बुटवलमा मेयर-कार्यकारी अधिकृत विवाद : कार्यपालिका बैठक छाडेर काठमाडौं लागे कार्यकारी – Nepal Press

बुटवलमा मेयर-कार्यकारी अधिकृत विवाद : कार्यपालिका बैठक छाडेर काठमाडौं लागे कार्यकारी

रुपन्देही । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीच विवाद भएपछि बुधवार हुने कार्यपालिका बैठक प्रभावित भएको छ ।

मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु भुसाल मङ्गलवार नै काठमाडौं लागेका छन् । मेयरको दबाबमा परेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ ।

मेयर पाण्डेयकै जोडबलमा भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । यति छोटो समयमै उनले बुटवल छाड्ने निर्णयले पनि उनीहरू बीच विवाद रहेको अनुमान गर्न सकिन्छ ।

मेयर पाण्डेले आफू निकटका व्यक्तिहरूलाई कानून विपरीत नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरूमा हस्ताक्षर दिन दबाब सिर्जना गरेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतले जनाएको छ ।

बुटवल उपमहानगरको कार्तिक २२ गते बुधवार कार्यपालिका बैठक आयोजना गरिएकोमा अघिल्लो दिन मङ्गलवार नै भुसाल काठमाडौं गएपछि त्यो बैठक समेत अनिश्चित भएको हो । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा उनीहरू बीच विवाद उत्पन्न भएको थियो ।

स्रोतका अनुसार मङ्गलवार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर भित्रभित्रै मिलाउने गरी आफ्ना कार्यकर्तालाई वितरण गर्ने दबाब दिएका थिए । उक्त प्रस्तावमा असहमति जनाउँदै भुसालले नियमानुसार प्रस्ताव बैठकमा लैजानु पर्ने अडान राखेका थिए ।

स्रोतका अनुसार उक्त अडानपछि मेयर पाण्डेले प्रमुख प्रशासकीय भुसाललाई ‘तपाईँले मलाई असहयोग गर्ने, त्यसो भए तपाईँ भर्खरै जानुस्’ भनेर भनेका थिए ।

मेयरको उक्त ठाडो आदेशसँगै भुसालले आफू एक मिनेट पनि नबस्ने भनी भुसाल कार्यालयबाट निस्किएका थिए । यो विषयमा विवाद हुँदा उपमेयर सावित्रा अर्याल भने बुटवलमा थिइनन् ।

‘म दिनभर कपिलवस्तुमा थिएँ, ६ बजेतिर भोलिको कार्यपालिकाका विषयमा छलफल गर्न कार्यालय जाँदा कार्यकारी काठमाडौं गएको सुने, मैले तत्काल कार्यकारीलाई फोन गरेँ किन जानुभयो भनेर, उहाँले केही काम छ म काठमाडौं लागे भन्नुभयो, मेयर सापलाई पनि सोधेँ, उहाँ पनि धेरै विषय केही बोल्नुभएन, भोलिको कार्यपालिका बैठकमा कार्यकारी नै नभए पनि हुँदैन भन्ने मेरो कुरा हो, यो विषयमा भोलि बिहान मेयर सापसँग बसेर छलफल गर्छौ, विवादको अन्य विषयमा मलाई जानकारी भएन’ उनले भनिन् ।

यता प्रमुख प्रशासकीय भुसालले भने मेयर पाण्डेयसँगको सहमतिमै बुटवलबाट फिर्ता जाने निर्णय गरेको बताए ।

‘सबै मान्छे सबै ठाउँमा फिट नहुन सक्छन्, त्यसैले पनि हामी सहमतिमै त्यो निर्णयमा पुगेका हौँ,’ भुसालले भने ‘विवाद नै भएको भन्न मिल्दैन, यसलाई सामान्य रूपमा नै लिँदा हुन्छ ।’

सबैको काम गर्ने तरिका फरक हुने बताउँदै उनले यसलाई ठूलो रूप नदिन आग्रह गरे ।

यो विषयमा मेयर पाण्डेयले प्रष्ट कुरा गर्न चाहेनन् । ‘खै मलाई केही जानकारी छैन, को सँग के विवाद भएको, कसले छाडेको भन्ने विषय, जहाँबाट सूचना पाउनुभयो उतैबाट बुझ्दा ठिकै होला’, पाण्डेयले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर