महाेत्तरीमा एकै गाउँका पाँच किशोरी बेपत्ता, प्रहरी भन्छ- नजिक नजिक पुगेका छौँ – Nepal Press

महाेत्तरीमा एकै गाउँका पाँच किशोरी बेपत्ता, प्रहरी भन्छ- नजिक नजिक पुगेका छौँ

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-२ मा दलित समुदायका पाँच किशोरी बेपत्ता भएपछि गाउँमा हलचल मच्चिएको छ ।

प्रहरीका अनुसार १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका हुन् ।

मंगलवार एकसाथ सम्पर्क विहीन बनेपछि उनीहरूको परिवार खोजतलास गरिदिन हुलियासहित प्रहरीमा निवेदन दिएका छन् ।

महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले पाँच किशोरी बेपत्ता भएकी जानकारी पाए लगत्तै खोजतलास जारी राखेको बताए ।

उनले भने, ‘बेपत्ता भनिएका किशोरीहरू कोही मंगलबार बिहान १० बजे त कोही ११ बजे निस्केकी छन् । साँझ ५ बजेसम्म घर नफर्केपछि उनीहरूको अभिभावकहरू खोज्न थाले । तर नभेटेपछि हामीलाई जानकारी गरायो ।’

‘बेपत्ता मध्येकी एक किशोरी आमालाई फोन गरेर आफू सुरक्षित रहेको भन्दै फोन गरेकी थिइन्,’ एसपी मल्लले भने, ‘ अहिले उनको फोन अफ छ । हामी लोकेशन ट्रेस गरेर खोज्दैछौं । नजिक नजिक पुगिसकेका छौँ । सकभर आजै बेलुकासम्म ल्याउँछौँ ।’

एक वर्ष अगाडी महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरमबाट पनि सात किशोरी बेपत्ता भएकी थिइन् । गीत सिक्न भन्दै भारत पुगेकी उनीहरुलाई प्रहरीले उद्धार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *