८ महिनाअघि रहस्यमय मृत्यु भएका होटल व्यवसायीको परिवारले न्याय नपाएको गुनासो – Nepal Press

८ महिनाअघि रहस्यमय मृत्यु भएका होटल व्यवसायीको परिवारले न्याय नपाएको गुनासो

रुपन्देही । बुटवलमा सानो होटल व्यवसाय गर्दै आएका गुल्मीका रामबहादुर रानाको आठ महिनाअघि होटल बन्द गरेर डेरामा जाने बेलामा रहस्यमय मृत्यु भयो । राती ९ बजेसम्म होटल चलाएर केही रकम लिएर दीपनगर घर जाँदै गर्दा बाटोमा उनको मृत्यु भएको थियो ।

गोजीमा भएको मोबाइल साथै रहे पनि रकम भने केही भेटिएन । शंकास्पद रूपले मृत अवस्थामा फेला परेका रानाको हत्या गरेर खोलामा फालिएको भन्दै उनको परिवारले हारगुहार गरे पनि अहिलेसम्म केही पत्तो लाग्न सकेको छैन ।

फागुन २४ गते राती बुटवल ६ चाँदबारीस्थित खोलामा रामबहादुरको शंकास्पद रूपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पीडित परिवारले गुनासो गरेका हुन् ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी रामबहादुरको बुटवल ६ पुरानो बुटवल चलचित्र हलको पछाडि रहेको होटल बन्द गरेर चाँदबारी हुँदै दीपनगरमा रहेका डेरातर्फ जाने क्रममा हत्या भएको परिवारको भनाइ छ ।

आफ्नो श्रीमानको शंकास्पद रूपमा मृत फेला परेको भए पनि प्रहरीले घटनालाई गम्भीर रूपमा नलिएको भन्दै श्रीमती अम्बी रानाले गुनासो गरेकी छन् । मृतक रामबहादुरकी श्रीमती रानाले पत्रकारहरूसँग कुरा गर्दै घटना घटेको आठ महिना बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताएकी छन् ।

पीडित परिवारका अनुसार गुल्मीको मुसिकोट घर भई विगत ६ वर्षदेखि होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ वर्षीय रामबहादुर राना गत फागुन २४ गते बुटवलको चाँदबारीमा मृत अवस्थामा फेला परेका थिए । रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगएपछि अर्को दिन बिहानै खोजतलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए ।

मृतकको टाउकाको पछाडिको भागमा गम्भीर चोट लागेको र सिसिटिभी फुटेजमा एक व्यक्तिले कठालोमा समातेर लगेको देखिएकोले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ ।

एक छोरा र पाँच छोरीका बाबु रामबहादुरको शंकास्पद निधनले परिवारमा ठूलो विपत्ति परेको छ । मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्तासमेत नगरेको भन्दै आपत्ति जनाएकी छन् ।

उनी भन्छिन्, ‘सिसिटिभी फुटेजमा एउटा मान्छेले कठालो समातेर तानेर लाँदै गरेको दृश्य प्रष्ट छ । लडेर वा डुबेर मर्नेखालको खोला पनि छैन, घटनाको प्रकृति हेर्दा हत्या गरी फालेकोजस्तो देखिन्छ । घटनास्थल नजिकै करिब १ सय मिटर तल प्रहरी बिट छ ।’

रानाले थपिन्, ‘हत्या हुने क्रममा हारगुहार हल्लाखल्ला केही भएको हुनुपर्ने हो, स्थानीयले थाहा पाउनुपर्ने हो, प्रहरीले पनि थाहा पाउनुपर्ने हो, अनुसन्धानका लागि केही आधार र प्रमाणहरू हुँदाहुँदै पनि घटनाको रहस्य पत्ता नलाग्नु र प्रहरीले तदारुकता नदेखाउनुमा के रहस्य छ हामीले बुझ्न सकेका छैनौं, अव त हामीले न्याय पाउँदैनौ कि जस्तो लाग्न थालेको छ ।’

आफूहरू गरिब र असहाय भएका कारण बोलिदिने मान्छे कोही नभएका कारण अन्यायमा परेको उनको गुनासो छ ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी खगेन्द्र पौडेलले व्यवसायीमाथि अन्याय, अपराध र आक्रमण हुँदा राज्यपक्ष गम्भीर नहुनु दुःखद कुरा भएको बताए । यथाशीघ्र अनुसन्धानलाई तीव्र पार्न प्रहरीलाई आग्रह गर्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्न पनि सरकारसँग उनले आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डिएसपी दानबहादुर थापाले भने घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । प्रहरीले आफ्नो तर्फबाट गर्ने अनुसन्धानको काम गरिरहेको र निष्कर्षमा नपुगेसम्म सबै कुरा थाहा नहुने उनले बताए ।

अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने दाबी गर्दै शंकास्पद मान्छेहरूलाई सोधपुछ गरिसकेको पनि बताएपनि परिणाम नआउँदासम्म सबै कुरा भन्न नसकिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर