‘भूकम्पपीडितलाई राहत बाँड्न सरकारले ढिलो गर्‍यो, हाम्रो पार्टीको आपत्ति छ’ (भिडिओ) – Nepal Press

‘भूकम्पपीडितलाई राहत बाँड्न सरकारले ढिलो गर्‍यो, हाम्रो पार्टीको आपत्ति छ’ (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरूले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भनेपनि राहत वितरणमा ढिलासुस्ती भइरहेको बताए । महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खान नपाएको भन्दै त्यसतर्फ उनले ध्यानाकर्षण गराए । खनालले सुत्केरीले त्रिपालसम्म नपाएको गुनसो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्ने औंल्याएका छन् ।

नेता खनालले भने, ‘यो भूकम्पले सिंगो देशलाई पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ । एक हप्ता पुग्न लागेको छ । सरकारले जुन एकद्वारा प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ । तर, आजसम्म पनि सामान्यभन्दा सामान्य सुत्केरीले पनि पालसम्म पाएका छैनन् । यो यदी सत्य हो भने दर्दनाक कुरा हो, दुःखद् कुरा हो । सरकार किन ढिला भइरहेको छ ? यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ । यो अत्यन्त आपत्तिजनक कुरा छ । हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति जनाउन चाहन्छु । अविलम्व ती पीडित जनतालाई राहत पुर्‍याउन आग्रह गर्दछु । ढिला नहोस् भनेर चेतावनी दिन चाहन्छु ।’

नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा उनको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर