सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार – Nepal Press

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार

कञ्चनपुर । सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

कञ्चनपुरको झलारी स्वास्थ्य चौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ ।

सुत्केरी भएकालाई जनही रु एक हजार पाँच सय बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिए ।

उनका अनुसार पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षित रुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिएको हुनुपर्ने छ ।

‘सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार ल्याउन पोषणयुक्त आहार वितरण गर्दै आएका छौँ’, प्रमुख ढुङ्गालले भने, ‘स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी भएकालाई तीन वर्षदेखि निरन्तर रुपमा पोषणयुक्त आहार वितरणको कार्य हुँदै आएको छ ।’

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पोषणयुक्त आहारको प्रयोग गर्नुपर्दछ भन्ने जानकारी दिइने गरिएकाले नगरपालिकामा कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।

स्वास्थ्य चौकीले वितरण गर्दै आएको पोषणयुक्त आहारले आर्थिक रुपमा विपन्न परिवारका सुत्केरीको पोषणमा सुधार ल्याउन सघाउ पुर्‍याएको उनको भनाइ छ । तीन वर्षको अवधिमा स्वास्थ्य चौकीबाट एक सय ६० सुत्केरीलाई पोषणयुक्त आहार वितरण गरिएको छ । गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार खानका लागि प्रेरित गर्ने गरिएको छ ।

सुत्केरीलाई घ्यू, अण्डासँगै दुसा उमारेको गेँडागुडी, च्याउ, दुग्धजन्य पदार्थ, माछा मासु, हरियो सागपात, फलफूल, मसलाको प्रयोग गर्नका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर सल्लाह सुझाव दिँदै आएका छन् ।

साँझ बिहानको खानाको जोहो मिलाउन नसक्ने विपन्न समुदायका सुत्केरीले पौष्टिक आहारको व्यवस्था गर्न नसक्ने अवस्था हुने भएकाले स्वास्थ्य चौकीबाटै पौष्टिक आहारका रूपमा घ्यू र अण्डा उपलब्ध गराउने व्यवस्था गरिएको नगर उपप्रमुख कल्पना पन्तले बताए । यसले सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार भई कुपोषणको समस्या हटेर जाने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर