दामा थुनामा रहेका मधेशका निलम्बित सांसद सिंह धरौटीमा रिहा

जनकपुरधाम । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी धरौटी बुझाएर छुटेका हुन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले आज जिल्ला अदालत सप्तरीले गत भदौं १९ मा सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने दिएको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको बुझिएको छ ।

१६ वर्ष अगाडि माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको भन्दै सिंह सहितका केही व्यक्तिमाथि मुद्दा दर्ता भएको थियो ।

लामो समय मुलतवीमा रहेको उक्त मुद्दामा सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले गत भदौ १९ गते सिंहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

मुद्दा चलेकै अबस्थामा सिंह सप्तरी क्षेत्र ४ (२) बाट स्वतन्त्रबाट चुनाव जिते । पछि उनी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरे । तर पक्राउ परेपछि उनी निलम्बित छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर