बढ्दो राजनीतिक चुनौतीबारे सबै दलको संयुक्त अपील आउँदैछ : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

बढ्दो राजनीतिक चुनौतीबारे सबै दलको संयुक्त अपील आउँदैछ : प्रधानमन्त्री प्रचण्ड

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय देशमा बढ्दै राजनीतिक चुनौतीको समाधान गर्न सबै प्रमुख पार्टीको संयुक्त अपील आउने बताएका छन् ।

बिहीबार बुटवल आम्दा अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले अहिले देखिएको राजनीतिक चुनौतीका विषयमा सबै दलको सामुहिक चासो रहेको प्रष्ट पारे ।

‘बढ्दै गएको राजनीतिक चुनौतीका बारेमा अहिलेको व्यवस्थामा रहेका सबै दलबीच गम्भीर छलफल भएको छ, संविधानमाथि, गणतन्त्रमाथि प्रश्न उठाउने हक छैन, एक दुईदिन भित्रमा सबै दलको संयुक्त अपील गर्ने तयारी छौं’, दाहालले भने ।

उनले यो विषयमा सामुहिक र अलग अलगरुपमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र अहिलेको व्यवस्था मान्ने सबै दलका प्रमुख व्यक्तिसँग छलफल भएको जनाए । त्यसप्रकारको चुनौती कसले कसरी गर्यो भन्ने बारे नखुलाउँदै उनले यस्तो चुनौतीको चलखेल अहिलेको व्यवस्थामाथिकै प्रहार भएकाले सामुहिक प्रतिवाद गर्ने जनाए ।

प्रधानमन्त्री दाहालले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्ययोजना ल्याउने तयारी गरेको भन्दै विभिन्न व्यवसायीलाई आश्वासन दिए ।

आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मूख भएको दाबी गर्दै उनले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गरे । उनले भने, ‘आर्थिक क्षेत्रमा सरोकार राख्ने सबै पक्षसँग विशेष कुराकानी भएको छ, केही दिनमा नयाँ सन्देश आउनेगरी तयारी गरेका छौं ।’

दाहालले सरकारको लगातारको प्रयासले बैंकको ब्यादरसमेत बिस्तारै घटिरहेको उल्लेख गरे । बैंकको ब्याजदरलाई सकेसम्म सिंगल डिजिट नभएर १० प्रतिशतभन्दा कम नै राख्ने गरी प्रयास जारी रहेको उल्लेख गरे । यसैगरी मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै निराशा नहुन आग्रह गरे । मुलुकमा रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको उल्लेख गरे । यसैगरी पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको, राजश्व वृद्धिको ट्रेन्ड देखापर्दै गएको उल्लेख गरे ।

‘सरकारको निकै मेहनतका साय यसमा केही सहजता आउँदैछ, घरजग्गामा पनि सुधार आएको छ, यसमा राजनीतिक समझदारी गरेर नयाँ सन्देश दिनेछौं, यसमा म लागेको छु प्रतिफल आउन केही समय लाग्न सक्छ, तिहारपछि आर्थिक समृद्धिका दीर्घकालीन योजनाहरु ल्याउनेगरी लागेका छौं, भारत, चीन सरकारसँग केही समझदारी भएका छन्, संयुक्त राष्ट्रसंघबाट पनि राम्रो सन्देश पाइएको छ’, प्रधानमन्त्री दाहालले भने ।

लुम्बिनी र रुपन्देही क्षेत्रमा रहेको सुकुम्बासी समस्या समाधान गर्न प्रतिवद्ध रहेको जनाउँदै नयाँ राजश्व घटाउन पहल गर्ने उनले जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर