कर्णाली एमाले भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित हुने – Nepal Press

कर्णाली एमाले भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित हुने

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित हुने निर्णय गरेको छ ।

कर्णाली प्रदेश पदाधिकारी बैठकले बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु भएर गएको भूकम्पले बढी क्षति पुर्‍याएका बस्तीहरूमा राहत र उद्धारका काममा खटिने गरी प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीका बैठकहरूको आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कार्तिक २३ गते र रुकुम पश्चिमको आठबिसकोटमा कार्तिक २५ गते पार्टीका बैठक बस्ने निर्णय गरेको छ ।

प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बसेको पदाधिकारी बैठकले भूकम्पपीडितलाई राहत, उद्धार र पुनः स्थापनाका कामलाई प्रभावकारी बनाउन पालिका स्तरमा बैठक गर्ने निर्णय गरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।

‘आउँदो कात्तिक २३ गते जाजरकोट र २५ गते बिहान रुकुम पश्चिमको आठबीसकोटमा पार्टीका बैठक बस्ने छन्’ अध्यक्ष शाहले भने, ‘भूकम्प प्रभावित क्षेत्रका पीडित नागरिकलाई उद्धार र राहतका काममा पार्टी पङ्क्तिलाई परिचालन गर्ने उद्देश्यले बैठकमा सम्बन्धित भूगोलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी र सम्बन्धित पालिका कमिटी अध्यक्षको सहभागितालाई अनिवार्य गरिएको छ ।’

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममै पुगेर राहत वितरण, पुनः स्थापनाका कामलाई सहयोग गर्ने उद्देश्यले एमालेले प्रभावित क्षेत्रमै बैठकको तयारी गरेको उल्लेख गर्नु भएका अध्यक्ष शाहले बैठकमा सहभागी हुने सबै पार्टी नेताहरूलाई भूकम्प प्रभावित बस्तीमा राहत वितरण, उद्धार र पुनः स्थापनाका कार्यमा जोड्ने उद्देश्य राखिएको छ ।

‘पदाधिकारी बैठकले विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका प्रति एमाले कर्णालीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गर्नुका साथै प्रभावित क्षेत्रका नागरिकलाई उद्धार राहतको काम प्रभावकारी बनाउन, भूकम्पले क्षति भएका संरचनाको पुनः निर्माणका लागि तीनै तहका सरकारी अविलम्ब सुरुवात गर्न आग्रह गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ’, अध्यक्ष शाहले भने ।

बैठकमा एमाले कर्णालीका उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही, उपसचिवद्धय रविन्द्रराज शर्मा र रमेशकुमार शाहीको सहभागिता रहेको एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ ।

शुक्रवार मध्यराती ११ः४८ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरी १५३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, २५६ जना घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार र राहत कामका लागि एमाले केन्द्रीय सदस्य निरज आचार्य, डम्बरबहादुर सिंहको नेतृत्वमा एमालेको टोली जाजरकोटका विभिन्न क्षेत्रमा परिचालित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर